''बजारमा टिक्नका लागि न्यूनतम दश लाख रुपैयाँको लगानी आवश्यक हुन्छ'' -चन्द्रमान शाक्य
सञ्चालक, कासापासा स्पोर्ट्स सेण्टर
नेपालमा अहिले खेलकुदका सामग्रीको व्यवसाय कस्तो छ ?
हामीले ३२ वर्षदेखि खेलकुदका सामग्रीको व्यापार गर्दै आएका छौं । पहिलेको तुलनामा अहिलेको व्यावसायिक अवस्था राम्रो छ । अहिले खेलकुदमा लाग्ने जनसङ्ख्यामा वृद्धि भएको छ । त्यहीअनुपातमा खेलकुद सामग्रीको माग पनि बढिरहेको छ । अहिले स्वस्थ्य रहनका लागि पनि खेल खेल्ने जनसङ्ख्यामा वृद्धि भइरहेको छ । नेपालमा वार्षिक करीब १५ प्रतिशतका दरले यस्ता सामग्रीको मागमा वृद्धि भइरहेको छ ।
कुन खेलका सामग्रीको माग बढी छ ?
नेपाली खेलकुदको सामग्रीको माग स्थानअनुसार फरक पर्ने गरेको छ । काठमाडौं र तराईका क्षेत्रमा फुटबल, भलिबल, क्रिकेट र बास्केटबलको माग बढी हुने गरेको छ । भौगोलिक कारणले पहाडी भेगमा भने भलिबलका सामग्रीको माग बढी छ । अन्य खेलका सामान पनि हामीले विक्री गरिरहेका छौं । अहिले हामीले करीब ३५ प्रकारका खेलसामान विक्री गरिरहेका छौं । नेपालमा यस्ता सामान आयात गर्ने व्यवसायीको सङ्ख्या करीब ५० रहेको छ ।
खेलकुदका सामग्रीको व्यवसायमा प्रतिस्पर्धा कस्तो छ ?
यस व्यवसायमा धेरै प्रतिस्पर्धा छजस्तो मलाई लाग्दैन । मेरो अनुभवमा नेपाली ग्राहकमा त्यति ब्राण्ड सचेतना छैन । तसर्थ , उनीहरू जुन पसलमा गए पनि आफूले चाहेको खेलका सामान खरीद गर्ने गरेका छन् । उनीहरू कुनै निश्चित ब्राण्ड नै खोज्ने गरेर आउने गरेका छैनन् । यसमा पनि नेपालमा ब्राण्डेडको तुलनामा धेरै ननब्राण्डेड खेलका सामानको व्यवसाय हुने गरेको छ । त्यसैले पनि, व्यवसायीबीच प्रतिस्पर्धा छैन । सबैले आआफ्नो तरीकाले व्यवसाय गरिरहेका छन् ।
ननब्राण्डेडले ब्राण्डेड सामग्रीको व्यवसायमा कत्तिको असर परेको छ ?
नेपालको खेलकुदका सामग्रीको बजारलाई हेर्दा करीब ७५ प्रतिशत व्यवसाय ननब्राण्डेडको हुने गरेको छ । तुलनात्मक रूपमा सस्तो हुने तथा आमनेपालीको पहुँचमा यस्तै सामग्री पर्ने भएकाले यस्तो भएको हो । यस्ता सामानले धेरै नेपालीको खेलकुदप्रतिको चाहना पूरा गरिदिएका छन् । तर, ब्राण्डेड सामानको व्यवसायमा खासै असर पारेको छैन । ब्राण्डेड सामान खरीद गर्ने ग्राहकको वर्ग नै अर्कै छ । नेपालमा धेरैलाई ब्राण्डबारे त्यति जानकारी पनि छैन । नेपालमा अहिले अन्तरराष्ट्रिय ब्राण्ड एडिडास, नाइक, पुमा तथा भारतीय ब्राण्ड भिनेक्स, निभियालगायत सामानको माग बढी हुने गरेको छ ।
यस्ता सामान नेपालमा नै उत्पादन हुँदैनन् ?
