शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?

Posted on: Feb 19, 2012
  

केरा र माछामा मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ

चितवनमा व्यावसायिक केरा खेती शुरू गर्ने पहिलो व्यक्तिका रूपमा तपार्इंका अनुभव बताइदिनुहोस् न ?

केरा खेती नगदे बालीका रूपमा पनि गर्न सकिन्छ भन्ने सोचका साथ मैले शुरू गरेको हुं । विसं २०५१ सालमा केरा खेती शुरू गर्ने म नितान्त एक्लो किसान थिएँ । करीब १६ बिगाह जमीन भाडामा लिएर मैले केराको व्यावसायिक खेती शुरू गरेको थिएँ । त्यतिखेर छरछिमेकीले यति धेरै केरा उत्पादनलाई बजार अभाव हुन्छ पनि भनेका थिए । त्यतिबेला अहिलेको जस्तो बजार विस्तार भइसकेको थिएन । फलफूल खानु पर्छ भन्ने मानसिकताको विकास भइसकेको थिएन । स्थानीय बजारमा सम्पूर्ण उत्पादन खपत हुंदैनथ्यो । मेरो एक्लो खेतीबाट ट्रक लाई ‘ट्रिप ’ नपुग्ने हुंदा बाहिरी बजारमा केरा पठाउन पनि समस्या पर्‍थ्यो । फल चोरी हुने र बिरुवा गाईवस्तुले खाइदिने त सामान्य नै थियो । विस्तारै केराले राम्रो बजार पाउन थाल्यो र धेरै किसान यसतर्फ आकर्षित भएर खेती गर्न थाले । अहिले चितवनमा १ हजार बिगाहभन्दा बढी जमीनमा व्यावसायिक केरा खेती भइरहेको छ । धान, गहुं बाहेक व्यावसायिक रूपमा पहिलोमा कुखुरा, दोसा्रेमा केरा र तेस्रोमा मत्स्यपालनले चितवनको पहिचान बनाएको छ ।

व्यावसायिक केरा खेती गर्ने सोच चाहिं कसरी आयो ?

नवलपरासीको रजहरमा मेरो घर अगाडिको जग्गामा एक जना किसानले केरा खेती गरेका थिए । यसमा अन्य बालीको तुलनामा अलि सजिलो र आम्दानी पनि बढी हुने देखें । त्यही देखेर मलाई पनि जोश र जाँगर चल्यो । त्यहाँको भन्दा चितवनको माटो उपयुक्त हुने ठानेर यता आएर खेती शुरू गरेको हुं । अरू बालीमा भण्डारण गर्ने र थन्क्याउने झण्झट हुन्छ, घामपानीबाट जोगाउनु पर्ने हुन्छ । तर, केरालाई काटेर बजारमा काँचै बेच्न सकिन्छ । त्यसैले केराको व्यावसायिक खेती गर्ने सोचका साथ म अगाडि बढें । शुरूमा मैले १६ बिगाह जमीन भाडामा लिएर केरा खेती गरें । त्यसका लागि रू. १० लाख लगानी गरेको थिएँ । २ वर्षमै मेरो त्यो लगानी उठ्यो । चितवनमा अहिले पनि प्रतिवर्ष प्रतिबिगाहा ३५ देखि ४० हजार रुपैयाँमा केरा खेतीका लागि जग्गा भाडामा लेन देन भइरहेको छ । अहिले खेती गर्ने किसान पनि बढेका छन् । तर, त्यतिखेर चितवन जिल्लामै व्यावसायिक रूपमा केरा खेती गर्ने म एक्लो व्यक्ति थिएँ । त्यतिबेला कृषि विकास बैङ्कले मात्र कृषिमा लगानी गर्‍थ्यो । तर, ऋण लगानी गर्दा परियोजना स्थलको जग्गा नै धितो लिएर रोक्का राख्नुपर्ने बैङ्कको नियम थियो । अरूको जग्गा भाडामा लिएर खेती गर्न थालेकाले जग्गाधनीले जग्गा धितो राख्न स्वीकृति नदिएकाले मैले बैङ्कबाट ऋण लिन सकिनँ । साथीभाइ, छरछिमेक र आफन्तसँग सरसापट गरेर पैसाको जोहो गरें । तर, अहिले निजी बैङ्कहरू आएपछि व्यवसायीको उद्यमशीलतालाई हेरेर ऋण दिन थालेका छन् । आफ्नो अन्यत्रको सम्पत्ति धितो राखेर पनि भाडाको जग्गामा खेती गर्न बैङ्कहरूले ऋण दिन थाल्नु व्यावसायिक खेतीका निम्ति शुभसङ्केत हो ।

