''सञ्चालन अनुमतिमा राजनीतिक हस्तक्षेप भएको छ'' - विष्णुहरि ढकाल
अध्यक्ष, ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल (बान)
अहिले नेपालमा एफएम रेडियोको व्यावसायिक अवस्था कस्तो छ ?
विचार र अभिव्यक्ति स्वतन्त्रताको तर्फबाट हेर्दा नेपालमा एफएम रेडियोको विकास अत्यन्त राम्रो तरीकाले भएको छ । विशेष गरी नेपालको ग्रामीण क्षेत्रमा सूचना प्रदान गर्नका लागि एफएम रेडियो उत्तम माध्यम भएको छ । एफएम रेडियोका कारण नेपाल मातृमृत्युदर कम गर्ने सवालमा विश्वमा पहिलो स्थानमा आएको छ भने मानव विकास सूचकाङ्कमा औँ स्थानमा रहेको छ । यो परिवर्तन मानिसहरूको चेतनामा आएको विकासका कारण सम्भव भएको हो । यस्तो चेतना फैलाउन एफएम रेडियोको महत्त्वपूर्ण भूमिका छ । यसको व्यावसायिक कुरा गर्नुपर्दा अहिले त्यति चित्तबुझ्दो अवस्था छैन ।
एफएम रेडियोको व्यावसायिक अवस्था चित्तबुझ्दो नहुनुको कारण के हो ?
रेडियो प्रसारण शुरुआतको अवस्थामा थोरै मात्र रेडियो स्टेशन थिए । त्यसैले, रेडियोका श्रोता र आर्थिक स्रोतको अवस्था पनि राम्रो थियो । तर, पछिल्लो समयमा रेडियो सञ्चालन अनुमति-पत्रसमेत राजनीतिक पहुँचको आधारमा पनि बाँड्न थालियो । जनआन्दोलनपछि यो क्रम बढ्दै गएको छ । त्यसले गर्दा रेडियोको सत्यतथ्य तथा वस्तुनिष्ठताप्रति काम गर्ने क्षमतामा ह्रास आएको महसूस भएको छ । यसले गर्दा पनि रेडियोको व्यावसायिकता धराशयी बन्दै गएको हो । अहिले कतिपय रेडियो स्टेशन बन्द हुने अवस्थामा पुगेका छन् । अहिले नेपालमा ४ सय २७ रेडियोले सञ्चालन अनुमति पाएकोमा सञ्चालनअगावै ६३ रेडियोको अनुमति पत्र खारेज पनि भएको छ ।
नेपालमा सञ्चालित रेडियो स्टेशनबीच प्रतिस्पर्धा कस्तो छ ?
सबै रेडियो स्टेशनको आआफ्नै विशेषता छ । नेपालमा अहिलेसम्म धार्मिक, मनोरञ्जनात्मक, समाचारमूलक र समाचार तथा मनोरञ्जनात्मक गरी विभिन्न क्षेत्रलाई आधार मानेर रेडियो स्टेशनहरू सञ्चालन भइरहेका छन् । त्यसैले, रेडियोको प्रस्तुतिका विषयमा त्यस्तो कुनै प्रतिस्पर्धा छैन । तर, विज्ञापन पाउने कुरामा भने अस्वस्थ्य प्रतिस्पर्धा भएको छ । अहिले कम दरमै विज्ञापन प्रसारण गर्नेमा रेडियो स्टेशनबीच प्रतिस्पर्धा भइरहेको छ । यस्ता रेडियोबीच सूचना तथा विज्ञापन प्रसारणसम्बन्धी कुनै मापदण्ड छैन ।
अहिले एफएम रेडियोले छापामाध्यमको समाचारलाई आधार मानी प्रसारण गर्ने, तर स्रोत भने नखुलाउने गरेका छन् भनिन्छ नि ?
