शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''विदेशी मागअनुसार कफी उत्पादन गर्न सकेका छैनौं '' - श्यामप्रसाद भण्डारी
अध्यक्ष, नेपाल कफी व्यवसायी महासङ्घ


नेपालमा व्यावसायिक कफीखेती कहिलेदेखि शुरू भयो ? 

विसं १९९५ बाट नेपालमा कफीखेतीले प्रवेश पाएको हो । त्यसपछिको केही समय शौखका रूपमा मात्र कफीखेती गरिएको पाइन्छ । तर, व्यावसायिक रूपमा भने २०४७/४८ सालबाट मात्र उत्पादन हुन थालेको हो । अहिले नेपालका करीब २२ जिल्लामा व्यावसायिक कफीखेती भइरहेको छ । नेपालका ३९ जिल्लामा व्यावसायिक कफीखेतीको सम्भावना छ ।

कफीको गुणस्तर व्यवस्थापन कसरी भइरहेको छ ?


नेपाल कफी व्यवसायी महासङ्घसँग आबद्ध जिल्लाको सङ्ख्या १४ पुगेको छ । हामीसँग १ सय ५२ ओटा जेटीएस्तरका कफी सहजकर्ता छन् । उनीहरूले कफीको बीउ जम्मा गर्ने, छहारी व्यवस्थापन गर्ने, कफी फलिसकेपछि त्यसको काँटछाट गर्ने, बोक्रा फाल्ने, गुम्स्याउँदाको तापक्रम मापन, उचाइ र मौसम हेरेर १८ घण्टादेखि २४ घण्टा फर्मल्टेशन (पल्प गरेको कफीलाई कुहाउन) गर्न सल्लाह दिने काम गर्छन् । यसपछि सफा चिसोपानीले पखाल्नु पर्छ । पखालिसकेपछि सीधै घाममा सुकाउनु हुँदैन ।

तयारी कफीलाई कति दिनसम्म स्टोरेज गर्न सकिन्छ ?


राम्रोसँग भेण्टिलेशनको व्यवस्था गरेर माटो, सिमेण्टलाई नछोइकन राखेमा पार्चमेण्ट (कफीलाई फर्मल्टेशन गरेर, धोएर सुकाइसकेपछिको अवस्थाको कफी)लाई १ वर्षसम्म स्टोरेज गर्न सकिन्छ । ग्रीनविन (पार्चमेण्टपछि कफीको बोक्रा फालेर तयार गरिने कफी) लाई ३ महीनासम्म स्टोरेज गर्न सकिन्छ । सबैभन्दा पहिले स्टोरेजको राम्रो व्यवस्था हुनुपर्छ । ग्रीनविनका लागि स्टोरेजको समस्या आउन सक्छ । तर, पार्चमेण्ट कफीमा स्टोरेजको समस्या हुँदैन ।

महासङ्घले अहिलेसम्म गरेको उल्लेखनीय कार्य के हो ?


हामीले यस वर्ष हरेक जिल्लामा हार्भेष्टिङ (छाँटकाँट)को समयमा गुणस्तर व्यवस्थापनका लागि अनुगमन कार्य सम्पन्न गरेका छौं । 'नेपाल कफी’ अन्तरराष्ट्रिय बजारमा निर्यात गर्दा महासङ्घको अनुगमन र सिफारिशमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले लोगो प्रदान गर्ने निर्णय गरेको छ ।

ट्रेडमार्क दर्तापछि 'नेपाल कफी’ निर्यातको जिम्मा कसलाई दिने तयारी गर्नुभएको छ ?


योग्यता पुगेका कुनै पनि उद्योगीले 'नेपाल कफी’ निर्यात गर्न सक्छन् । विगतमा ट्रेडमार्कको आवश्यकता थिएन । अहिले कुनै पनि कम्पनीले ट्रेडमार्क लिन धेरै मापदण्ड पूरा गरेको हुनुपर्छ । कुन समूह, उचाइ र गुणस्तरमा उत्पादन भएको कफी कुन देशमा निर्यात गर्ने हो, सोहीअनुसार ट्रेडमार्क उपलब्ध गराउँछौं । यसको अनुगमन र लोगो सिफारिश कफी व्यवसायी महासङ्घले गर्छ ।

'नेपाल कफी' ब्राण्डमा कहिलेदेखि निर्यात शुरू गर्नुहुन्छ ?


