शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''घडीको व्यापार सन्तोषजनक छैन'' - कोशलेन्द्रपुरुष ढकाल
प्रबन्धक, टाइम प्वाइण्ट प्रालि
(सिटिजन ब्राण्डको आधिकारिक विक्रेता)

सिटिजन ब्राण्डका के कस्ता घडी उपलब्ध छन् ?
ग्राहकको मागअनुसार नै बजारमा घडीको खरीद विक्री हुन्छ । अहिले समय हेर्न मात्रै घडीको प्रयोग नभएर आफ्नो व्यक्तित्व झल्कने सुहाउँदो मोडल खोजेको पाइन्छ । सिटिजन ब्राण्डका घडी अहिले साढे ४ हजारदेखि ४० हजार रुपैयाँसम्मका मोडलमा उपलब्ध छन् । साधारण नेपाली ग्राहकले ४/५ हजार रुपैयाँका घडी नै खरीद गर्छन् । १५/२० हजार रुपैयाँ पर्ने घडी कमै मात्र विक्री हुन्छन् । घडीको मूल्य जति महँगो हुन्छ त्यति नै ग्राहक पनि कम हुन्छन् । सिटिजन जापानी ब्राण्डेड घडी हो । समग्रमा सिटिजन ब्राण्डलाई एक विश्वासिलो र भरपर्दो घडीका रूपमा लिन सकिन्छ । पैसा र पकेटले जतिको सामान किन्ने क्षमता राख्छ, त्यहीअनुसार ग्राहकले सामान खरीद गर्ने हुन् । यस्ता सामानको खरीदमा हामीले भ्याट बिल र ग्यारेण्टी कार्ड दिने गर्र्छौं ।

यहाँहरूले विक्री गर्ने ब्राण्डको बजार कस्तो छ ?
सामान्यतया सिटिजन ब्राण्डका घडी ग्राहकले मन पराएकै छन् । यसकै मूल्य मिल्दाजुल्दा घडी अरू ब्राण्डमा पनि उपलब्ध भइरहेकाले ग्राहकहरू त्यता पट्टि पनि मोडिने गरेको देखिएको छ ।

घडी बिग्रिएमा प्रयोगकर्ताले स्पेयर पार्ट्सका लागि कत्तिको दुःख पाउँछन् ?
हामीले स्पेयर पार्ट्स सहज होस् भनेर सर्भिस सेण्टर पनि खोलेका छौं । यहाँबाट आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराइन्छ । बजारमा पाइने सबै स्पेयर पार्ट्स सक्कली नहुन पनि सक्छन् । कुनै किसिमको घडीबाट मिल्दोजुल्दो स्पेयर पार्ट्स ल्याएर हाल्ने प्रचलन पनि छ । यसको सक्कली पार्ट्सका लागि शोरूममै आउनुपर्ने हुन्छ । सिटिजन ब्राण्डमा हामीले क्वार्ज र अटोमेटिक घडीमा १ वर्षको वारेण्टी दिएका छौं । इको ड्राइभ घडीमा भने ३ वर्ष३ महीना ३ दिनको वारेण्टी छ । विक्री भएका घडीमा वारेण्टी समयभित्र कुनै समस्या आए ग्राहकलाई निःशुल्क सेवा दिन्छौं ।

तपाईंहरूले के कस्ता सुविधा उपलब्ध गराउनु हुन्छ ?
ग्राहकले घडी खरीद गरिसकेपछि भोलि बिग्रिएमा बनाउन कहाँ जाने सोचिसकेका हुन्छन् । यहाँ जहिले पनि ओरिजिनल घडी मात्रै पाइन्छन् । शोरूमका घडीमा ग्यारेण्टी कार्ड दिइन्छ, त्यसैले कुनै शङका गर्नु पर्दैन । यसले गर्दा ग्राहकले विश्वास गर्ने ठाउँ प्रशस्त देखिन्छ । कुनस्तरको ग्राहक हो र उसलाई कस्तो किसिमको घडी आवश्यक परेको छ, त्यहीअनुसार घडीको विक्रीमा असर पर्ने हो । सिटिजन ब्राण्डका घडीहरू प्रायः गरेर विभिन्न डिपार्टमेण्ट स्टोर्समा पनि पाउन सकिन्छ ।