उत्पादनलाई बजारमा सजिलै पठाउन सक्नु हुन्थ्यो ?

शुरूमा त कठिन नै भयो । पछि प्रचारप्रसार भएपछि भने गाडीमा, बसको छतमा राखेर पनि चितवनभन्दा बाहिरका बजारमा पठाउने गर्थें । १ वर्षजति चाहिँ साहै्र झण्झट भयो । तर, त्यसपछि भने सहज हुंदै गयो । तपार्इंको अनुभवमा कुन जातको केरा सबैभन्दा राम्रो हो ? मैले खेती शुरू गर्दाका दिनमा हरिछाल जातको केरा लगाएको थिएँ । पछि यसैलाई सुधार गरेर विलियम हाइब्रिड भनियो । यो जातको केरा काटिसकेपछि टिकाउ नहुने भएर बजारमा त्यति लोकप्रिय भएन । त्यसपछि मैले मालभोग केरा लगाउन शुरू गरें । अहिले १९ बिगाह जमीनमा मैले मालभोग केरा मात्रै लगाएको छु । हरियो जातको केरा भदौ महीनामा पाक्छ भने मालभोग केरा फागुनबाट साउन– भदौसम्म रहन्छ । बेमौसममा उत्पादन हुने हुंदा रामा्रे मूल्य पाइन्छ । साथै, विकासे जातको केराको तुलनामा मालभोग केरा नै उपभोक्ताले बढी रुचाउने गरेका छन् ।

हरियो केरा र मालभोगमा के फरक छ ?

हरियो केरा चाहिँ ३ महीनामै सबै ठाउँमा पाकिसक्छ । भदौदेखि पुससम्म यसको सिजन हो । जाडो समयमा उत्पादन हुंदा बजारमूल्य पनि कम पाइने हुन्छ । तर, मालभोग केराको सिजन भनेको गर्मीयाममा शुरू हुने हुंदा बजार माग एकदमै बढेको हुन्छ । स्वादका लागि मात्र नभई औषधिका लागि पनि यो केरा खाने प्रचलन भएकाले मालभोग केरा उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

केरा खेतीको सम्भावना र यसको सबल तथा दुर्बल पक्षहरूका बारेमा सोच्नुभएको छ ?

