शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Jan 17, 2012
  

नाष्टले नेपालकै नमूना ल्याब बनाउँदैछ



ईश्वरप्रसाद खनाल
प्रमुख, विज्ञान सङ्काय
नेपाल विज्ञान तथा प्रज्ञाप्रतिष्ठान (नास्ट)


आमनेपालीलाई परीक्षण प्रयोगशाला (टेष्टिङ ल्याब)का बारेमा कत्तिको जानकारी छ ?

ल्याब भन्ने बित्तिकै मानिसले मेडिकल ल्याब भन्ने बुझ्छन् । तर, यस्ता ल्याबले हावा, पानी, खाद्यपदार्थ, माटोलगायत सबै प्रकारका वस्तुको परीक्षण गर्छ । अहिलेका मानिस स्वास्थ्यप्रति जागरुक भइसकेका छन् । त्यसकारण पनि घरमा बोरिङ वा इनार खन्दा पनि पानी परीक्षण गर्न थालेका छन् । त्यस्तै परीक्षण गरिएको पानीको उपचार विधिसम्बन्धी जानकारी पनि लिन थालेका छन् । फलस्वरूप एकातिर सरकारी तथा निजीस्तरबाट यस्ता ल्याबहरू खुल्ने क्रम बढिरहेको छ भने अर्कोतर्फ सर्वसाधारणले पनि यसबारेमा बुझ्न थालेका छन् ।

नेपालमा रहेका टेष्टिङ ल्याबहरू अन्तरराष्ट्रिय मापदण्डअनुसार सञ्चालन भइरहेका छन् त ?

सबै पूर्वाधार तयार हुन समय लाग्छ । अहिले हामी पूर्वाधार तयारीका क्रममा नै छ । कतिपय पूर्वाधार तयार पनि भइसकेका छन् । आवश्यक उपकरणहरू भित्रिने क्रम छन् । नेपालमा सबै किसिमका परीक्षण हुने गरेका छन् । राष्ट्रियस्तरबाट हुने परीक्षण सबैले मान्ने गरेका पनि छन् । परीक्षणलाई मान्ने या नमान्ने भन्नेमा अन्तरराष्ट्रिय जगत्ले नेपाललाई कस्तो नजरले हेरेको छ भन्नेमा पनि भर पर्छ । तर, हामीले गर्ने परीक्षण गुणस्तरीय छ, त्यसमा शङ्का गर्नुपर्ने कुनै ठाउँ छैन ।

नाष्टले विशेष गरी के कस्ता वस्तुको परीक्षण गर्छ ?

नाष्टले सबै किसिमका वस्तुको परीक्षण गर्छ । यहाँ सरकार र आमउपभोक्ताका लागि आवश्यक हरेक वस्तुको परीक्षण हुन्छ । कुनै पनि विवादित वस्तुका विषयमा यहाँको परीक्षणलाई नेपाल सरकारले आधिकारिक मान्ने गरेको छ । कुनै पनि वस्तु परीक्षण गर्ने यो अन्तिम र निर्णायक स्थल हो । नाष्टले विशेष गरी भूमिगत तथा सतही पानी, पिउने पानी, दूध तथा दुग्धपदार्थलगायत परीक्षण गर्दै आएको छ । त्यस्तै हामी विकिरण पनि मापन गर्छौं । विकिरण मापन खाद्य उत्पादनमा हुने गर्छ । प्राकृतिक उत्पादनअन्तर्गतका वस्तुहरूको पनि परीक्षण हुन्छ । कतिपय उत्पादन सक्कली र नक्कली छुट्ट्याउन पनि परीक्षण गर्नुपर्ने हुन्छ । जस्तै, यार्सागुम्बा, रक्सी तथा पेट्रोलजस्ता तरल पदार्थ आदिमा हुने मिसावट परीक्षणविना थाहा पाउन सकिँदैन । हामीले अहिले पीसीआर प्रविधिबाट सुन्तलाको ह्रास (एचएलबी) रोगको पनि परीक्षण गरिरहेका छौं ।

नेपालमा ल्याबका लागि आवश्यक दक्ष जनशक्तिको उपलब्धता कस्तो छ ?

