अन्तरवार्ता
विज्ञानप्रविधिमा ध्यान, रकम र प्रोत्साहन आवश्यक

गणेश शाह
पूर्वमन्त्री
विज्ञान–प्रविधि तथा वातावरण
मन्त्री छँदा विज्ञान र प्रविधिको क्षेत्रमा तपाईंले के–कस्ता योगदान गर्नुभयो ?
विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय सधैं कम प्राथमिकतामा पर्ने गरेको छ । यो सबैलाई थाहा भएकै कुरा हो । म मन्त्री छँदा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय पनि नेपालमा छ है भन्ने बनाउन थुप्रै प्रयास गरेँ । पाँचौं विज्ञान प्रविधि तथा अनुसन्धान सम्मेलन मेरो कार्यकालमा भयो । सम्मेलन विश्व विज्ञान दिवसका दिन अर्थात् नोभेम्बर १० का दिन सम्पन्न भएको थियो । मुलुकका विभिन्न स्थानका वैज्ञानिकलाई सहभागी गराउने उद्देश्यले गरिएको त्यो सम्मेलन समग्रमा उत्साहजनक र≈यो । छ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको सो सम्मेलनले विज्ञानप्रविधिको क्षेत्रमा युवाहरूको संलग्नता बढ्दै गएको देखायो । विश्वमा अब विज्ञान र प्रविधिलाई शान्ति र विकासमा उपयोग गर्नुपर्छ भन्ने सन्देश पनि त्यो सम्मेलनले दियो ।
त्यसका साथै मुलुकको आर्थिक विकास र शान्ति स्थापनाका लागि युवालाई विज्ञान प्रविधिको उपयोग आवश्यक छ भन्ने सन्देश दिन पनि सम्मेलन सफल भयो । विज्ञान प्रविधि मन्त्रालयको मातहतमा रहेको ‘नेपाल साइन्स एण्ड टेक्नोलोजी काउन्सिल’लाई पुनर्गठन गरेर त्यसलाई सक्रिय बनाउने, नाष्टका वैज्ञानिकहरूलाई प्रोत्साहनका लागि पुरस्कृत गर्ने तथा त्यसलाई अझ व्यवस्थित बनाउनेजस्ता पहल पनि मेरो कार्यकालमा भए । त्यस्तै युवा वैज्ञानिकहरूसँग गाउँ– गाउँमा पुगेर निरन्तर भेटघाट गर्ने, आईटी प्रदर्शनी गर्ने, आईटीसम्बन्धी नीति बनाउन पहल गर्ने, आईटी पार्क सञ्चालन गर्नेलगायत काम भए । युनेस्को र नार्कसँग मिलेर नेपालका वैज्ञानिकहरूका लागि प्राथमिक क्षेत्र के–के हुन सक्छन् भन्ने अध्ययनका लागि कार्यदल बनाउने काम भयो । तर, त्यसले योजनाअनुरूप काम गर्न सकेको छैन । छोटो कार्यकालमा भएका ती कार्य समग्रमा भन्ने हो भन्ने उत्साहजनक हुन् ।
विज्ञानप्रविधिको विकासमा तपाईंले के–कस्ता समस्या देख्नुभएको छ ?
विज्ञान तथा प्रविधि मन्त्रालय अहिलेसम्म सरकारको प्राथमिकता पर्न नसकेको कुरा अघिनै भनिसकेँ । सबैभन्दा ठूलो समस्या नै यही हो । कम योग्यता र क्षमता भएका व्यक्तिलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री बनाएर पठाउनुपर्छ भन्ने मानसिकता अहिले पनि हट्न सकेको छैन । त्यति मात्र होइन, मुलुकको समृद्धि र विकासमा विज्ञान तथा प्रविधि मन्त्रालयलाई उपयोग गर्नुपर्छ भन्ने कुरा राजनीतिक नेतृत्वले अझै आत्मसात् गर्न सकेको छैन । विज्ञान प्रविधिको विकास अनिवार्य छ भनेर सबै नेताले भाषण गरे पनि व्यावहारिक रूपमा त्यसले मूर्त रूप लिन सकेको छैन । अहिले पनि सबैभन्दा कम बजेट विज्ञान तथा प्रविधि मन्त्रालयका लागि छुट्ट्याइन्छ । लोकतन्त्रको स्थापनापछि त झन् यो मन्त्रालयको बजेट घट्दो क्रममा छ । एउटा वैज्ञानिक देश छाडेर बाहिर जानु भनेको मुलुकका लागि ठूलो घाटा हो भन्ने कुरा हामीले बुझ्न सकेका छैनौं । ‘ब्रेनड्रेन’को समस्या ठूलो छ ।
नेपालमा उत्पादन भएका वैज्ञानिकलाई मुलुकभित्रै कामको अवसर दिनुपर्छ भन्ने कुरामा पनि कसैको ध्यान जान सकेको छैन । अनुसन्धान संस्कृतिको विकास अझै हुन सकेको छैन । विज्ञान तथा प्रविधि मन्त्रालयलाई वैज्ञानिकहरूको छाता मन्त्रालय बनाउन अझै सकिएको छैन । त्यस्तै कृषि र प्रविधिमा पनि हाम्रो ध्यान जान सकेको छैन । विज्ञानमन्त्री र मन्त्रालयलाई प्राविधिक र वैज्ञानिक जनशक्तिसम्पन्न बनाउने हो भने थुप्रै गर्न सकिन्छ । विश्विका विकसित मुलुकको अभ्यास हेर्दा विज्ञान प्रविधिमा दक्ष व्यक्ति मात्र विज्ञान सचिव हुने अभ्यास छ । हामीकहाँ त्यसो हुन सकिरहेको छैन । हामी प्रजातन्त्र, लोकतन्त्रका कुरा गर्छौं तर प्रविधितन्त्रका कुरा कम मात्रै गर्छौं । नेपालमा विज्ञानप्रविधिको विकासका लागि कुनै कानून बन्न सकेको छैन । कुनै बोर्ड छैन । त्यसले पनि समस्या हुने गरेको छ । त्यसका लागि उच्चस्तरीय एकाइहरूको गठन गरेर अगाडि बढ्न सकिन्छ । राज्यले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा बजेट वृद्धि गरेर, विज्ञानप्रविधि र अनुसन्धानका शिक्षकलाई उचित प्रकारको शिक्षा दिने व्यवस्था गरेर पनि केही समस्या हल गर्न सक्छ । त्यसो नगर्ने हो भने विज्ञानप्रविधि र अनुसन्धानको विकासमा हामी सधैं पछि परिरहने छौं ।
विज्ञान तथा प्रविधको क्षेत्रले नेपालमा प्राथमिकता पाउन नसक्नुको कारण के हो ?
