''लगानीमैत्री वातावरण निर्माण गर्नु प्रमुख कार्य हुनेछ'' - आजाद श्रेष्ठ
कार्यकारी सदस्य
नेपाल उद्योग वाणिज्य महासङ्घ
दुई दशकअघिदेखि नेपालको च्याम्बर आन्दोलनमा सक्रिय आजाद श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । महासङ्घमा उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका श्रेष्ठसँग महासङ्घको निर्वाचन, मुलुकको आर्थिक स्थिति र निर्वाचनको तयारीलाई केन्द्रबिन्दुमा राखी आर्थिक अभियानले गरेको कुराकानीको सारः
नेपाल उद्योग वाणिज्य महासङ्घमा तपाईंले केका लागि उम्मेदवारी दिनुभएको हो ?
नेपाल उद्योग वाणिज्य महासङ्घ निजीक्षेत्रको छाता सङ्गठन हो । महासङ्घले आफ्नो स्थापनाकालदेखि नै नेपालको उद्योग व्यवसायक्षेत्रको विकास र प्रवर्द्धनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । अहिलेको परि्रेक्ष्यमा सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ नै हो । मुलुकका पचहत्तरै जिल्लामा ९२ जिल्ला र नगर उद्योग वाणिज्य सङ्घ, ७६ वस्तुगत सङ्घ र ४ सय ३० ओटा एशोसिएट तथा द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घहरू महासङ्घमा आबद्ध छन् । यति विशाल संरचना भएको निजीक्षेत्रको छाता सङ्गठनमा मेरो अध्यक्षको उम्मेदवारीका पछाडि केही निश्चित आधार र कारणहरू छन् । विगत २० वर्षदेखि नेपालको च्याम्बर आन्दोलनमा मैले आफूलाई समाहित गर्दै आएको हुँ । २०४७ सालमा पोखरा उद्योग वाणिज्य सङ्घको कार्यकारी सदस्य हुँदै अध्यक्षको भूमिका निर्वाह गरिसकेको मैले महासङ्घको उपाध्यक्षको समेत अनुभव सङ्गालिसकेको छु । लामो समयदेखि निरन्तर नेपालको च्याम्बर आन्दोलनमा लागेकै कारण मलाई देशभरिका उद्योगी-व्यवसायी साथीहरूले महासङ्घको अध्यक्षमा उम्मेदवारी दिनका निम्ति उत्साहित र प्रेरित गर्नुभयो । पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य सङ्घको साधारणसभाले मेरो उम्मेदवारीको सवसम्मत समर्थन गरेर मलाई अझ बलियो र उत्साहित बनाउनुभएको छ ।
व्यवसायीको हित र अर्थतन्त्रको सुदृढीकरणका लागि केकस्ता योजना छन् ?
आर्थिक समृद्धिका लागि स्वच्छ व्यवसाय नै अहिलेको मुख्य कार्यदिशा हो । व्यावसायिक क्षेत्रमा मौलाउँदै आएका विभिन्न किसिमका एकाधिकार र दण्डहीनताको अवस्था समाप्त गर्दै व्यवसायीको आत्मसम्मान र आत्मविश्वास बढाउनु आजको आवश्यकता हो । मुलुकको आर्थिक समृद्धिका लागि उद्योग वाणिज्य महासङ्घको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसैले मुलुकमा व्यावसायिक वातावरण सृजना गर्नका लागि सरकार, राजनीतिक पार्टी र नागरिक समाजसँगै सहकार्य गरेर अगाडि बढ्ने मेरो योजना छ ।
अध्यक्ष पदको उम्मेदवारका हैसियतले तपार्इंका चुनावी मुद्दाचाहिँ केके छन् ?