नेपालमा कमै मात्र रेडियो स्टेशनले आफ्नै स्रोतसाधनको उपयोग गरेर समाचार सङ्कलन तथा प्रसारण गरिरहेका छन् । अहिले राष्ट्रियस्तरको सञ्चारमाध्यममा काम गर्ने मोफसलका साथीहरू करीब ८० प्रतिशत स्थानीय रेडियोमा काम गरिरहेका छन् । त्यस्ता रेडियोले प्रसारण गरिसकेका समाचार पनि अहिले राष्ट्रिय छापामा आउने गरेका छन् । यसको श्रेय पनि सम्बन्धित रेडियोले पाउने गरेका छैनन् । तर, अहिले एशोसिएशनले यस्तो समस्याको समाधानका लागि पहल गरिरहेको छ । यसका लागि स्रोत गोप्य राख्ने अवस्थाबाहेक राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमले स्रोत खुलाउनु पर्ने विषयमा बहस चलाइरहेका छौँ ।
रेडियोकर्मीहरूको सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पनि नपाएको गुनासो सुनिन्छ नि ?
नेपालमा पत्रकारिता सिक्नका लागि एफएम रेडियो सजिलो माध्यम भएको छ । कतिपय आमसञ्चारका विद्यार्थीहरू सिक्नका लागि विनाशुल्क काम गर्ने सम्झौतामा आउँछन् । तर, पछि काम छाडेर जाँदा पारिश्रमिक नदिएको गुनासो गर्ने गरेको पनि पाएका छौँ । अहिले हाम्रो एशोसिएशनमा आबद्ध सबै रेडियोले न्यूनतम पारिश्रमिक उपलब्ध गराएका छन् । यदि, कुनै स्टेशनले त्यस्तो नगराएको भए हाम्रो संस्थामा खबर गर्नुहोला । हामी त्यस्तो समस्याको समाधान गर्नेछौं ।
नेपालमा एफएम रेडियो सञ्चालनमा कति लगानी भएको छ ?
नेपालमा २० लाखदेखि करोडौँ लगानी गर्ने रेडियो स्टेशन पनि छन् । अहिले २ सय ८५ रेडियो स्टेशन सञ्चालनमा छन् । यिनीहरूको सरदर लगानी करीब ७० लाख रुपैयाँ रहेको छ । नेपालमा ३ अर्बभन्दा बढीको लगानी एफएम रेडियोमा भएको छ ।
एफएम रेडियोको वार्षिक कारोबार कति हुन्छ ?
अहिले सरदरमा एउटा रेडियोले ३० लाखको व्यवसाय गर्ने गरेको छ । सञ्चालित सबै रेडियोबाट करीब १ अर्ब रुपैयाँको कारोबार हुने अनुमान छ ।
रेडियो सञ्चालन गर्ने आर्थिक आधार के हो ?
एफएम रेडियो सञ्चालनको आधार विज्ञापन नै हो । प्रायः अन्तरराष्ट्रिय स्तरका कम्पनीहरूले ठूला सञ्चारमाध्यमलाई मात्र विज्ञापन दिने गरेको छन् । त्यस्ता कम्पनीको विज्ञापन स्थानीय रेडियोमा एक प्रतिशत पनि बज्दैन । रेडियोहरूले स्थानीय स्तरमा रहेका साना पसल उद्योग तथा स्थानीय निकायका सरकारी विज्ञापन तथा सूचनामा नै भर पर्नुपर्ने अवस्था छ ।
नेपालमा एफएम रेडियोको भविष्य कस्तो छ ?
अहिले धेरै रेडियो स्टेशनहरू नेटवर्किङका आधारमा पनि चलेका छन् । त्यसले गर्दा पहिलाको तुलनामा कर्मचारी कम भए पुग्ने भएको छ । यसले गर्दा सञ्चालन खर्च पनि घटेको छ । पहिला रेडियो सञ्चालन गर्नका लागि न्यूनतम ३०/४० जना कर्मचारी आवश्यक पर्दथ्यो । सञ्चालन खर्च धान्न पनि गाह्रो थियो । राजनीतिक परिवर्तनले पनि यसको भविष्य निर्धारण हुन्छ । मुलुकको नेतृत्व गर्नेहरूले यसको संवेदनशीलतालाई बुझेमा भविष्य राम्रो छ । तर, अहिलको अवस्थामा धेरै रेडियो सञ्चालकहरूमा निराशा बढेको देखिन्छ ।