''नयाँ साझेदारको आवश्यकता महसूस गरेका छैनौँ'' - कुमार लम्साल
प्रमुख कार्यकारी अधिकृत
सानिमा विकास बैङ्क लिमिटेड
विगत दुई दशकदेखि बैङ्किङ क्षेत्रमा कार्यरत कुमार लम्सालले तत्कालीन ग्रिण्डलेज (हालको स्टयार्ण्र्डड चार्टर्ड बैङ्क) तथा बैङ्क अफ काठमाण्डूमा समेत काम गरिसकेका छन् । सानिमा विकास बैङ्कको स्थापनाकाल सन् २००४ देखि नै संलग्न लम्साल हाल उक्त बैङ्कका प्रमुख कार्यकारी अधिकृत छन् । यो बैङ्क अब छिट्टै वाणिज्य बैङ्कमा स्तरोन्नति गर्दै छ । लम्सालसँग सानिमाको स्तरोन्नति तथा नेपालको समग्र बैङ्किङ क्षेत्रका बारेमा अभियान दैनिकले गरेको कुराकानीको सारः
सानिमाको लगानी, निक्षेप र कर्जा असुलीको स्थिति कस्तो छ ?
पूँजी परिचालनको गुणस्तरको दृष्टिले नेपालका उत्कृष्ट बैङ्कमध्ये सानिमा एक नम्बरमै पर्छ । यो हामीले भनेको होइन । स्वतन्त्र एजेन्सीहरूको अध्ययनले सार्वजनिक गरेको तथ्य हो । हाल सानिमाका निक्षेपकर्ता ३० हजार नाघिसकेका छन् । खराब कर्जा शून्य दशमलव ०७ प्रतिशतमात्र छ । यो अन्यन्तै न्यून हो । उपलब्ध भएसम्मका आधुनिक प्रविधिमार्फत सानिमाले ग्राहकहरूलाई सेवा दिइरहेको छ । समग्रमा बैङ्कको लगानी, निक्षेप र असूली अवस्था अत्यन्त सन्तोषजनक छ ।
बैङ्क खुल्ने क्रम बढेरै गएको छ, सामूहिक लगानीको सम्भावना कत्तिको छ ?
सामूहिक लगानीको बजार पक्कै पनि राम्रो छ । सबै व्यक्तिले एक्लै जोखिम उठाएर, आफैँले मात्र लगानी गर्छन् भन्ने नहुन पनि सक्छ । सुरक्षित लगानी तथा असूलीका लागि पनि सामूहिक कोष निर्माण गरेर काम गरौं भन्ने मानिसहरूको जमात पनि विस्तारै बढ्दै गएको देखिँदै छ ।
बैङ्किङ क्षेत्रका चुनौती र समस्यालाई कसरी लिनुभएको छ ?
राजनीतिक अस्थिरताले मुलुकको समग्र क्षेत्रलाई प्रभावित पारेको छ । जसका कारण केही अप्ठेरो स्थिति सृजना भएको छ । अहिले केही समस्या छन्, बिग्रिहालेको, भत्किइसकेको भन्ने चाहिँ पक्कै छैन ।बैङ्कहरू आफैंले आन्तरिक अवस्थाको सुधार गर्नुपर्ने देखिन्छ । बैङ्कहरूले कस्तो किसिमको जोखिम लिने, कस्तो किसिमको नलिने भन्ने कुरामा विचार गर्नैपर्ने अवस्था छ । यही चुनौती सबै बैङ्कमाझ छ भन्ने मेरो बुझाइ छ । बैङ्कको नाफा एकातिर छ, जोखिम अर्को तिर । बढी जोखिम लियो भने बढी नाफा हुन सक्छ । तर, त्यो जोखिम ह्वात्तै बढेको खण्डमा तुरुन्तै नोक्सानमा पनि जान सक्छ । त्यसको अन्तिम सीमा कुन हो भन्ने राम्ररी बुझेर मात्र काम गर्ने चुनौती