ब्राण्डेड घडीको बजारलाई कसरी लिन सकिन्छ ?
अहिले समग्र घडीकै व्यापार त्यति राम्रो छैन । थुप्रै ब्राण्ड भएका कारण प्रतिस्पर्धा पनि बढ्दै गएको छ । नेपालमा घडीको बजार यति नै छ भन्न चाहिँ सकिने अवस्था छैन । घडी सबैलाई आवश्यक साधन हो । तर यसलाई कताकता मोबाइलले असर गरेको हो कि भन्ने  लाग्छ । अहिले त प्रायः सबैसँग मोबाइल छ । तथापि कतिपय मान्छेले एउटा घडी लगाउने परिपाटी अद्यापि छ । यस परिपाटीले पनि बजारलाई निरन्तरता दिएको जस्तो लाग्छ ।

यहाँको अनुभवमा बढी कस्ता मान्छेले खरिद गर्छन् ?
प्रायः गरेर सबैजसो मान्छेले एउटा घडी लगाएकै देखिन्छ । सिटिजन ब्राण्डका घडी चाहिँ मध्यमस्तरका ग्राहकले नै बढी लगाउँछन् । कुनै पनि सामान किन्नुअघि त्यसको विशेषता बुझ्नुपर्छ । घडीको व्यापार हरेक समय एकनासले हुँदैन । चाडपर्व र विवाहका अवसरमा सिटिजन ब्राण्डका घडीहरू बढी विक्री हुन्छन् । समग्रमा सबै ब्राण्डका घडी यही अवसरमा बढी विक्री हुने गर्छन् । वर्षातका बेला घडी विक्रीका लागि अफ सीजन मानिन्छ । यस्तो बेला घडी किन्न आउने मान्छे कमै हुन्छन् । समग्रमा घडीको व्यापारलाई राम्रो मान्न सकिन्न ।

घडीको व्यापारलाई लिएर व्यवसायीबीच कस्तो प्रतिस्पर्धा छ ?
एउटै लेबलमा गइयो भने मात्रै प्रतिस्पर्धा हुने हो । सिटिजनले ओमेगासँग प्रतिस्पर्धा गर्न मिल्दैन । लेबल मिल्ने ब्राण्डसँग प्रतिस्पर्धा त भइहाल्छ ।

बजारमा देखिने नक्कली घडीले ब्राण्डेड घडीको व्यापारमा असर पारेको हो ?
बजारमा नक्कली सामान थुप्रै पाउन सकिन्छ । यसलाई ग्राहकले छुट्याउन सक्दैनन् । जबसम्म घडी खोलेर हेरिँदैन, तबसम्म नक्कली भनेर छुट्टयाउन पनि सकिँदैन । साधारण ग्राहकलाई शोरूममा घडी महँगो हुन्छ भन्ने भान पर्न गएको छ । यसले गर्दा उनीहरू खुद्रा पसलमा जाने गर्छन् । तर त्यस्ता ग्राहकले सबैभन्दा ठूलो धोका पाउँछन् । महँगोभन्दा पनि ओरिजिनल घडीमा ग्राहकले ध्यान दिन सक्नुपर्छ ।

घडीलाई विलासी सामानमा पनि जोडिन्छ नि ?
बढी मूल्य पर्ने घडीलाई विलासीमा जोडिनु स्वाभाविकै हो । अफ्नो आर्थिक अवस्थाअनुसार मान्छेले घडी किन्ने हो । १५ हजार रूपैयाँ मासिक कमाउने मान्छेले ५० हजार रुपैयाँको घडी किन्यो भने पो विलासी भन्न मिल्छ । कुनै सामान कसैका लागि विलासी हुन्छ भने कसैका लागि आवश्यक पनि हुन्छ ।

त्यसो भए, ग्राहकले सिटिजन घडी नै किन किन्ने त ?
सिटिजन ब्राण्डका घडी बिग्रिएमा मर्मतका लागि सर्भिस सेण्टरको व्यवस्था छ । जहाँबाट खरीद गरे पनि मर्मत गराउनका लागि सहज छ । अहिलेसम्म ग्राहकको विश्वासले नै सिटिजनका घडी विक्री भइरहेका छन् । एकले अर्कोलाई सेवाका बारेमा बताउने गरेको पाइन्छ । यसले पनि राम्रो भूमिका खेलेको छ । हाम्रा सबै घडी जापानमै एसेम्बल भएर आउँछन् । अहिलेको अवस्थामा राम्रा मानिएका कुनै पनि ब्राण्डेड घडी नेपालमा बन्दैनन् । यस्ता घडी ग्राहकलाई दिनुभन्दा पहिले एक पटक पनि खोलिएका हुँदैनन् ।