''चार वर्षमा व्यापार दोब्बर भएको छ'' - दिनेश लामिछाने
विक्री प्रबन्धक, मोरङ अटो वर्क्स
अहिले वाद्यवादनका सामग्रीको बजार कस्तो छ ?
अहिले स्कूलहरूमा पनि सङ्गीतको कक्षा अनिवार्यजस्तै भएको छ । शहरमा पनि सङ्गीत पढाउने थुप्रै संस्था स्थापना भएका छन् । यसले गर्दा वाद्यवादनका सामानको बजार पहिलेको तुलनामा धेरै बढेको छ । ब्याण्डहरूको पनि स्थापना हुन थालेको छ । हामीले यस्ता सामानको व्यापार गर्न थालेको ४ वर्षभयो । यस अवधिमा बजार अत्यधिक बढेको पाएका छौं । हामीले व्यापार शुरू गर्दाको तुलनामा यसको व्यापार दोब्बर भएको छ ।
नेपालमा सङ्गीतका सामानको कति मूल्यबराबरको कारोबार हुन्छ ?
हामीले शुरू गर्ने समयमा कति सामान आयात गर्नुपर्छ, कतिसम्म विक्री हुन्छ भन्ने ज्ञान थिएन । हामीले जापानमा अर्डर गरेर सामान मगाउनु पर्छ । यसको वार्षिक कारोबार अङ्कमा भन्न सकिने अवस्था छैन । हाम्रो आफ्नो कुरा गर्ने हो भने दुइ ओटा शोरूमबाट वाषिर्क डेढ करोडसम्मको कारोबार हुन्छ । नेपालमा अहिले पनि विदेशमा जस्तो बाल्यावस्थादेखि नै सिकाउने चलन छैन । यसले गर्दा पनि वाद्यवादनका सामानको बजार जुन रूपमा बढ्नु पर्ने हो, त्यसरी बढ्न सकेको छैन । अभिवाकले पनि आफ्ना बच्चालाई सङ्गीत सिकाएर उसले यो क्षेत्रमा नै करिअर बनाउन सक्छ भन्ने सोच्दैनन् । यसले गर्दा तुरुन्त यस्ता सामानमा लगानी गर्न उनीहरू हिच्किचाउँछन् । विस्तारै यसले गति लिँदै छ ।
विदेशी सङ्गीतका सामानप्रति मानिसको आकर्षा कस्तो छ ?
अहिले मानिसहरू बाण्डप्रति सचेत भएका छन् । ब्राण्डेड सामान एक पटक किनेपछि लामो समयसम्म चलाउन सकिन्छ । यसले गर्दा पनि मानिसहरूको रोजाइमा नै यस्ता सामान पर्ने गरेका छन् । अहिले ब्राण्डेड सामान मध्यमवर्गले पनि किन्न सक्ने भएकाले उनीहरूको पनि आकर्षण बढेको छ ।
तपाईं किबोड र गितारमा मात्र सीमित हुनुको कारण के हो ?
यामाहाका वाद्यवादनका सामान एकदमै महँगा छन् । हामीसँग यामाहाका भ्वाइलिनहरू पनि छन् । भ्वाइलिनको एउटाको मूल्य कम्तीमा पनि एक डेढ लाख पर्छ । नेपालमा भ्वाइलिन सिक्ने मानिस पनि कम छन् । यति धेरै रकम एउटै सामानका लागि खर्च गर्ने मानिस पनि कमै छन् । शुरूमा सिक्ने मानिसहरूले कि त किबोर्ड नै रोज्छ अथवा गितार नै रोज्छ । यामाहाको ड्रम सेट पनि ६०/७० हजारभन्दा कममा पाइँदैन । यसैले अहिले कम मूल्यका सामानलाई प्राथमिकता दिएको हो । बजार बढेपछि अरू सामान पनि आउँछन् ।
यी समानको मुख्य बजार कहाँ हो ?
काठमाडौंलगायत उपत्यकाबाहिर पनि यस्ता सामानको राम्रो बजार छ । पोखराबाट समेत हामीकहाँ सामान किन्न आउँछन् । चर्चहरूले पनि यहाँबाट धेरै सामान किनिरहेका हुन्छन् ।
तपाईंहरूका मुख्य ग्राहकचाहिँ कोको हुन् ?