नेपाली वैज्ञानिकहरू पनि अन्तरराष्ट्रिय स्तरका भइसकेका छन् । तर, त्यस्ता जनशक्तिको सदुपयोग हुन नसक्दा विदेश पलायन हुने क्रम बढेको छ । विदेशबाट अध्ययन गरेर आउने तथा यहीँ उत्पादन भएका वैज्ञानिकको सङ्ख्या पनि बढ्दै गएको छ । तर, एकातिर मुलुकमा उद्योगधन्दा फष्टाउन सकेको अवस्था छैन । अर्कोतर्फ सरकारले पनि योग्यताअनुसार रोजगारी दिन सकेन । यसकारण हामीकहाँ भएका प्रतिभा पलायन भइरहेको अवस्था छ । हामीले एउटा सानो कार्यक्रममार्फत १ वर्षसम्म आठ जना विद्यावारिधि गर्नेहरूलाई रोजगारी दिने गरेका छौं । नाष्टमै पनि अहिले करीब २० जना विद्यावारिधि गरेका वैज्ञानिक कार्यरत छन् । त्यस्तै नेपालका प्राज्ञहरू पनि सबै ख्यातिप्राप्त वैज्ञानिकहरू नै छन् ।

नाष्टले के कस्ता नयाँ योजना बनाएको छ ?

सरकारको सहयोगमै नाष्टले नेपालकै नमूना ल्याब बनाउने सोच बनाएको छ । उक्त ल्याबको प्रयोग सम्बन्धित सबै संस्थाले गर्न पाउने छन् । हाल करीब ८ करोड रुपैयाँबराबरको नयाँ उपकरण पनि ल्याउने तयारी भइरहेको छ । नयाँ उपकरण खरीद गर्न हामीले नेपाल सरकारबाट बजेट पाएका छौं । तर, अहिले विद्युत् आपूर्ति सहज नहुँदा भने निकै अप्ठ्यारो भइरहेको छ । अहिलेको मुख्य समस्या नै लोडशेडिङ हो । सरकारले तोकेको बजेट परिधिभित्र रहेर काम गर्नुपर्ने हुँदा विविध किसिमका समस्या त आइनै रहन्छन् । तर, समयसापेक्ष सामान्य समस्या भने समाधान हुँदै जान्छ र गएका पनि छन् ।

ल्याब परीक्षण कत्तिको महँगो हुन्छ ?

ल्याबमा प्रयोग गर्ने रसायनिक पदार्थहरू महँगा हुन्छन् । त्यस्तै आवश्यक उपकरण पनि महँगो नै हुन्छ । त्यसकारण परीक्षण केही महँगो नै हुन जान्छ । तर, तुलनात्मक रूपमा हेर्ने हो भने अन्य स्थानभन्दा नाष्टले गर्ने परीक्षण सस्तो नै छ । प्रयोग हुने रसायनअनुसार शुल्क निर्धारण हुने हुँदा यति नै पर्छ भन्न भने सकिँदैन ।

निजी व्यावसायिक संस्थाहरूबाट परीक्षणका लागि कत्तिको आउँछन् ?

ठूला उद्योगहरूको मान्यताप्राप्त आफ्नै टेष्टिङ ल्याब हुन्छन् । विवाद भएको अवस्थामा भने उनीहरू पनि परीक्षणका लागि आउने गर्छन् । सामान्य अवस्थामा भने आफ्नै ल्याबमा परीक्षण गर्छन् । पानी उत्पादन गर्ने कम्पनीहरू भने नियमित रूपमा परीक्षणका लागि आइरहेका हुन्छन् ।

नाष्ट र निजी उद्योगी–व्यवसायीहरूबीचको सम्बन्ध कस्तो छ ?

नाष्टले निजी व्यवसायीहरूसँग समन्वय र सहकार्य गरी काम गरिरहेको छ । उद्योग व्यवसायमा नयाँनयाँ प्रविधिको आवश्यकता पर्छ । त्यसका लागि नाष्टले सहयोग गर्दै आएको छ । त्यसैले पनि नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्षलाई नाष्टको पदेन सदस्य राखिएको हुन्छ । तर, हुनुपर्ने जस्तो सहकार्य भने हुन सकेको छैन ।