मुलुकमा व्यावसायिक वातावरण सृजना गर्नका निम्ति शान्ति, सुव्यवस्था सबैभन्दा पहिलो शर्त हो । असुरक्षा, चन्दाआतङ्क, बन्दहडताल, लोडशेडिङजस्ता क्रियाकलापले उद्योगव्यवसाय ओरालो लागिरहेका छन् । व्यवसायीहरू दिन प्रतिदिन व्यवसायबाट हतोत्साहि बन्दै गएको अवस्था छ । अब त भइरहेका लगानीहरूलाई कसरी सुरक्षित बनाउने भन्नेमा व्यवसायीहरू चिन्तित छन् । यी सबै कुरालाई दृष्टिगत गर्दै मुलुकमा पुनः लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक छ । मैले यही मुद्दालाई पहिलो प्राथमिकतामा राखेर नयाँ लगानी सम्भावना पहिल्याउने काम गर्नेछु ।
* मूल्यवृद्धि, बढ्दो ब्याजदर, बढ्दो बेरोजगारी, व्यवसायमा बढ्दो लागत, लगानीमा कम आकर्षण हाम्रा लागि चासोको विषय हो । दीर्घकालीन राजस्व नीति र बैङ्किङ नीतिका लागि पहल गर्नेछु ।
* जिल्लाजिल्लाका उवासङ्घहरू जति सक्रिय हुन्छन्, त्यति नै मुलुकमा समृद्धि र आर्थिक विकासका लागि अवसर हुने हुँदा जिल्ला उवासङ्घहरूका लागि दिगो आर्थिक स्रोतसाधनको व्यवस्था गर्न अग्रसर हुनेछु ।
* निजीक्षेत्रको आत्मसम्मान, गरिमा बर्ढाई व्यवसायलाई मर्यादित बनाउन स्वच्छ व्यवसायमा जोड दिनेछु ।
* जिल्ला उवासङ्घहरूसँग समन्वय गरेर युवा स्वरोजगार कार्यक्रमलाई अगाडि बढाउन सरकारसँग पहल गर्नेछु ।
* नेपाल युवा उद्योगी मञ्चसँग समन्वय र सहकार्य गरी बेरोजगार युवालाई स्वरोजगार बनाउन उद्यमशीलताको विकास गरी मुलुकमै अवसरको सृजना गर्ने र युवाहरूलाई स्वदेशमै काम गर्न उपयुक्त वातावरण बनाउने कार्यलाई प्राथमिकता दिनेछु ।
* निजीक्षेत्रलाई प्रताडित गर्ने कार्य? बन्द, हडताल, घूसखोरी, जबर्जस्ती चन्दा, धम्कीपूर्ण कार्य, फिरौतीजस्ता विकृतजन्य कार्यविरुद्ध आवाज उठाउनेछु ।
* सिण्डिकेट प्रथालाई अन्त्य गरी स्वच्छ प्रतिस्पर्धाद्वारा व्यवसाय सञ्चालन गर्न यातायात व्यवसायीहरूसँग समन्वय गरेर अघि बढ्नेछु ।
* व्यवसायी र मजदूरहरू एक सिक्काका दुई पाटा भएकाले मुलुकको औद्योगिक विकासका लागि आपसी समझदारी कायम गरी सुमधुर औद्योगिक सम्बन्ध कायम गर्न अग्रसर हुने मेरा प्रमुख मुद्दाहरू रहेका छन् ।
यी मुद्दाहरूलाई सम्बोधन गर्न केही योजना पनि बनाउनुभएको छ कि ?
मैले मेरा चुनावको आर्थिक मुद्दालाई सम्बोधन गर्नका निम्ति तीनवर्षको कार्ययोजना बनाएको छु । तीनवर्षको कार्ययोजनामा
* सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सङ्घीय ढाँचाअनुसार महासङ्घसँग आबद्ध ९२ ओटा जिल्ला र नगर उवासङ्घहरूको आबद्धता रहने गरी प्रादेशिक वा क्षेत्रीय सङ्गठनको ढाँचा तयार गरिनेछ ।
* प्रत्येक उवासङ्घको प्राथमिकता र आवश्यकताअनुसार प्रवर्द्धन र पूर्वाधार विकासका लागि नेउवा महासङ्घ, उवासङ्घ, स्थानीय निकाय, सम्बन्धित मन्त्रालय र सरोकारवाला सम्मिलित दुई समन्वय समिति गठन गरी कार्यान्वयन गरिनेछ ।
* त्यसैगरी नेपाल सरकार राजनीतिक दलहरू र नागरिक समाजसँग निरन्तर संवाद, बहस, छलफल गरी स्वच्छ र सुरक्षित व्यावसायिक वातावरण, लगानी मैत्री अवस्था, द्वन्द्वरहित औद्योगिक वातावरण तयार गरी आर्थिक समृद्धि र व्यवसाय विकासका लागि स्वरोजगारमूलक कार्यक्रम लागू गर्न क्रियाशीलता र सक्रियता बढाइनेछ ।
* स्थानीय निकायमा निर्वाचन नभएसम्म जिविस, नगरपालिका र गाविस संयन्त्रमा उवासङ्घको अनिवार्य संलग्नताका लागि सरकार र राजनीतिक पार्टीहरुलाई विश्वस्त बनाउने र संयन्त्रको सदस्यका रूपमा स्थापित गराउन प्रयास गरिनेछ ।
