२० वर्षमा चितवन आर्थिक राजधानी बन्न सक्छ
डा.तीलचन्द्र भट्टराई
प्रबन्ध निर्देशक,
पञ्चरत्न ग्रूप अफ पोल्ट्री इण्डष्ट्री प्रालि,
चितवन
पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सम्भावना भएर पनि अपेक्षाकृत विकास हुन सकेको छैन । यसतर्फ लगानी वृद्धि गर्दै गुणस्तरीय सेवा दिन सक्नुपर्छ । डा. तीलचन्द्र भट्टराई पञ्चरत्न ग्रूप अफ पोल्ट्री इण्डष्ट्री प्रालिका प्रबन्ध निर्देशक हुन् । उनी सतनचुली वाइल्ड लाइफ भ्यू रिसोर्ट, सौराहा, डेल सतनचुली, गैंडाकोट तथा चितवन भ्याली मोडल हस्पिटल भरतपुरका अध्यक्ष पनि हुन् । हाल उनी उद्योग वाणिज्य सङ्घ, चितवनको वरिष्ठ उपाध्यक्ष छन् । चितवनको आर्थिक विकासको योजना बनाउने कार्यमा संलग्न उनी अबको २० वर्षभित्र चितवनलाई देशकै प्रमुख आर्थिक केन्द्रका रूपमा विकास गर्ने सोच राख्छन् । चितवनका सफल व्यवसायीका रूपमा चिनिएका भट्टराईसग आर्थिक अभियानले गरेको कुराकानीको सार :
२० वर्षपछिको चितवन कस्तो होस् भन्ने तपार्इंको चाहना छ ?
अबको २० वर्षभित्र चितवनलाई देशको प्रमुख आर्थिक केन्द्रका रूपमा विकास गर्नुपर्छ भनेर उद्योग वाणिज्य सङ्घ, चितवनले गुरुयोजना तयार पारेको छ । यहा“को कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको समुचित विकासमार्फत त्यसो गर्न सकिन्छ । त्यसका लागि ठूलाभन्दा पनि घरेलु र मझौला उद्योगको विकास गर्नुपर्छ । चितवनका सरोकारवाला सबैको सहभागितामा निर्माण गरिएको अर्को चितवन उपत्यकाको गुरुयोजनाको लक्ष्य पनि यस्तै छ । यी दुवै योजना निर्माणमा मैले धेरै समय खर्च गरेको छु ।
यी योजनाको कार्यान्वयन कसरी हुन्छ ?
देशको आर्थिक समृद्धिका लागि हामी सबै मिलेर यिनको कार्यान्वयनमा लाग्नुपर्छ । अहिले चितवनमा पोल्ट्री व्यवसायको राम्रो विकास भएको छ । यहाँ माछा, मह, केरा तथा तरकारी उत्पादनको राम्रो सम्भावना छ । पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सम्भावना भएर पनि अपेक्षाकृत विकास हुन सकेको छैन । यसतर्फ लगानी वृद्धि गर्दै गुणस्तरीय सेवा दिन सक्नुपर्छ । सरकारको २० वर्षे कृषि रणनीति समितिमा म पनि छु । त्यस्तै, चितवन उपत्यकाको गुरुयोजना निर्माणका क्रममा कृषि समितिको संयोजक थिएँ । त्यसैले यी दुवै योजना तथा रणनीतिको उचित तरीकाले कार्यान्वयन गर्नमा मेरो भूमिका हुनेछ ।
गुणस्तरीय वस्तु तथा सेवाका लागि चितवनका उद्योगी–व्यवसायीहरूको भूमिका कस्तो छ ?