नेपालका सबै बैङ्कलाई छ । अघिल्लो वर्षकै घटना सम्झने हो भने पनि बैङ्कहरू सचेत नभएको स्पष्ट हुन्छ । घरजग्गा कर्जाको अनियन्त्रित प्रवाहबाट उत्पन्न सङ्कटबाट अब चाहिँ केही पाठ सिक्नुपर्छ भन्ने मलाई लाग्छ । अनुत्पादक मानिएको घरजग्गामा अनियन्त्रित रूपमा लगानी जानु हुँदैनथ्यो । बैङ्कहरू तीव्र गतिमा खुलिरहेका छन् । त्यसबाट उत्पन्न प्रतिस्पर्धाका कारण पनि विभिन्न समस्या आउन सक्छन् ।
अस्वस्थ्य प्रतिस्पर्धाले समेत स्थान पाउने सम्भावना हुन्छ । अस्वस्थ प्रतिस्पर्धा हुनेबित्तिकै गुणस्तरमा सम्झौता हुन थाल्छ । त्यसबखत एउटा राम्रो सम्भावना बोकेको (ऋण) योजनालाई अर्कैले उपयोग गरिदिन्छ भन्ने डरले अलि कम र खुकुलो शर्तमा स्वीकार गर्ने प्रवृत्ति बढेर जान्छ । त्यस्तो ऋण प्रवाहले बैङ्कको जोखिम कैयौं गुणा बढाइदिन्छ । प्रतिस्पर्धाको यस प्रवृत्तिलाई कसरी सन्तुलित ढङ्गबाट अगाडि बढाउने भन्ने समस्या बैङ्कहरूमा सधैं कायम छ । प्रतिस्पर्धाबाटै उत्पन्न हुने अर्को समस्या भनेको दक्ष जनशक्तिको अभाव पनि हो । बैङ्क खुल्ने लहरसँगै अहिले दक्ष जनशक्तिको आपूर्तिमा पनि समस्या उत्पन्न भएको छ ।
सानिमाको लगानी क्षेत्र र प्राथमिकता चाहिँ के हो ?
कुनै एउटा क्षेत्रलाई प्राथमिकतामा राखेर त्यसैमा मात्र लगानी गर्दा जोखिमपूर्ण हुन सक्छ । त्यो क्षेत्र बिग्रियो भने ठूलो समस्या उत्पन्न हुन्छ । त्यसैले हरेक क्षेत्रमा बाँडेरै लगानी गर्नुपर्छ भन्ने हाम्रो नीति छ । पर्यटन, मेटल इण्डष्ट्रिज, सीमेण्ट, कलेज, अस्पताल, जलविद्युत्लगायतका क्षेत्रमा लगानी गर्ने हाम्रो योजना छ । यद्यपि, हामीसगँ भएको विशेष ज्ञानका कारण जलविद्युत्मा अलि बढी झुकाव र चासो छ, त्यसैमा बढी काम गर्न खोजिरहेका छौँ ।
जलविद्युत् क्षेत्रमा सानिमाको लगानी विशेषज्ञताका आधारमा मात्रै हो ?
होइन, अहिले नेपालमा लगानीको अवसर कुनकुन क्षेत्रमा छ भन्ने महत्वपूर्ण कुरा हो । नेपालमा दीर्घकालीन लगानीका निम्ति राम्रो र सुरक्षित क्षेत्र भनेको जलविद्युत् पनि हो । यस क्षेत्रमा लगानी गर्न सकिने सम्भावना र अवसर पनि धेरै छन् । प्रतिस्पर्धामा चल्नुपरेपछि अवसरमा पनि प्रतिस्पर्धा हुन्छ नै । जलविद्युत् प्रचुर सम्भावना भएको क्षेत्र हो । त्यसैमा हाम्रो विशेषज्ञता र ज्ञान पनि भएको अवस्थामा हामी किन अगाडि नबढ्ने भन्ने हाम्रो सोच हो । र, त्यही सोचअनुरूप हाम्रो लगानी पनि भएको छ ।
जलस्रोतमा सानिमाको लगानी कति छ ?
