दूधको उत्पादन र माग सन्तुलन हुन सकेको छैन

सियारामप्रसाद सिंह
महाप्रबन्धक, दुग्ध विकास संस्थान
बजारमा थुप्रै कम्पनीका उत्पादनहरूको उपस्थिति छ। जब कुनै निश्चित क्षेत्रमा एकभन्दा बढी व्यवसायीको सहभागिता हुन्छ, त्यहाँ प्रतिस्पर्धा पनि शुरू हुन्छ । तर, दुग्ध व्यवसायको प्रतिस्पर्धा सामान्य छ। दुग्ध उत्पादनको माग बढ्दै गए पनि यसको ठीक विपरीत उत्पादन भने घट्दै गएको छ। विशेष गरी गाउँघरमा उत्पादन घटेको छ, तर शहरमा भने माग बढेको छ। यसले गर्दा उद्योगहरूले क्षमताअनुसार दूध पाइरहेका छैनन् । दूधले हानि गर्दैन, त्यसैले पनि डेरीका उत्पादनप्रति मानिसहरूको अभिरुचि बढ्दै गएको हो।
नेपालमा दुग्धजन्य पदार्थको माग निरन्तर बढिरहेको छ । त्यसमा पनि दूध र पनिरको माग उच्च छ । चीज, आइसक्रीमलगायत वस्तु स्वदेशी उत्पादनले नपुगेर बाहिरबाट पनि ल्याउने गरिएको छ । पछिल्लो समय नेपालमा ठूलो परिमाणमा पाउडर दूध उत्पादन गर्नसक्ने उद्योगहरू पनि आएका छन् । नेपालमा वार्षिक झण्डै ९ अर्ब रुपैयाँको दुग्धजन्य उत्पादनको कारोबार हुन्छ । यसमा डीडीसीका उत्पादनको बजारहिस्सा करीब ४० प्रतिशत छ । तरल दूधको हकमा यसको ५० प्रतिशत उपस्थिति छ ।
दुग्ध उत्पादनको माग बढ्दै गए पनि यसको ठीक विपरीत उत्पादन भने घट्दै गएको छ । विशेष गरी गाउँघरमा उत्पादन घटेको छ, तर शहरमा भने माग बढेको छ । यसले गर्दा उद्योगहरूले क्षमताअनुसार दूध पाइरहेका छैनन् । दूधले हानि गर्दैन, त्यसैले पनि डेरीका उत्पादनप्रति मानिसहरूको अभिरुचि बढ्दै गएको हो । साथै बढ्दो शहरीकरणले गर्दा यस्ता उत्पादनको माग बढेको छ । पछिल्लो समय मानिसको आर्थिक हैसियत पनि बढेको छ । यस्ता सामानको माग बढाउनमा रेमिट्यान्सको महइभ्वपूर्ण भूमिका छ । मानिसहरू गाईभैंसी पाल्नुभन्दा तयारी अवस्थाका दुग्धजन्य उत्पादन किनेर खान मन पराउने भएकाले दुग्ध उत्पादनको माग बढेको हो ।
बजारमा थुप्रै कम्पनीका उत्पादनहरूको उपस्थिति छ । जब कुनै निश्चित क्षेत्रमा एकभन्दा बढी व्यवसायीको सहभागिता हुन्छ, त्यहाँ प्रतिस्पर्धा पनि शुरू हुन्छ । तर, दुग्ध व्यवसायको प्रतिस्पर्धा सामान्य छ । दुग्ध विकास संस्थानले जति उत्पादन गर्छ, ती सबै विक्री भएका छन् । हाम्रो क्षमता निश्चित छ, तर काठमाडौंमा हामीले क्षमताभन्दा बढी उत्पादन गरिरहेका छौं । काडमाडौंको तुलनामा बाहिरका शहरमा केही बढी प्रतिस्पर्धा छ । हेटौंडा, भरतपुर, वीरगञ्ज, विराटनगर, धरानलगायत