विशेष गरी हाम्रा ग्राहक भनेको नेपालमा बसेका विदेशीहरू हुन् । हामीकहाँ स्कूलका विद्यार्थी, चर्च र सङ्गीतमा लागेका मानिस बढी आउने गर्दछन् । ठूला पियानोहरू नेपालमा लामो समय बस्ने विदेशीले किन्ने गरेका छन् । साथै गितार भने रेष्टुरेण्टहरूले पनि लैजाने गरेका छन् ।
तपाईंहरूसँग कति मूल्यदेखिका सामान छन् ?
नेपालको बजार हेरेर एकदमै महँगो सामान मगाएका छैनौं । यामाहाको सबैभन्दा सस्तो किबोर्डको १४ हजार रुपैयाँ पर्छ । यसमा पनि स्तरअनुसारको मूल्य हुन्छ । हामीले २७/२८ हजार पर्ने किबोर्ड पनि मगाएका छौँ । यसैमा अलि एडभान्स र पोर्टएबल किबोर्डको ८१ हजार रुपैयाँसम्म पर्छ । हामीले ३ लाख रुपैयाँसम्मको पियानो पनि उपलब्ध गराउँदै आएका छौँ । तर, यस्ता सामान थोरै मानिसले मात्र किन्छन् ।
यस्ता सामान किन्दा के कुरामा ध्यान दिनुपर्छ ?
यसमा साउण्डको स्तर कस्तो छ भन्ने कुरामा ध्यान दिनुपर्छ । साथै, वारेण्टीग्यारेण्टीको सुविधा के छ भन्ने विषयमा पनि ध्यान दिनुपर्छ । किबोर्ड बिग्रिएमा जहाँ पायो, त्यहीँ बनाउन सकिँदैन । नेपालमा विद्युत्को आपूर्तिमा उतारचढाव हुने भएकाले इलेक्ट्रिक सामान छिट्टै बिग्रिने हुन्छन् । ब्राण्डेड सामानमा वारेण्टी हुन्छ ।
इलेक्टि्रक गितार, किबोर्ड र पियानोहरू नेपालमा बन्ने सम्भावना छ ?
नेपालमा अहिले यस्ता सामग्रीको उत्पादन हुने सम्भावना निकै कम छ । बाहिरबाट हेर्दा यो सामान्य काठबाट बनेको जस्तो लाग्छ । ब्राण्डेड गितार प्रायः इण्डोनेसियामा बन्छ । यसमा प्रयोग हुने सामान (म्यापल उड) इण्डोनेसियामा पाइन्छ । यो असाध्यै हल्का पनि हुन्छ । यो बनाउनका लागि अनुसन्धान गर्नुपर्ने हुन्छ । यसको टोन मिलाउनका लागि पनि धेरै मिहिनेत गर्नुपर्छ । यस्ता सामान धेरै पछिचाहिँ नेपालमा पनि बन्लान् । तर, अहिले उत्पादन नै गर्ने सम्भावना छैन । अहिले आवश्यक सामान विदेशबाट ल्याएर एसेम्बलसम्म गर्न सकिन्छ ।
तपाईंहरूले आयात गरेका सामग्री कहाँकहाँ पाइन्छ ?
हामीले अरू कम्पनीमा सप्लाई गरेका छैनौं । अहिले हाम्रा दुइ ओटा शोरूमबाट मात्र यस्ता सामग्रीको किनबेच हुन्छ । सङ्गीतसँग नजिक भएका मानिस पोखरा र धरानमा धेरै छन् । ती ठाँउमा पनि केही समयमा शोरूम खोल्ने योजना छ ।
यामाहाले लञ्च गरेका सामान नेपालमा आउन कति समय लाग्छ ?
यामाहा कम्पनीले एक पटक लञ्च गरेको समान अर्को पटक बजारमा ल्याउँदैन । आगामी समयमा केके सामान उत्पादन गर्दै छ, त्यसको जानकारी ३/४ महीनाअगाडि नै पठाएको हुन्छ । त्यसअनुसार केके सामान चाहिन्छ, ती सामानको अर्डर पहिले नै गरेका हुन्छौँ । त्यहाँ लञ्च भएको केही समयमा नेपालमा पनि सामान पाउन सकिन्छ । यसरी लामो समय लागाएर अनुसन्धान गरेर सामग्री उत्पादन गर्ने हुनाले उनीहरूको सामानमा केही त्रुटी हुँदैन । यामाहा जापनिज ब्राण्ड हो । यस्ता सामान नेपालमा र जापानमा किन्नुमा केही फरक हुँदैन । जापानमा जुन सामान पाइन्छ, यहाँ पनि त्यही सामान पाइन्छ ।