वार्षिक घाटा उच्च हुने पानासोनिकको पूर्वानुमान
माघ २१, टोकियो (जापान) । जापानी बहुराष्ट्रिय कञ्जुमर इलेक्ट्रोनिक्स निर्माता पानासोनिकले मार्चमा अन्त्य हुने चालू आर्थिक वर्षमा अहिलेसम्मकै घाटा बेहोर्नुपर्ने अनुमान गरेको छ । कम्पनीका अनुसार चालू आवको कुल घाटा १० अर्ब २० करोड अमेरिकी डलरसम्म पुग्न सक्नेछ । जापानले बेहोरेको गतवर्षको प्राकृतिक तथा आणविक प्रकोप, येनको उच्च भाउ, थाइल्याण्डको विनाशकारी बाढीले उत्पादन तथा वितरण प्रणालीमाथि पारेको असरले घाटा बढाएको कम्पनीको भनाइ छ । त्यस्तै, अर्को जापानी कञ्जुमर इलेक्ट्रोनिक्स उत्पादक सान्योको खरीदमा भएको उच्च खर्चले पनि घाटा बढाउन योगदान गरेको कम्पनीको भनाइ छ ।
त्यसैगरी, विश्व अर्थतन्त्रमा देखिएको अनिश्चय र यूरोजोन ऋणसङ्कटले पनि कम्पनीका उत्पादनहरूको माग घटाएकाले गम्भीर आर्थिक क्षति बेहोर्नुपर्ने देखिएको जिकीर पानासोनिकको छ । अवस्थालाई सुधार्न यथासक्य प्रयत्न गरे पनि उत्पादनहरूको घट्दो विक्रीलाई भने नियन्त्रणमा ल्याउन नसकिएको कम्पनीले उल्लेख गरेको छ । ‘अवस्था एकदमै गम्भीर छ, हामीहरूले घाटाको घनत्व महसूस गरिसकेका छौं,’ कम्पनीका अध्यक्ष फुमिओ ओट्सुबोले भने । सन् २०१२ मा भने नाफाका लागि धेरै प्रयत्न गर्नुपर्ने जिम्मेवारी रहेको ओट्सुबोले उल्लेख गरे । आर्थिक विश्लेषकहरूले भने पानासोनिकले बेहोर्ने यो घाटा कुनै पनि गैरवित्तीय जापानी कम्पनीले अहिलेसम्म बेहोरेको आर्थिक क्षतिमध्येकै उच्च हुने बताएका छन् । विगत केही वर्षयता पानासोनिक कर्पोरेशनले नराम्रो आर्थिक क्षति बेहोर्दै आएको छ । केही महीना अघिमात्र मुडिजले उच्च ऋणभार थुप्रिएको पानासोनिकको क्रेडिट रेटिङ कटौती गरेको थियो । आर्थिक क्षतिकै कारण कम्पनीले २ वर्षभित्र १७ हजार कर्मचारी कटौती गर्ने घोषणा गरिसकेको छ । एजेन्सी