चालू आर्थिक वर्षभित्रै 'नेपाल कफी' ब्राण्डमा कफी निर्यात गर्ने तयारीमा छौं । कफी व्यवसायी महासङ्घ र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहकार्यमा निश्चित आचारसंहिता तयार गर्न लागिरहेका छौं ।

'नेपाल कफी' ब्राण्डपछि कफीको बजार विस्तार हुने सम्भावना कत्तिको छ ?


सम्भावना भएकै कारण लामो संघर्षपछि 'नेपाल कफी' ब्राण्ड दर्ता गराएका छौं । ब्राण्ड दर्ता कफीको बजारविस्तारका लागि नै हो । स्वदेशमा उत्पादन भएको कफीलाई 'नेपाल कफी’मा समावेश गराउन सकिन्छ । विदेशबाट नेपाल आउने कफी नेपाल कफीमा पर्दैन । त्यस्ता कफीले ट्रेडमार्क पनि पाउँदैनन् । ट्रेडमार्कले अन्तरराष्ट्रिय बजारमा नक्कली कफीलाई विस्थापित गर्छ भन्ने विश्वास लिएका छौं । विगतका वर्षमा नेपाली कफीभन्दा विदेशबाट आयात भएको कफीकै बाहुल्य थियो । आर्थिक वर्ष२०६५/६६ मा अघिल्लो वर्षको तुलनामा आयात आधाले कम भएको छ । नेपाली उत्पादनले विदेशी कफीको आयातलाई क्रमिक रूपमा प्रतिस्थापन गर्दै गएको छ ।

ब्राण्डसँगै गुणस्तरमा सुधार ल्याउनु पर्दैन ?


हामीले अन्तरराष्ट्रिय स्तरअनुसार कफीको गुणस्तरमा सुधार ल्याउन सकेका छैनौं  । माग धान्ने गरी उत्पादन पनि भएको छैन । 'नेपाल कफी' विश्वको सबैभन्दा विशिष्ट कफी हो । विशिष्ट कफी हुनलाई चार ओटा मापदण्ड पूरा हुनुपर्छ । हिमाली क्षेत्रमा फलेको, ८ सयदेखि १ हजार ६ सय मिटरको उचाइभित्र फलेको र विषादी प्रयोग नभएको हुनुपर्छ । त्यस्तै, छहारीमा फलेको हुनुपर्छ । 'नेपाल कफी' सबै अर्ग्यानिक प्रणालीमा उत्पादन हुन्छ । यी चार ओटा मापदण्ड पूरा गरेर विश्वका कुनै पनि देशमा कफी उत्पादन हुँदैन । नेपालमा अहिलेसम्म अराबिका जातिको कफी मात्र उत्पादन हुन्छ । यो विश्वमा प्रचलित सबैभन्दा उत्कृष्ट कफी हो । सामान्यतः कफीको एक जातमा १२ ओटासम्म सहायक जात हुन्छन् । नेपालमा अराबिकाका सबै सहजातको उत्पादन हुन्छ ।

व्यवसायमा कति जनशक्ति संलग्न छन् ?


नेपाल कफी व्यवसायी सङ्घमा करीब २६ हजार किसान संलग्न छन् । सानाठूला गरेर आठओटा प्रशोधन कारखाना सञ्चालनमा छन् । यसमध्ये चार उद्योगले अन्तरराष्ट्रिय बजारमा 'नेपाल कफी' निर्यात गर्दै आएका छन् ।

नेपालमा कुनकुन देशबाट कफी आयात हुन्छ  ?


सबैभन्दा बढी भारतबाट आयात हुन्छ । ब्राजिल, कोरिया, जापानबाट पनि तयारी कफी आइरहेको छ ।  नेपालबाट चाहिँ सबैभन्दा बढी जापान, कोरिया, अमेरिका र यूरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ ।    

अन्य ब्राण्डको तुलनामा 'नेपाल कफी' किन महँगो भएको ?


अन्य कफीको तुलनामा 'नेपाल कफी' महँगो पर्छ भन्ने हल्ला मात्र हो । अहिले नेपालको प्रशोधित कफी एक केजीको ८ सय रुपैयाँसम्म पर्छ । तर, राम्रो किसिमको चिया ८ सय रुपैयाँभन्दा कममा पाइँदैन । अन्तरराष्ट्रिय बजारमा भने अन्य कफीभन्दा 'नेपाल कफी' उच्च मूल्यमा विक्री हुने गरेको छ ।