यसको प्रमुख कारण हामीले अहिले पनि औद्योगिक विकास गर्न सकेका छैनौं । सामन्तवादी सोचबाट माथि उठ्न नसक्नु र प्रविधिमैत्री समाजको विकास हुन नसक्नुले पनि नेपालमा विज्ञान तथा प्रविधिको विकासमा बाधा सृजना गरेको छ । हामी उपभोक्तावादी समाजमा छौं । आफै उत्पादन गर्ने बानीको विकास अझै हुन सकेको छैन । यी विविध कारणले गर्दा हाम्रो मुलुक विज्ञानप्रविधिको विकासमा पछि परेको हो ।
अन्य मुलुकको तुलनामा नेपालमा विज्ञानप्रविधि क्षेत्रको विकासमा राज्यले गरेको योगदान कस्तो पाउनुभएको छ ?
विज्ञानप्रविधिको क्षेत्रलाई दिएको प्राथमिकताका आधारमा नै मुलुकको समृद्धि र शान्तिको मापन हुन्छ । जुन मुलुकले विज्ञान र प्रविधिको क्षेत्रमा बढी लगानी गरेका छन्, ती मुलुक सम्पन्न भएका छन् । अमेरिकाले आफ्नो कुल गार्हस्थ्य उत्पादनको करीब तीनदेखि चार प्रतिशत विज्ञानप्रविधि र अनुसन्धानमा लगानी गर्ने गरेको छ । नेपालको अवस्था भने निराशाजनक छ । राज्य, उद्योग र जनताको लगानी विज्ञानप्रविधिको क्षेत्रमा हुने हो भने विकास सम्भव छ ।
के भयो भने विज्ञानप्रविधिको क्षेत्रमा नेपालले विकास गर्न सक्ला त ?
विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्र अहिले फराकिलो बनिसकेको छ । यसको पहुँच विश्वव्यापी छ । त्यसैले अबका युवा वैज्ञानिकले नेपालमा भएका पुराना वैज्ञानिकहरूको सल्लाह, निर्देशन र सुझावमा नयाँ उत्साहका साथ काम गर्न सक्नुपर्छ । त्यसो भयो भने नेपालमा विज्ञान तथा प्रविधिको विकास हुन सक्छ । त्यस्तै विज्ञानप्रविधिसँग सम्बन्धित विश्वविद्यालयहरूको सहकार्यमा अनुसन्धान र विज्ञानप्रविधिका कामलाई अगाडि बढाउन सकिन्छ । छिमेकी मुलुक भारत र चीनसँग विज्ञानप्रविधि र अनुसन्धान क्षेत्रको सहकार्यलाई अगाडि बढाएर प्रशस्त काम गर्न सक्छौ । भारतका वैज्ञानिकहरूसगँ प्रविधिलगायतको सहयोग लिएर हरितक्रान्तिको अभियानमा अगाडि बढ्ने हो भने नेपालमा ठूलो परिवतर्न गर्न सकिन्छ ।
चीनले सूचना प्रविधिको क्षेत्रमा गरेको विकासबाट सिक्दै आधुनिक प्रविधिमा प्रवेश गर्ने हो भने नेपालका युवा वैज्ञानिकले ठूलो प्रगति गर्न सक्छन् । अहिले प्रत्येक वर्ष करीब ३ हजार विज्ञान र झण्डै ३ देखि ४ हजार इञ्जिनीयरिङ सङ्कायबाट विद्यार्थी उत्पादन हुने गरेका छन् । अहिले मोटामोटी रूपमा भन्ने हो भने करीब ५० हजार मानिस विज्ञानप्रविधिको क्षेत्रमा आबद्ध छन् । त्यसैले राज्यले ती कुरामा ध्यान दिने हो र यसको विकासका लागि अन्तरराष्ट्रिय सहयोग जुटाउन सक्ने हो भने नेपालले विज्ञानप्रविधिको क्षेत्रमा नसोचेको विकास गर्न सक्छ ।
अनुभवहीन व्यक्तिहरूको नेतृत्व विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने गरेकाले समस्या भएको भनिन्छ नि ?
हाम्रो मुलुकको योजनामा विज्ञानप्रविधि मूल एजेण्डाका रूपमा कहिल्यै पर्न सकेको छैन । कुनै पनि पार्टीले विज्ञानप्रविधिसम्बन्धी छुट्टै विभाग गठन गरेका छैनन् । राजनीतिक दलले अब लोकतन्त्र र गणतन्त्रको मात्र राजनीति गर्ने होइन, विज्ञानप्रविधिको राजनीति शुरू गर्न आवश्यक भइसकेको छ । त्यसका लागि विज्ञानप्रविधिको उपयोग र नीत%