तुलनात्मक रूपमा सानिमा सानो बैङ्क हो । जलविद्युत् आयोजनाका लागि ठूलो धनराशिको आवश्यकता पर्छ । यद्यपि, अहिलेसम्म हामीले जलविद्युत्का पाँचवटा आयोजना सञ्चालन गरिसकेका छौँ । दोलखामा सवा अर्ब रुपैयाँको लागतमा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत् आयोजना र सिन्धुपाल्चोकमा रू. ४५ करोडको लागतमा ३ मेगावाटको भैरवकुण्ड जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । सिन्धुपाल्चोकमा १ मेगावाटको हाँडीखोला आयोजना, फिदिममा १ मेगावाटकै फेमे खोला आयोजना, ५ सय किलोवाटको रैराङ आयोजना र ३ सय किलोवाटको शालीनदी आयोजना सम्पन्न भइसकेका छन् । सिप्रिङ खोला, भैरवकुण्ड, हाँडीखोला र फेमे खोला आयोजनामा सानिमाको नेतृत्वमा अन्य वाणिज्य बैङ्कहरूको पनि लगानी छ । रैराङ र शालीनदीमा भने सानिमा एक्लैको लगानी हो । सङ्ख्याको दृष्टिले हेर्ने हो भने कुनै पनि बैङ्कसँग यति धेरै सङ्ख्यामा जलविद्युत् आयोजनामा लगानी सम्भवतः भएको छैन । नबिल बैङ्क, बैङ्क अफ काठमाण्डू, इन्भेष्टमेण्ट, एनएमबी, बैङ्क अफ एशियालगायतका वाणिज्य बैङ्कले हाम्रो नेतृत्वमा सञ्चालित जलविद्युत् आयोजनामा लगानी गरेका छन् । एउटा विकास बैङ्कको हैसियतले यति धेरै आयोजनामा यतिका वाणिज्य बैङ्कहरूलाई साझेदार बनाएर अघि बढ्नु महत्वपूर्ण कुरा हो । वाणिज्य बैङ्कहरूले हामीप्रति दर्शाएको अपार विश्वासको परिणामले नै यो सम्भव भएको हो ।
बैङ्कका नयाँ योजनाहरू केके छन् ?
सानै भए पनि जलविद्युत्का चारवटा आयोजना पूरा भइसकेका छन् । दुईवटा बनिरहेका छन् । जलविद्युत् आयोजनामा सम्भव भएसम्म लगानी साझेदारी (इक्विटी) मा अघि बढ्ने सोच बनाएका छौं । जलविद्युत्जस्तो ठूलो लगानीका साथै सानो लगानीतर्फपनि केही ध्यान दिने हो कि भन्ने छलफल चलिरहेको छ ।
स्तरोन्नति गर्न थप पूँजीका निम्ति नयाँ साझेदारको खोजी पनि छ कि ?
छैन, अहिल्यै हामीले नयाँ साझेदारको आवश्यकता महसूस गरेका छैनौं । अहिले सानिमाको चुक्ता पूँजी रू. ८० करोड छ । रू. १ अर्ब २० करोडको हकप्रद शेयर निकालेका छौँ । सानिमा गैर आवासीय नेपाली (एनआरएन) त्यसमा पनि खास गरी रूसमा रहेका नेपालीद्वारा प्रवर्द्धित बैङ्क भएकाले अन्य देशमा रहेका एनआरएनलाई पनि संलग्न गराउनुपर्छ भन्ने सोचले गत वर्ष हामीले झण्डै ३ करोडको शेयर वितरण गरेका हौँ । जापान, बेलायत, अमेरिकालगायतका देशमा बसोवास गरिरहेका केही नेपालीहरूलाई सानिमामा संलग्न गराएका छौँ । पूँजी नै सङ्कलन गर्न भनेर नयाँ साझेदार संलग्न गराएका होइनौँ ।
वित्तीय सहकारीका कारण बैङ्कमा निक्षेप कम हुन थाल्यो भन्ने गुनासो छ, यसलाई कसरी लिनुहुन्छ ?
स्वतन्त्र बजार छ । वित्तीय सहकारीहरूले आफ्नो सेवा दिएर ग्राहकलाई खुशी पारी निक्षेप लिन्छन् भने बैङ्कले आपत्ति मान्नुहुन्न । बैङ्कहरूले पनि आफ्नो सेवा र सुविधामार्फ त्यो निक्षेप लिन सक्नुपर्छ । तर, सहकारीहरू कसरी चलिरहेका छन् ? नियामक निकायले कसरी हेरिरहेको छ ? त्यो भने महत्वपूर्ण कुरा हो । सहकारी संस्था पनि र्सवसाधारणको पैसा जम्मा हुने निकाय हो । जसरी बैङ्कहरूलाई केन्द्रीय बैङ्क तथा सम्बद्ध अन्य निकायबाट नियमित नियमन गरिन्छ, त्यसैगरी सहकारीको पनि नियमन हुनुपर्छ ।
सानिमाका सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम चाहिँ कस्ता छन् ?