चितवनमा भइरहेको जग्गा प्लटिङले खेतीका लागि ठूला प्लटहरू पाउन मुश्किल भयो । जग्गा टुक्राटुक्रा भए । खेती लगाइरहेको दशौं बिगाह जमीनसमते हामीले छोड्नु पयो । त्यही कारणले गर्दा जग्गाको उपलब्धता कम हुंदै गएको छ । अब चितवनमा व्यावसायिक कृषिका लागि प्रयोग गर्ने खालका जग्गाहरू अत्यन्तै न्यून मात्रामा रहेका छन् । २ वर्षभित्रमा यहाँको केरा खेती विस्थापित हुने अवस्थामा पुगिसकेको छ । सबैभन्दा महइभ्वपूर्ण कुरा, बालीबीमाको व्यवस्था अहिलेसम्म हुन सकेको छैन । केरा एकवर्षे बाली भएकाले सो समयभित्र आउने हावाहुरी , असिनापानीलगायतले यसलाई ठूलो समस्या पार्ने गरेको छ । बालीबीमाको व्यवस्था हुन सकेमा कमसेकम किसानको लागत उठ्न सक्ने अवस्था हुने थियो । यसबाट किसानलाई सुरक्षाको अनुभूति पनि हुन्थ्यो । यही कुराले केरा खेतीको विस्तारमा अहिले सबभन्दा अप्ठ्यारो पारेको छ । केही कुरामा सुधार हुने हो भने केरा खेतीले ठूलो सम्भावना बोकेको छ । व्यावसायिक खेतीका लागि सरकारले गुणस्तरीय मल उपलब्ध गराउने, अनुदानका कार्यक्रमहरू ल्याउने र ठोस कृषि नीतिका साथमा बीमाको व्यवस्था गर्न जरुरी छ । भूमि बाँझो राख्न नपाइने नियम लागू गरिनु पर्छ । काम गर्छु भन्ने मानिसलाई खेती गर्न दिनु पर्छ । त्यसो भयो भने विदेश बाट आयात भइरहेको करोडौं रुपैयाँबराबरको केरा हामीले आफ्नै माटोमा उत्पादन गर्न सक्छौं ।

केरामा कीटनाशक औषधिको प्रयोग कत्तिको गर्नुपर्छ ?

विषादीको प्रयोग त गर्नु पर्छ नै । तर, तरकारीमा जस्तो भने यसमा पटकपटक हालिरहनु पर्दैन । केराको घरी पसाउनुभन्दा अगाडि नै विषादी हालिन्छ । फल लागेको ३ महीनापछि मात्र केरा काटिन्छ । त्यसो हुंदा विषादीले केरालाई एकदमै न्यून मात्र असर गर्छ । केरा खेतीका लागि रासायनिक मलको भने अभाव हुने गरेको छ । त्यसैले पनि हामीले कुखुराको मललगायत प्राङ्गारिक मल प्रयोगमा जोड दिइरहेका छौं । रासायनिक मल महँगो हुनुका साथै गुणस्तरहीनसमेत हुने गर्छ ।

कामदारको समस्या छ कि छैन ?

कामदारको समस्याले गम्भीर रूप लिँदैछ । राष्ट्रिय रूपमै युवा वैदेशिक रोजगारउन्मुख भइरहेका छन् । ३०/३५ वर्षमुनिका मान्छेहरू यहाँ बस्नै चाहँदैनन् । ४० वर्षमाथिका मान्छेहरूलाई हामीले काम लगाइरहेका छौं । कामदारहरूको सङ्ख्या वर्षैपिच्छे घट्दै गइरहेको छ । त्यसैले खेती गर्ने प्रविधिमा परिवर्तन गरी यान्त्रीकरण गररे यो समस्याको न्यूनीकरण गर्ने प्रयास गरिरहेका छौं ।

केरा खेतीमा नया युवा व्यावसायिक रूपमा आएका उदाहरणहरू छैनन् ?

चितवन जिल्लामा हेर्ने हो भने त्यस्ता थुपै्र उदाहरण पाइन्छन् । विदेशबाट फर्केर केरा र तरकारी खेतीमा लागेका धेरै युवा छन् । तर, एकपटक विदेश हेरेर आउने लालसाले हो वा यहाँ सम्भावना नदेखेर हो, सबै युवा भने यसप्रति आकर्षित भइरहेका छैनन् । बेलाबेलामा हुने बन्दहडतालले केरा खेतीलाई एकदमै असर पु¥याइरहेको छ । गतवर्षका बन्दहरूमा त केरा बजार पठाउन नपाएर खेरनै गएको थियो । दशैतिहारको समयमा भारतलगायत अन्य देशहरूबाट केरा आएर पनि हाम्रो उत्पादनले बजार नपाउने समस्या पर्ने गरेको छ ।

कृषिसग सम्बन्धित सरकारी निकायहरूबाट कत्तिको सहयोग पाउनु भएको छ ?