नेपालमा घरबाहिर खेल्ने सामग्री उत्पादन हुने गरेको मलाई थाहा छैन । तर, अहिले आएर घरभित्रै खेल्ने क्यारेम बोर्डलगायत सामग्री भने केही मात्रामा उत्पादन हुन लागेका छन् । नेपालमा विशेष गरी भारत र चीनबाट खेलकुदका सामान आयात हुने गरेका छन् । अहिले क्रिकेटबाहेक अन्य खेलका सामग्रीमा करीब ७५ प्रतिशत आयात चीनबाट हुने गरेको छ । क्रिकेटका सामग्री भने सबै भारतबाट आयात हुन्छन् ।
तपाईंले व्यवसाय गर्नुभएको तीन दशकभन्दा बढी भइसकेछ, पहिला र अहिलेको व्यवसायमा कस्तो परिवर्तन भइरहेको छ ?
समयअनुसार सबै कुरामा परिवर्तन भइरहेको छ । त्यहीअनुरूप हाम्रो व्यवसायमा पनि परिवर्तन भइरहेको नै छ । पहिलाको तुलनामा अहिले व्यवसाय गर्न गाह्रो छ । पहिला खेलका सामग्रीको व्यवसाय गर्नेहरू थोरै थिए । त्यतिबेला खेलकुदका सामग्री पनि सीमित मात्र हुन्थे । ग्राहकहरू तिनै सामानमा चित्त बुझाएर खरीद गर्दथे । तर, अहिले व्यवसायीको सङ्ख्यामा व्यापक वृद्धि भएको छ । एउटै खेलका पनि धेरै प्रकारका सामग्री उपलब्ध छन् । पहिलाको तुलनामा अहिले छनोटको सुविधा ग्राहकका लागि अत्यधिक छ । उनीहरूलाई चित्त बुझाउन गाह्रो छ । तैपनि, समयअनुसार हामी पनि परिमार्जन हुँदै गइरहेका छौँ । अहिले ग्राहकहरू विभिन्न अन्तरराष्ट्रिय खेलकुदमा प्रयोग भएअनुसारका सामान माग गर्दछन् । पहिलाको तुलनामा अहिले ग्राहक ज्यादै सचेत तथा जागरुक हुँदै गइरहेका छन् ।
नेपालमा खेलकुदका सामग्रीको व्यवसाय सञ्चालनका लागि कति लगानी गर्नुपर्ला ?
नेपालमा खेलकुदका सामग्रीको खासै उत्पादन हुने गरेको छैन । सबै आयातमा नै भर पर्ने हो । त्यसैले कतिको सामान आयात गरेर व्यवसाय गर्ने त्यो त व्यवसायीमा नै भर पर्छ । तर, अहिलेको अवस्थामा बजारमा टिक्नका लागि न्यूनतम १० लाख रुपैयाँ लगानी गर्दा राम्रो हुन्छ । कुनै पनि व्यवसायमा लगानीले मात्र व्यवसाय फस्टाउने होइन । यसका लागि उचित व्यवस्थापन हुन जरुरी छ ।
नेपालमा यस व्यवसायको भविष्य कस्तो छ ?
खेलकुदका सामग्रीको व्यवसाय नेपालमा राम्रो नै छ । पहिलेभन्दा अहिले खेलकुदप्रति रुचि राख्ने मानिसको सङ्ख्यामा वृद्धि भइरहेको छ । सञ्चारमाध्यमको व्यापकताले पनि यसमा सघाइरहेको छ । अहिले धेरै नेपालीहरू आफ्नो स्वास्थ्यप्रति पनि सजग हुँदै गइरहेका छन् । स्वस्थताका लागि पनि खेल खेल्न थालेका छन् । यो प्रवृत्ति भविष्यमा अझै बढ्ने अनुमान गर्न सकिन्छ । त्यसैले पनि, यस व्यवसायको भविष्य राम्रो देखिन्छ ।