शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

प्रकृतिप्रेमी पाण्डे
प्रदीपजङ्ग पाण्डे
कार्यकारी अध्यक्ष
लोमस फर्मास्युटिकल्स्
प्रदीपजङ्ग पाण्डेका लागि काम पूजा हो, खुशी हो र संसार हो । त्यसैले उनी कामलाई नै सर्वोपरि ठान्छन् । कामलाई गुरुमन्त्र नै मान्ने उनी परिणाममुखी काममा विश्वास गर्छन् । 'कामबाट प्राप्त परिणामले आफूलाई मात्र होइन, परिवार, कर्मचारी र राष्ट्रलाई पनि सहयोग पुग्नुपर्छ,' उनी भन्छन् ।

करीब २८ वर्षेखि लोमस फर्मास्युटिकल्स् नामको औषधि उद्योग सञ्चालन गर्दै आएका पाण्डे सो कम्पनीका कार्यकारी अध्यक्ष हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घको उपाध्यक्षको जिम्मेवारी पनि सम्हाली रहेका पाण्डे फुर्सदको अधिकांश समय बजार व्यवस्थापन र गुणस्तरीय वस्तुको उत्पादन कसरी गर्न सकिन्छ भन्ने योजनामा खर्च गर्छन् । 'कामको सिलसिलामा भएका कमी-कमजोरीलाई सुधार्न र नयाँ कामका लागि आधार तयार गर्न फुर्सदको समयलाई सदुपयोग गर्छु, उनले भने । शुरूका दिनमा १७ ब्राण्डका औषधि उत्पादन गर्दै आएको लोमसले अहिले करीब २ सय ७० ब्राण्डका औषधि उत्पादन गर्दै आएको छ । सबै काममा एकैचोटि हात हाल्यो भने कुनैमा पनि सफलता प्राप्त गर्न सकिँदैन भन्ने पाण्डेले राम्ररी बुझेका छन् । त्यसैले एउटा काममा सफलता प्राप्त गरेपछि मात्र अर्कोमा हात हाल्नुपर्छ,' उनको सुझाव छ । व्यवसायमा तनमन दिने भएका कारण सफलता हासिल गर्दै गएको उनी बताउँछन् । पाण्डे कसमस सिमेण्ट उद्योगका अध्यक्ष र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका निर्देशक पनि हुन् ।

कामलाई बेवास्ता गर्ने मानिसले सफलता प्राप्त गर्न सक्दैन भन्ने कुरा पाण्डेले राम्ररी बुझेका छन् । उनी शनिवार र फुर्सदको समयमा परिवार र आफन्तको जमघटमा रम्न औधी मन पराउँछन् । महीनाको एक शनिवार उनी परिवारसँगै 'लञ्च वा डिनर' का लागि घरबाहिर निस्कने गर्छन् । शनिवारकै मौका पारेर उनी महीनामा दुइपटकसम्म 'फ्याक्ट्री'को अनुगमन गर्ने गर्छन् । महीनाको कम्तीमा पनि एक शनिवार भने उनको उद्घाटन, बैठक, भेलालगायतका कार्यमा बित्ने गर्छ । धर्मकर्म र अध्ययनमा पनि पाण्डे रुचि राख्छन् । नियमित शारीरिक व्यायाम गर्ने पाण्डे बिहानको खाना प्रायजसो परिवारसँग खान भ्याउँदैनन् । तर, बेलुकीको खान भने उनी परिवारसँगै बसेर खाने गर्छन् । 'विशेष कार्यक्रम परेको बाहेक अन्य समयमा म अनिवार्य ८ बजे घरमा पुग्छु,' पाण्डे भन्छन् । उनको नियमित अध्ययन गर्ने बानी छ । परिवारका सबै सदस्य सुतिसकेपछि अध्ययन गर्ने पाण्डे आर्थिक र व्यस्थापनका पुस्तकको अध्ययनमा बढी रुचि राख्छन् । शनिवारबाहेकका अधिकांश समय उनी कार्यालयमा नै बिताउँछन् । काम विशेषले बाहिर रहे पनि साँझ एकपटक कार्यालय छिरेर मात्र निवास फर्किने उनको गजबको बानी छ ।  

एशियाका जापान, चीन, भारत, पाकिस्तान, भुटान, बङ्गलादेशलगायत भ्रमण उनले गरिसकेका छन् । साथै, यूरोपका फ्रान्स, जर्मनी र अफ्रिकाका पनि थुप्रै मुलुकको भ्रमण पाण्डेले गरिसकेका छन् ।  उनी व्यावसायिक कामको सिलसिलामा वर्षमा तीनचार पटक घुमफिरका लागि विदेश भ्रमणमा निस्कने गर्छन् । पारिवारिक भ्रमण भने उनी वर्षा एकपटक मात्र गर्छन् । भारतको तिरुपति र बैङ्लोर उनी थुप्रैपटक पुगिसेका छन् । उनी घुमफिरकै लागि कश्मिर पुगेका छन् । नयाँ सोच र ऊर्जा दिने भएकाले व्यवसायीका लागि घुमफिर अनिवार्य भएको उनको ठहर छ । 'पारिवारका साथमा गरिने घुमफिरले पारिवारमा आत्मीयता र सद्भाव  बढाउन र व्यावसायिक भ्रमणले व्यवसायको विस्तारमा सहयोग गर्छ,' उनी भन्छन् । तनाव कम गर्न र विविध कुराको जानकारी हासिल गर्न पनि घुमफिरले सहयोग गर्ने उनी बताउँछन् ।  

हरियाली र एकान्त मन पराउने पाण्डे प्रकृत्रि्रेमी हुन् ।  उनी ट्रेकिङमा पनि उत्तिकै शौख राख्छन् । अन्नपूर्ण पदमार्गमा ट्रेकिङ गरिसकेका पाण्डेले मुगुको रारा र जुम्लाको भ्रमण मात्र होइन, लुम्बिनीको दर्शन पनि गरिसकेका छन् । नेपालको हरियाली, पहाड, पर्वत र हिमशृङ्खलाबाट उनी ज्यादै प्रभावित छन् । चितवनको सौराहाका साथै पोखरा र इलाम पनि पाण्डेले घुमेका ठाउँ हुन् । नेपाल प्रकृतिको वरदान भएर पनि यसलाई सदुपयोग गर्न नसकेकोमा भने पाण्डेलाई दुःख छ । महत्त्वकाङ्क्षी भावनाका कारण संस्कृति र संस्कारको विकासमा मानिसहरूले ध्यान पुर्याउन नसकेको उनको धारणा छ । नेपालमा पर्यटनको प्रशस्त सम्भावना देखेका छन् पाण्डेले । उनी भन्छन्, 'विदेशमा नेपालको प्रचार-प्रसार गर्न सक्ने हो र यहाँ आएका पर्यटकलाई राम्रो सेवा दिने हो भने केही वर्षमा नै मुलुक विकासको बाटोमा अगाडि बढ्नेछ ।'  
प्रस्तुति मोहन बास्तोला

Admin 2011-09-03