* प्रत्येक उवासङ्घहरूलाई आफ्नो ठाउँको प्रवर्द्धन गर्न उपलब्ध प्राकृतिक स्रोतको भरपूर उपयोग, उत्पादन र व्यावसायिक स्थिति तथा लगानी आकर्षका गर्ने र पर्यटनलाई गाउँघरको पनि व्यवसाय बनाउन ३ वर्षभित्र ९२ ओटै उवासङ्घहरूलाई महोत्सव आयोजना गर्न प्रोत्साहन गरिनेछ ।
* महासङ्घ र यसका सदस्यहरूबीच नियमित, सहज र अवरोधरहित संवादका लागि पदाधिकारीहरू, समितिका सभापतिहरू केन्द्रीय सदस्यहरू र क्षेत्रीय अध्यक्षहरूलाई जिम्मेवार बनाइनेछ ।
* महासङ्घका विभिन्न कार्यक्रमलाई विस्तार गर्न तथा नयाँ कार्यक्रम लागू गर्न सरकार विभिन्न सहयोगी संस्था, कर्पोरेट संस्थासँगको सहकार्यलाई तीव्रता प्रदान गरिनेछ ।
* महासङ्घको अन्तरराष्ट्रिय सम्बन्ध प्रभावकारी बनाउन गरिएका सम्झौताहरू कार्यान्वयन गर्न, नेपालको समग्र विकासमा लगानीसहित सहयोग गर्न, नेपालको उत्पादनलाई सहज प्रवेशका साथै प्रवर्द्धन गर्न जोड दिइनेछ ।
* बजारमा कुनै पनि प्रकारको एकाधिकार प्रणाली अन्त्य गर्न, उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न, समाजप्रतिको उत्तरदायित्व बहन गर्न र व्यावसायिक पेशाको गरिमा बढाउन र मर्यादित बनाउन प्रोत्साहित गरिनेछ ।
* मुलुकमा कार्यरत अन्य व्यावसायिक संस्थाहरूलाई एकबद्धता भई अगाडि बढ्नका लागि सहकार्य तथा कार्यगत एकताका लागि आह्वान गरिनेछ र नेपालको निजीक्षेत्रको एकमात्र सङ्घीय संस्था नेउवा महासङ्घमा आबद्ध हुन आह्वान गर्नुका साथै प्रभावकारी प्रयास गर्ने मेरो कार्ययोजना छ ।
निर्वाचनको तयारीचाहिँ कस्तो छ त ?
मैले पोखरा उवासङ्घको पूर्वअध्यक्षको हैसियत र पोखरा उवासङ्घकै पहलमा आफ्नो उम्मेदवारी अगाडि बढाएको छु । फागुन ५ गते नै पोखरा उवासङ्घले मेरो उम्मेदवारीको घोषणा सार्वजनिक गरेको हो । त्यसअघि र पछि पनि विभिन्न जिल्ला र वस्तुगत सङ्घका साथीहरूसँग भेटघाट गरिरहेको छु । आजसम्म जति साथीहरूसँग भेटेँ उहाँहरूको भावना र समर्थन पाएर म अत्यन्तै उत्साहित छु । भर्खरै पूर्वाञ्चलको भ्रमण सकेर फर्केको छु । पूर्वको समर्थन मैले नै पाएको छु । पश्चिमाञ्चल क्षेत्रीय उवासङ्घले मेरो उम्मेदवारीलाई सवसम्मत समर्थन गरेको पहिल्यै भनिसकेँ । अहिले म वाग्मती अञ्चलका साथीहरूसँग छलफल गरिरहेको छु । सबैतिरबाट मैले असाध्यै राम्रो समर्थन पाएको छु ।
सुदूर र मध्यपश्चिम तपाईंका विरुद्धमा गएको छ नि ?
मध्य र सुदूरपश्चिमका धेरै साथीहरूले मलाई समर्थन गर्नुभएको छ । मध्यपश्चिमाञ्चलको भ्रमणमा मैले त्यहाँका साथीहरूबाट ठूलो हौसला र समर्थन पाएको छु । चाँडै नै म सुदूरपश्चिमका साथीहरूलाई भेट्न जाँदै छु । त्यहाँका साथीहरूबाट पनि मैले सहयोगको पूर्ण अपेक्षा राखेको छु ।
महासङ्घले आजसम्म निर्वाह गर्दै आएको भूमिकालाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
महासङ्घले आफ्नो स्थापना कालदेखि नै देशको आर्थिक उन्नतिका लागि महत्त्वपूर्ण योगदान दिँदै आएको छ । सरकारसँग सहकार्य गरेर मुलुकको आर्थिक विकासमा निजीक्षेत्रको संलग्नता र भूमिका हुनुपर्छ भन्दै आफ्नो पहिचानसहित महासङ्घ अगाडि आएको हो । मुलुकमा २०६२/६३ को जनआन्दोलनपछि मुलुकको राजनीतिमा आमूल परिवर्तन आएको छ । अब सामाजिक र आर्थिक रुपान्तरको आवश्यकता छ । खुला बजारमुखी अर्थतन्त्र अँगालेको नेपालको सामाजिक र आर्थिक रुपान्तरणको नेतृत्व निजीक्षेत्रले नै लिनुपर्छ भन्ने मेरो मान्यता छ । महासङ्घ पनि यही सोचमा अगाडि बढेको छ । यो अत्यन्तै सकारात्मक कुरा हो ।
यसअघि सबै उद्योगी-व्यवसायीलाई समेट्न नसक्दा महासङ्घको समानान्तर सङ्गठन खुलेको कुरालाई कसरी लिनुभएको छ ?