किसानको लागत उठाउनका निम्ति उत्पादन बढाउने र रोग कीरामुक्त बनाउने आधुनिक प्रविधिको हामीलाई खाँचो छ । तर, हामीकहाँ सरकारी निकायबाट उपलब्ध भइरहेको कृषिप्रविधि वर्षौ पुरानो छ । छिमेकी राष्ट्र भारतले भने आधुनिक कृषि प्रविधि अपनाइरहेको छ । त्यसैले, हाम्रो कृषि उत्पादनले प्रतिस्पर्धा गर्न कठिन परिरहेको छ । त्यसकारण, राज्यले अब अत्याधुनिक कृषिप्रविधिसहितको जनशक्ति तयार गर्नु पर्छ । त्यसपछि मात्र यहाँका किसानले लाभ लिन सक्छन् ।

केराको विषयमा जान्नु पर्ने कुरा के के छन् ?

केरा भनेको फलका रूपमा मात्र खाने चिज हो भन्ने अहिलेसम्मको हाम्रो मान्यता छ । तर, केराबाट विविध परिकारका खाना तयार गर्न सकिन्छ । चितवनको रत्ननगर महोत्सवमा पनि केराका विभिन्न परिकारको स्टल राखिएको थियो । सो स्टलप्रति आममानिसको आकर्षण अत्यधिक भएको पाइयो । केराको बुङ्गाको अचार र तरकारी असाध्यै स्वस्थ्यकर र स्वादिलो हुन्छ । केराको वाइन, पकौडा, तरकारी, चप आदि बनाउन सकिन्छ र यस्ता कुराको सम्भावना पनि राम्रो छ । केराको मोमो, चिप्सलगायतका परिकारहरू होटलका मेनुमा राख्न उद्यागे वाणिज्य महासङ्घ मार्फत अनुरोध गर्ने योजना बनाएका छौं ।

नेपालका कुन कुन जिल्लामा व्यावसायिक केरा खेती भइरहेको छ ?

अहिले सबैभन्दा बढी केरा खेती भइरहेको त चितवनमै हो । चितवन जिल्लाको केरा उत्पादनले मुलुकको ६ महीनाको बजार माग धान्न सक्छ । सरकारी तथ्याङ्कअनुसार यहाँ १ हजार हेक्टरभन्दा धेरै जग्गामा केरा खेती भइरहेको छ । त्यसबाहेक नवलपरासी, रूपन्देही, मोरङ, झापा, सुनसरीलगायत पूर्वी तराईका जिल्लाहरूमा पनि अत्यधिक मात्रामा केरा उत्पादन हुने गरेको छ । भारतबाट आउने केराभन्दा हाम्रो केरा केही महँगो तर स्वास्थ्यवद्र्धक र स्वादिलो हुन्छ । यहाँको केरामा धेरै विषादी प्रयोग गरिएको हुंदैन र रासायनिक मल पनि कम राखिएको हुन्छ ।

केरा खेती गर्दागर्दै तपार्इंले माछापालन पनि शुरू गर्नु भएछ, किन ?

शुरूमा माछापालनलाई मैले शौखका रूपमा लिएको थिएँ । तर, पछि बुझ्दा त नेपालमा हुंदैन रुपैयाँको माछा विदेशबाट पो आयात भइरहेको रहेछ । अझ केरा खेतीभन्दा त माछापालन नै सजिलो लाग्यो र मैले ५ वर्षदेखि यो काम पनि गरिरहेको छु । केराको पात ग्रास कार्प भन्ने माछाको आहारा हो । यसरी आहाराको खर्च बच्ने र फाइदा लिन सकिने भएकाले यता लागेको हुँ ।

माछापालनको पाच वर्षे अनुभव कस्तो रह्यो त ?

