''हामीले अन्य ब्राण्डको भन्दा राम्रो व्यवसाय गरिरहेका छौँ'' - जयइन्द्र श्रेष्ठ
प्रबन्ध निर्देशक
लाइफ स्टाइल इण्टरप्राइजेज
नेपालमा ब्राण्डेड ऊन सामानको बजार कस्तो छ ?
नेपालमा सबै प्रकारका ब्राण्डेड कपडाको बजार राम्रो छ । त्यसमा पनि अहिले जाडोको मौसम भएकाले ऊनी तथा बाक्ला कपडाको बजार बढिरहेको छ । अहिले मानिससहरू धेरै जागरुक भइसकेका छन् । सबै ग्राहकहरूमा ब्राण्डेडप्रतिको मोह बढिरहेको छ । ग्राहकहरू ब्राण्डेड सामानहरू खोजीखोजी आउन थालेका छन् । हामीले सन् २००५ देखि नेपालमा बोसिनी ब्राण्डका कपडाहरू विक्री गर्दै आएका छौँ । अहिले यसको बजार पनि बढ्दै गएको छ ।
ब्राण्डेड कपडाका उपभोक्ता बढी कुन वर्गका छन् ?
हाम्रो शोरूममा माग भएको आधारमा भन्ने हो भने ऊनका सामानको माग बढी प्रौढ वर्गले मन पराउने गर्छन् । करीब ३० वर्षको उमेर पार गरेका ग्राहक ऊनका सामानको ग्राहक रहेका छन् । युवावर्गले त्यति यस्ता सामानमा उत्साह देखाउँदैनन् । तर, नयाँनयाँ डिजाइनमा आएको कपडामा भने विशेष गरी महिला ग्राहकहरू झुम्मिने गर्दछन् । हलुका ऊनको प्रयोग गरेर बनेका कपडाहरूको माग ज्यादा हुने गरेको छ ।
बोसिनी ब्राण्डका कपडाको विशेषता के हो ?
हाम्रो ब्राण्डको मुख्य विशेषता भन्नु नै यसको विविधता हो । नेपालमा अरू कुनै ब्राण्डमा यति धेरै विविधता पाइँदैन । हामीसँग सबै मौसमका १ हजारभन्दा बढी प्रकारका कपडाहरू छन् । जाडोका लागि चाहिने ऊनको मात्र पनि करीब दुइ दर्जनभन्दा बढी मोडलका स्वीटर उपलब्ध छन् । यसको गुणस्तर पनि अन्तरराष्ट्रिय स्तरको छ । गुणस्तरको तुलनामा हाम्रो उत्पादनको मूल्य न्यून छ । नेपाली बजारमा बोसिनीको मूल्य २ हजार ५ सयदेखी ५ हजार रूपैयाँसम्म रहेको छ । हाम्रो शोरूम काठमाडौँको दरबारमार्ग र ब्लुबर्ड मलमा छन् । त्यसले पनि ग्राहकहरू झुक्किने सम्भावना हुँदैन । सबैभन्दा ठूलो कुरा त ग्राहकको विश्वास नै हो ।
उपत्यकाबाहिर बोसिनीको माग नभएर शोरूम सञ्चालन नभएको हो ?
हामी उपत्यकाबाहिर त्यति केन्द्रित भएका छैनौँ । हामी अरू कसैलाई आधिकारिक विक्रेता नियुक्त गरेर सामान विक्री गर्दैनौँ । जहाँ गए पनि आफैँले शोरूमको स्थापना गछौं | त्यसले गर्दा पनि केही अप्ठ्यारो भइरहेको हो । तर, उपत्यकाबाहिर पनि बोसिनीका ग्राहकहरू धेरै नै छन् । त्यही भएर हामीले पोखरामा शोरूम सञ्चालन गर्ने सोच बनाइरहेका छौँ ।
नेपाली बजारमा ऊनका ब्राण्डेड सामानको विक्रीमा प्रतिस्पर्धा कस्तो छ ?
हाम्रो ब्राण्डसँग नेपाली बजारमा अरू कुनै ब्राण्डको प्रतिस्पर्धा छजस्तो मलाई लाग्दैन । मैले अगाडि नै भनिसकेँ, हाम्रो ब्राण्डमा विविधता छ । यही कारणले गर्दा पनि हामी अन्य ब्राण्डभन्दा अगाडि छौँ । नेपालमा गुणस्तर तथा विविधतामा हामीसगँ प्रतिस्पर्धा गर्ने ब्राण्ड छैन । कपडा आयात गर्नेमा पनि हामी नेपालको एक नम्बरमा छौँ।
यहाँहरूको वार्शिक्क कारोबार कतिको छ ?