आर्थिक समृद्धिको महइभ्वपूर्ण पाटा गुणस्तरीय उत्पादन वृद्धि गर्नु हो । विस्तारै यसतर्फ उद्योगी–व्यवसायीले ध्यान दिन थालेका छन् । अब पनि उत्पादनमा गुणस्तरीयता नल्याउने हो भने दुई ठूला छिमेकी मुलुकका बीचमा बसेर प्रतिस्पर्धा गर्न हामीलाई धेरै गाह्रो छ । विदेशीलाई नेपाली उत्पादन गुणस्तरीय छ भन्ने देखाउनका लागि पनि अब हामी अन्तरराष्ट्रिय गुणस्तर मापदण्डमा जानु आवश्यक छ । मेरो हकमा भन्ने हो भने पञ्चरत्न फिड्सले २ वर्षअघि र पञ्चरत्न ≈याचरीले यसै वर्ष आईएसओ ९००१:२००८ मान्यता प्राप्त गरेको छ । विदेशीलाई नेपाल आउ“दा उतैबाट खाना लिएर आउने वातावरण नहोस् भन्नका लागि अन्य व्यवसायीले पनि यसतर्फ ध्यान दिनु आवश्यक छ ।
उद्योग वाणिज्य सङ्घ चितवनमा तपाईंको नेतृत्व किन आवश्यक रहेको महसूस गर्नुभयो ?
जिल्लाको आर्थिक विकासका लागि लामो समयदेखि लाग्दै आएको छु । मेरो आफ्नै संलग्नतामा आर्थिक समृद्धिको योजना तयार भएको छ । त्यसो हुँदा सङ्घको नेतृत्वमा रहेर यसमा थप योगदान दिन सक्छु कि भन्ने मेरो विचार छ । हामी आर्थिक क्षेत्रको विकास भन्दै हिँडेका छौं । तर, देशमा अहिलेसम्म उद्योग नीति बन्न सकेको छैन । पोल्ट्री नीति केही समयअघि बन्यो, तर कार्यान्वयनमा आएको छैन । यी त उदाहरण मात्र हुन् । म सङ्घको नेतृत्वमा पुगेर नीति निर्माणमा सरकारलाई दबाब र सुझाव दिन चहान्छु । यस्तै, उद्योग वाणिज्य सङ्घको गरिमालाई थप उचाइमा पुर्याउने अठोट लिएको छु । सङ्घमा सबैको प्रतिनिधित्व गराउने, व्यवसायीको हकहितका लागि लड्ने र सचिवालयलाई अझ व्यवस्थित बनाउने मेरो लक्ष्य छ । चितवनको मुग्लिङ, सौराहा, मेघौली (पर्सा) र माडीमा सङ्घको इकाइ गठन गर्ने योजना छ । सङ्घको सम्पूर्ण कामको जिम्मेवारी सचिवालयलाई दिने योजना छ । त्यसो हुँदा स्वायत्त र सुदृढ सचिवालय निर्माण हुन्छ र पदाधिकारीले नीतिगत समस्या समाधानमा बढी ध्यान दिन सक्छन् । त्यसो हुँदा सङ्घ अझ व्यवस्थित हुन सक्छ ।
५२ वर्षमा उद्योग–वाणिज्य सङघले आर्जन गरेको सफलतालाई निरन्तरता दिन के चुनौती देख्नुहुन्छ ?
हामी व्यापार सङ्घ, नारायणगढदेखि उद्योग वाणिज्य सङ्घ नारायणगढ हुदै उद्योग वाणिज्य सङ्घ चितवनसम्म आइपुगेका छौं । यस अवधिमा अग्रजहरूले धेरै दुःख गर्नुभएको छ । सङ्घले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा ख्याति कमाएको पनि छ । यसलाई निरन्तरता दिँदै अघि बढ्न निश्चय पनि चुनौती छन् । देशको प्रतिकूल राजनीतिका कारण पनि चुनौती थपिएका छन् । तर, यसलाई परिवर्तन गर्ने हामीले नै हो । तर, आर्थिक र सामाजिक क्षेत्रको समृद्धिका लागि दृढ विश्वासका साथ अघि बढ्न सक्ने हो भने सफलता हात पार्न सकिन्छ । म यसमा दृढ छु ।