अहिले मैले ६ प्रकारमा कार्प जातको माछा लगाइरहेको छु । २ वर्षदेखि भारतमा लोकप्रिय रहेको नेपाली बजारमा पाइए पनि उत्पादन भने नभएको पाङ्गासियस जात खोजेर ल्याएको छु । नेपालमा माछाको बजार त यति ठूलो रहेछ कि यो अवधिमा अनगिन्ति पैसा त्यसैमा बाहिर गइरहेको मैले बुझें । त्यसैले चितवनको रत्ननगर नगरपालिका–१३ मा अहिले डेढ बिगाह जलाशयमा माछापालन गरिरहेको छु । चितवनकै पर्सामा १० बिगाह जमीन भाडामा लिएर थप नयाँ पोखरी निर्माण गर्दै छु । राम्रो हेर विचार गरेको खण्डमा डेढ बिगाह जलाशयबाट प्रतिवर्ष ८० क्वीण्टल माछा उत्पादन गर्न सकिन्छ । नेपाली बजारमा यसको मूल्य १५ देखि १६ लाख रुपैयाँसम्म पर्न जान्छ । कार्प प्रजातिका ६ प्रकारका र अर्‍को पाङ्गासियस गरी सात प्रकारका माछा मैले पालेको छु । कार्प प्रजातिमा सिल्भर, कमन, ब्रिगेड, रहु, नैनी, ग्रास कार्प गरी ६ प्रकारका माछालाई मिश्रित रूपले पनि पालन गर्न सकिन्छ । पाङ्गासियस जातको माछा थोरै ठाउँमा पनि धेरै मात्रामा उत्पादन गर्न सकिन्छ ।


चितवनमा व्यावसायिक माछापालन गर्ने कृषक कति छन् ?

गतवर्ष नै चितवनमा ३ सय बिगाहभन्दा धेरै जग्गामा माछापोखरी रहेका थिए । तर, यसमा व्यावसायिक रूपमै पालन गर्नेहरूको सङ्ख्या भने १० प्रतिशत मात्र छ । पहिले जनकपुर माछाका लागि प्रख्यात थियो । तर, अहिले क्षेत्रफलका हिसाबले बारा र उत्पादनको आधारमा चितवन अगाडि रहेको नेपाल मत्स्य व्यवसायी सङ्घको अनुमान छ ।

नेपालमा माछाको उत्पादन र आयातको स्थिति कस्तो छ ?

त्यति धेरै उत्पादन गर्न त सकिरहेको अवस्था छैन । गतवर्षसम्म त चितवनको माछाले यहीँलाई पनि पुग्न सकिरहेको थिएन । यस वर्ष भने पोखरी सङ्ख्या पनि बढ्यो र उत्पादन पनि बढेकाले काठमाडौं र पोखरासमते पठाउन शुरू गरेका छौं । चाडबाडको समयमा बाहेक कानूनी रूपले मासिक ३ देखि ४ करोड रुपैयाँबराबरको माछा बाहिरी मुलुकबाट भित्रिने सङ्घको अनुमान छ । गैरकानूनी रूपबाट पनि भारतबाट माछा भित्रिरहेको खबर हामीले पाएका छौं ।

विदेशबाट नेपालमा भित्रिने माछा कत्तिको गुणस्तरीय हुन्छन् ?