हामीले गत वर्ष कोशीपीडितलाई सहयोग गरेका थियौं । विभिन्न समयमा स्वास्थ्यशिविरहरू सञ्चालन गर्दै आएका छौं । रक्तदान कार्यक्रम, वृद्धहरूलाई सहयोग र सम्मानको कार्यक्रम नियमित सञ्चालन भइरहेको छ । डिसेम्बर ६ मा हाम्रो वाषिर्कोत्सव पर्दछ । त्यस अवसरमा पनि हामी केही थप सामाजिक कार्य गर्नेछौं । सामाजिक उत्तरदायित्व वहन गर्ने सिलसिलामा हामी कहिल्यै पछाडि पर्ने छैनौं ।
बैङ्कको आफ्नो भौतिक संरचनाको अवस्था कस्तो छ ?
काठमाडौंको नारायणचौरमा ४० आना जमीनमा सानिमाको नयाँ भवन बनिरहेको छ । जमीनमा रू. १६ करोड र भवनमा पनि रू. १६ करोडकै लगानीमा ६ तले नयाँ भवन बन्दै छ । प्राविधिक तथा भौतिक संरचनालाई अद्यावधिक गर्दै जानेछौं ।
हाल सानिमा मुख्य रूपमा केमा केन्द्रित छ ?
हाम्रो अहिलेको ध्यान स्तरोन्नति गरेर वाणिज्य बैङ्क बनाउनेमै केन्द्रित छ । त्यसैका लागि हामी राष्ट्र बैङ्कको निर्णयको प्रतीक्षामा छौं । केन्द्रीय बैङ्कले चाँडै नै सकारात्मक जवाफ दिनेछ भन्नेमा हामी विश्वस्त छौं । स्वीकृतिपछि हामी सर्वप्रथम जलविद्युत्का क्षेत्रमा उदाहरणीय काम गर्नेछौं । देशका गरीब जनताले पनि ऋण पाउनबाट वञ्चित हुनु नपरोस्, तिनको जीवनस्तरमा सुधार होस् भन्ने चाहनाले हामी 'माइक्रोफाइनान्स' तर्फप्रेरित भएका छौं । सानिमाका प्रवर्द्धकहरूको भित्री इच्छा पनि यही छ ।
भविष्यको योजना के छ ?
हामीले जम्मा रू. १६ करोडबाट बैङ्क शुरू गरेका हौं । पूँजी बढाउनेदेखि अनेकौं सानातिना काममा हामी अलमलिनुपर्यो । तर, त्यसले पनि हामीलाई फाइदै पुर्यायो । अब हामी एउटा बलियो, सक्षम, कुशल व्यवस्थापनमा चलेको बैङ्कका रूपमा स्थापित भइसक्यौं । अबको फड्को भनेको चौतर्फी फैलिने नै हो । अब हामी गाउँगाउँमा पुग्नेछौं । चार/पाँच वर्षभित्र सानिमा एउटा राम्रो, भरपर्दो र उच्चस्तरीय बैङ्कका रूपमा नेपाली जनताले देख्न पाउनेछन् । हामी वाणिज्य बैङ्कका रूपमा आएपछि लगानी विविधता गर्नेछौं । अहिले नै पनि हामीले पर्यटनमा लगानी शुरू गरेका छौं । गोकर्ण रिसोर्ट खरीदका निम्ति भर्खरै हामीले एउटा सहायक लगानीकर्ताका रूपमा सम्झौता गरेका छौं । पोखरामा 'हेरिटेज होटेल’ का नामबाट नयाँ होटेल निर्माण गर्दै छौं । नोबेल मेडिकल कलेजमा पनि हाम्रो लगानी छ । देख्दा हामी विकास बैङ्कका रूपमा छौं, तर काम गराइ चाहिँ वाणिज्य बैङ्कभन्दा कम छैन ।