महासङ्घ पूर्ण प्रजातान्त्रिक संस्था हो । निर्वाचन प्रक्रियामा जाँदा कोही साथीहरूले चित्त दुखाएर संस्थाबाट बाहिर जानु हुँदैन भन्ने मेरो मान्यता हो । विगतमा त्यस्तै अप्रिय वातावरण सृजना भएकाले केही साथीहरू महासङ्घबाट बाहिरिनुभएको छ । आफ्ना केही असन्तुष्टिहरू छन भने पनि हामीले एकै ठाउँमा बसेर त्यसको समाधान निकाल्नुपर्छ । निजीक्षेत्रको यति ठूलो छाता सङ्गठनबाट बाहिरिएर कसैलाई पनि राम्रो हुँदैन । त्यसैले म त अझै पनि सबै साथीहरू जो जहाँ पुग्नुभएको भए पनि महासङ्घमा आउनोस् र यसका कमीकमजोरी केही छन् भने पनि हटाउँदै, परिमार्जन गर्दै अघि बढौं भनिरहेको छु । भोलिका दिनमा पनि सबै साथीहरूलाई समेटेर अघि बढ्नुपर्छ भन्ने मान्यतामा म लागेको छु ।
भोलि देश सङ्घीय व्यवस्थामा जाँदाको अवस्थामा महासङ्घको भूमिका र संरचना कस्तो हुनुपर्छ भन्ने सोच्नुभएको छ ?
भोलिका दिनमा सवदलीय लोकतान्त्रिक गणतन्त्र नेपालको सङ्घीय ढाँचा अनुरूप नै महासङ्घ र यससँग आबद्ध सङ्घसंस्थासहितको महासङ्घको प्रादेशिक वा क्षेत्रीय सङ्गठनको ढाँचा तयार गरिनेछ । सबैभन्दा पहिले त नयाँ संविधान आउने कुरा सुनिश्चित हुनुपर्यो । संविधानमा निजीक्षेत्रको विकासका निम्ति दिशा निर्देश हुनुपर्छ भन्ने पनि हाम्रो आग्रह छ । भोलिका दिनमा निजीक्षेत्रले नेतृत्व गरेको राष्ट्रिय अर्थतन्त्रको नेपाल हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
अहिले महासङ्घको निर्वाचन मोफसल र राजधानीबीच हुँदैछ भन्ने छ नि ?
त्यस्तो कुरा त पटक्कै होइन । जिल्लासङ्घको विभिन्न तहको नेतृत्वमा बसेर महासङ्घमा समेत करीब ११ वर्षकाम गरिसकेको छु । महासङ्घको रोजगारदाता परिषद्मा रहेर मैले औद्योगिक विकास र सम्बन्धका बारेमा काम गरिसकेको छु । म स्वयम् उद्योगक्षेत्रको व्यवसायी भएकाले उद्योगमा आइपर्ने समस्या समाधानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छु । त्यस अर्थमा मेरो यो उम्मेदवारी जिल्लाकै तर्फबाट हो भन्न सकिन्छ । तर, मेरो उम्मेदवारी राजधानी र मोफसलबीच नभएर समग्र उद्योग वाणिज्यक्षेत्रलाई एक सूत्रमा बाँध्नका निम्ति हो ।
त्यसो भए तपाईं आफ्नो विजयप्रति ढुक्क हुनुहुन्छ ?
हो, म आफ्नो विजयप्रति सुनिश्चित छु । मेरो विजयको सुनिश्चितका पछाडि नेपालको च्याम्बर आन्दोलनमा लामो समयसम्म नेतृत्व तहमा बसेर काम गरेका साथीहरू हुनुहुन्छ । वर्तमान कार्यसमितिको दुईजना उपाध्यक्षसहित धेरै सफल अनुभवी उद्योगी व्यवसायी साथीहरू मेरो टिममा हुनुहुन्छ । जिल्लाका साथीहरूको सहयोग र समर्थन पनि मैले नै पाएको छु । त्यसैले पनि मेरो विजयप्रति शङ्का गर्नुपर्ने ठाउँ देखिँदैन ।