त्यस्तो कुरा सार्वजनिक गर्न त हामीलाई पनि गाह्रो हुन्छ । तर, समग्रमा हाम्रो कारोबार सबैभन्दा अगाडि छ । लगानी र विक्रीजस्ता कुरा सार्वजनिक गर्दा अन्य व्यवसायीलाई समेत सजिलो हुन्छ । अरूसँग प्रतिस्पर्धा नगरे पनि हामीसँग प्रतिस्पर्धा गर्ने त दर्जनौँ व्यवसायी छन् ।
कपडा आयातमा सरकारको सहयोग कस्तो छ ?
सरकारको तर्फाट सामान आयात गर्दा त्यस्तो खासै केही सहयोग त भएको छैन । सहयोग छैन भन्दा फेरि असहयोग पनि छैन । यो आफ्नै तरीकाले चलिरहेको छ ।
नेपालमा उत्पादन हुने र बाहिरबाट आयात गर्नेमा ऊनमा के फरक हुन्छ ?
नेपालमा बनेको पश्मिनाको सामानको माग बाहिर पनि राम्रो छ । त्यो बाहेक अन्य उत्पादनहरू त्यति गुणस्तरीय हुँदैनन् । स्थानीयस्तरमा उत्पादन हुने राम्रा सामान पनि निर्यातकै लागि उत्पादन हुने गर्दछन् ।
व्यवसायले अहिले कस्तो चुनौतीको सामना गर्नुपरेको छ ?
नेपालमा ब्राण्डेड सामानको बजार सानो रहेको छ । यसलाई नेपालका अन्य शहरी क्षेत्रमा पनि विस्तार गर्न आवश्यक देखिन्छ । यसले गर्दा ग्राहकलाई ब्राण्डेड सामान प्रयोगका लागि प्रोत्साहन हुन्छ । ब्राण्डेड सामानको बजारविस्तार नै प्रमुख चुनौती रहेको छ । अहिले हामीले पनि काठमाडौं उपत्यकामा मात्र शोरूमको स्थापना गरिरहेका छौँ ।
नेपालमा ब्राण्डेड कपडाको मागको अनुपात कस्तो छ ?
ब्राण्डेड सामानको खपत हुने भनेको काठमाडौं उपत्यकामा मात्र हो । उपत्यकाका ५० प्रतिशतभन्दा बढी जनसङ्ख्याले ब्राण्डेड सामान प्रयोग गर्छन् । तर, पछिल्लो समयमा उपत्यकाबाहिरका उपभोक्ता पनि ब्राण्डेड कपडाप्रति आकर्षित हुँदै गएका छन् ।
नेपालमा ऊनी कपडाको भविष्य कस्तो छ ?
ऊनको मात्र हैन, नेपालमा ब्राण्डेड सबै प्रकारका कपडाको भविष्य राम्रो छ । नेपाली उपभोक्ताहरू दिनप्रतिदिन जागरुक भइरहेका छन् । राम्रो गुणस्तरीय तथा आरामदायी हुनाले अलि महँगा भए पनि ब्राण्डेड कपडा नै प्रयोग गर्न थालेका छन् । जाडो ठाउँ भएकाले ऊनजन्य कपडाको माग पनि बढिरहेको छ । नेपाली बजारमा ऊनी कपडाको कारोबार हरेक वर्ष२५ देखि ३० प्रतिशतले वृद्धि भइरहेको छ ।
तपाईँहरूले केही नयाँ योजना बनाउनुभएको छ ?
हामीले खासै नयाँ योजना त बनाएका छैनौं । तर, ग्राहकको मागसँगै शोरूमको विस्तार भने गर्दै छौँ। ललितपुरको पाटनमा छिट्टै बोसिनीको शोरूम स्थापना गर्दै छौँ । उपत्यकाबाहिर पोखरामा पनि शोरूम स्थापना गर्ने सोचमा छौं ।
सोरूम स्थापना गर्न कति लगानी गर्नुपर्छ ?
शाखा स्थापना गर्दा लगानी स्थानको आकारअनुसार हुन्छ । हामीले स्थापना गर्ने शाखा पनि नजिक भए सानो स्थान भए पुग्छ । पोखराका लागि ठूलो स्थानको आवश्यकता पर्छ । लगानी स्थानअनुसार लाखदेखि करोड रूपैयाँसम्म पनि हुनसक्छ ।