शहरमा निजीक्षेत्रले उत्पादन गरेका सामान बढी विक्री हुने गरेका छन् । उनीहरूको प्लाण्टको क्षमता बढी र हाम्रो कम भएकाले यस्तो भएको हो । कतिपय ठाउँमा गुणस्तरको समस्या छ । दुग्ध विकास संस्थान सरकारी निकाय भएकाले हामी गुणस्तर कायम राख्न कटिबद्ध छौं । केही कम्पनीले उत्पादन गरेका सामानको गुणस्तरमा समस्या देखिएको छ । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागलाई अहिलेको परिस्थितिले गर्दा तराई क्षेत्रमा अनुगमन गर्न अप्ठ्यारो भएकाले पनि यस्तो भएको हुन सक्छ । क्षमता विस्तारका लागि संस्थानले दुईओटा काम गर्न लागेको छ ।
काठमाडौं दूध वितरण आयोजनाअन्तर्गत बालाजुमा रहेको कारखानाको १ लाख लिटर दूध प्रशोधन गर्ने क्षमता छ । यसलाई बढाएर २ लाख लिटर क्षमता पुर्याउने तयारी भइरहेको छ । यसका लागि आवश्यक उपकरण खरीद प्रक्रियामा छ । त्यस्तै खुमलटारमा पनि दूधबाहेकका पदार्थको उत्पादन गर्ने प्लाण्ट बनाउन लागेका छौं । खुमलटारको प्लाण्टको क्षमता एक दिनमा ३० हजार लिटर दही, ३ हजार लिटर आइसक्रीम र १ हजार किलो पनिर उत्पादन गर्न सक्ने हुनेछ । यो प्लाण्टमा अन्तरराष्ट्रिय स्तरको प्रणालीको व्यवस्था गर्ने सोच बनाएका छौं । नेपालमा मागअनुसारको दूध उत्पादन नभएका कारण हामीले भारतको पटना डेरी प्रोजेक्टसँग सम्झौता गरेर तरल दूध ल्याइरहेका छांै । उक्त कम्पनीले हामीलाई प्रतिदिन २५ हजारदेखि ५० हजार लिटरसम्म दूध उपलब्ध गराउँदै आएको छ । पाउडर दूध ल्याउँदा महँगो पर्ने र गुणस्तरको पनि ग्यारेण्टी नहुने हुँदा तरल दूध आयात गरिएको हो । पाउडर दूध खरीदप्रक्रिया एकदमै झञ्झटिलो पनि छ । हामीले तरल दूध ल्याएर केही मात्रामा पाउडर दूध पनि उत्पादन गरिरहेका छौं ।
दूधको अभाव कम गर्न हामीले गाईमाई कार्यक्रम सञ्चालन गरेका छौं । यो नेपाल सरकारबाट स्वीकृत कार्यक्रम हो । यसमा गाई किन्दा लाग्ने रकमको ब्याजमा ४ दशमलव ५ प्रतिशत सरकारको तर्फबाट अनुदान प्राप्त हुन्छ । यस कार्यक्रममा महिलालाई मात्र स्वामित्व दिइन्छ । यो कार्यक्रममा महिलाबाहेक अरू सहभागी हुन पाउँदैनन् । यसअन्तर्गत गाई र सम्बन्धित महिलाको बीमा गरिएको हुन्छ । यसरी गरिएको बीमाको ५० प्रतिशत प्रिमियम बीमा संस्थानले तिर्छ । यो कार्यक्रम अहिले मकवानपुर, बारा, रौतहट, सर्लाही, धनुषा, सिराहा, सप्तरीलगायत जिल्लामा सञ्चालन भएको छ । यस कार्यक्रमअन्तर्गत एउटा गाईबाट वार्षिक १ हजार लिटर दूधको अपेक्षा गरिएको छ ।