हाम्रो स्थानीय उत्पादनले बजार माग धान्न सकिरहेको छैन । भारतबाट १०/१२ दिनको अवधि लगाएर ल्याइएको बासी माछा नेपाली उपभोक्ताले खाइरहेका छन् र काठमाडौंका उपभोक्तालाई त त्यो गन्ध आउने बासी माछा नै ताजा माछा हो भन्ने भ्रम परिसकेको छ । नकुहियोस् भनेर एक प्रकारको रसायन (फर्मालिन)मा डुबाएर माछा ल्याउने गरेको हामीले पाएका छौं । यस्ता रसायनले मानव स्वास्थ्यलाई निश्चय पनि हानि गर्छ । हामीसँग प्रयोगशाला नभएकाले त्यसको मात्रा थाहा पाउन सकिएको छैन । फर्मालिन मिसाएको खबर आएपछि भारतीय व्यापारीहरूले अहिले अर्कै प्रकृतिको रसायनमा माछालाई डुबाएर नेपालमा ल्याउने गरेको बुझिएको छ । काठमाडौंको बजारमा जनकपुरको भनरे बेचिने सबै माछा भारतबाट नै ल्याइएका हुन् । भारतबाट आउने माछालाई अनिवार्य क्वारेण्टाइन चेक नगर्नाले पनि नेपाली उपभोक्ताले बासी माछा खानु परिरहेको छ । १५ दिनपछि आउने माछाको पनि एकैचोटि क्वारेण्टाइनले प्रमाणित गरिदिने गरेको हामीले थाहा पाएका छौं । नेपाली उपभोक्ताको स्वास्थ्यप्रति क्वारेण्टाइनको यो खेलबाड बन्द गरिनु पर्छ । जनकपुरको उत्पादनले त त्यहाँको बजारलाई पनि राम्ररी पुग्दैन । तर, अब विस्तारै नेपाली उत्पादनलाई बढाउँदै उपभोक्तालाई पनि सचेत गराउँदै लाने हाम्रो योजना छ । त्यसका लागि कस्तो माछा खान हुने र नहुने जानकारी दिन मत्स्य व्यवसायी सङ्घले तत्कालै शुरू गर्दै छ । आकारमा ठूला देखिने जति पनि माछा हुन्छन्, ती सबै भारतबाटै आएका हुन् । माछा किन्दा साना आकारका माछा किनेमा स्वदेशी र ताजा हुन्छन् भनेर हामीले उपभोक्ता सचेतना अभियानमा लाग्ने योजना बनाएका छौं ।

तर होटलहरूलाई त ठूलै माछा चाहिन्छ नि ?

त्यसका लागि हामीले देशमै ठूला जातका माछापालन शुरू गरिसकेका छौं । जिल्ला कृषि विकास कार्यालय र मत्स्य व्यवसायी सङ्घको पहलमा किसानलाई प्रशिक्षण दिने कार्यक्रम पनि बनिसकेको छ । १–२ वर्षभित्रमै ठूला माछा उत्पादन गरी बजारमा पुर्‍याउने छौं ।

माछापालनमा जोखिम कत्तिको छ ?

नेपालमा माछापालनका लागि प्राविधिक परामर्शको अत्यन्तै कमी छ । यद्यपि, सरकारले माछा मिशन कार्यक्रम पनि शुरू गरेको छ । तर, त्यो अत्यन्त अपर्याप्त छ । भारतको आधुनिक प्रविधि हामीले भियभयाउन सक्यौं भने माछाको उत्पादन बढ्नुका साथै जोखिम पनि कम हुने थियो । भारतको आन्ध्र प्रदेशलाई माछाको राजधानी भनिँदो रहेछ । त्यहाँ अत्यन्तै व्यवस्थित रूपले मत्स्यपालन गरिएको मैले हेरेर आएको छु । कतिपय देशमा जिउँदै माछालाई उपभोक्तासम्म  हामीले नेपालमा पनि शुरू गरेका छौं । स्टोरे ज ट्याङ्कमा माछा राखेर जिउँदै उपभोक्तासम्म पुर्‍याउने प्रविधिलाई हामी विस्तारै बढाउँदै छौं । यसबाहके आइसप्लाण्टको स्थापना हुनु जरुरी छ । जोखिम कम गर्न आइसप्लाण्ट र स्टोरेज ट्याङ्क निर्माणमा सहयोग दिने सरकारी नीति आवश्यक छ । पोखरी निर्माण र नयाँ प्रविधि भियभयाउने क्रममा पनि सरकारको सहयोग आवश्यक पर्छ । सरकारले अनुकूल नीति निर्माण गरेर किसानलाई प्रोत्साहन गर्ने हो भने केरा खेती र माछापालनमा नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ ।