शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सम्पदा - ध्रुवसागर शर्मा/म्याग्दी

जैविक प्रदूषणको चपेटामा कालीगण्डकी
हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुको अंशका रूपमा पूजाआराधना गर्ने र विश्वमै दुर्लभ शालिग्राम शिला पाइने विश्वको एकमात्र नदी हो- कालीगण्डकी ।  अहिले यो नदी जैविक प्रदूषणको चपेटामा पर्न थालेको छ । कालीगण्डकी नदी हिमालयबाट हिउँ पग्लेर मुक्तिनाथको स्पर्श गर्दै विभिन्न खोला समेटी बग्दै आएको छ । बढ्दो शहरीकरण र जलवायु परिवर्तनका कारण कालीगण्डकी प्राकृतिक र मानवीय दुवैतर्फबाट प्रदूषित बन्दै गएको छ ।

जलवायु परिवर्तन र मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित भएको छ । यसले नदीको अस्तित्वसमेत खतरामा परेको वातावरणविद्हरूको भनाइ छ । तापक्रम वृद्धिसँगै हिमालको हिउँ पग्लने क्रम बढ्दै जाँदा कालीगण्डकीको बहावमा आएको परिवर्तनले नदी क्षेत्रवरपरको जमीन भासिँदै गएको छ । नदी अत्यधिक प्रदूषित भएपछि विगतमा कञ्चन र सफा देखिने कालीगण्डकीको पानी अहिले कालो, बाक्लो देखिनुका साथै गन्हाउन थालेको छ ।

उद्योग तथा कलकारखानाबाट निस्कने फोहोर मैला, रसायनयुक्त पानी र अनियन्त्रित रूपमा ढल मिसाउनाले कालीगण्डकी नदीको पानी अत्यधिक प्रदूषित बन्न गई पर्यावरणीय दृष्टिकोणले पनि यो नदीको अस्तित्व खतरामा पर्न थालेको छ ।

दामोदरकुण्डदेखि मुस्ताङको जोमसोम, म्याग्दीको बेनी, बागलुङ, पर्वतको कुश्मा र गुल्मीको रिडी बजारसम्म पुग्दा कालीगण्डकी नदीमा प्रशस्तै जैविक तथा औद्योगिक फोहोर मैला थुप्रिने गर्दछ । यसले गर्दा महत्त्वपूर्ण जलसम्पदा तथा धार्मिक आस्थाको प्रतीक कालीगण्डकी नदी प्रदूषित हुन पुगेको छ ।

प्रदूषणका कारण नदीमा आएको जैविक, भौतिक तथा रासायनिक परिवर्तनका कारण आफ्नो मौलिक गुण नष्ट गरी अक्सिजन उत्सर्जन चक्रमा समेत नकारात्मक असर पर्न थालेको छ । यसले जल वनस्पतिको प्रकाश संश्लेषण प्रक्रियामा पनि प्रभाव पारेको वातावरणविद्हरूको भनाइ छ ।

प्रदूषणका कारण:
नदीछेउको जमीन अतिक्रमण भई पानीको बहाव साँघुरो बन्दै जानु, औद्योगिक फोहोरमैला तथा रसायनयुक्त पानी र ढललाई नदीमा मिसाउनु, नदीछेउमा उद्योग कलकारखाना र घनाबस्ती हुनु, ठाउँठाउँमा सार्वजनिक शौचालयको व्यवस्था नहुनु, फोहोर व्यवस्थापनसम्बन्धी वैज्ञानिक कदम चाल्न नसक्नु तथा प्रभावकारी ऐन, कानून र नियमको अभाव हुनुजस्ता कारणले दिनानुदिन कालीगण्डकी नदी प्रदूषित बन्दै गएको छ ।

'कालीगण्डकी नदी व्यवस्थापन तथा प्रदूषणमुक्त गर्न सरकारले हालसम्म कुनै योजना र कार्यक्रम ल्याउन सकेको छैन,' नेपाली काङ्ग्रेस, म्याग्दीका सचिव क्याप्टेन मीनबहादुर कार्कीले भने,  'कालीगण्डकी बचाउ अभियान'का लागि सरकारले एउटा छुट्टै आयोग गठन गरी आवश्यक दीर्घकालीन गुरुयोजना तर्जुमा गर्नुपर्छ । साथै त्यसको प्रभावकारी कार्यान्वनमा समेत ढिला गर्नु हुँदैन ।'

ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण एवम् वातावरणीय हिसाबले संवेदनशील रहेको यस नदीको संरक्षणका लागि व्यापक रूपमा जनजागरण अभियान सञ्चालन गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् ।

'कालीगण्डकी बचाउ' अभियानका लागि यस क्षेत्रमा क्रियाशील सरकारी एवम् गैरसरकारी संस्थाहरूको एकीकृत अभियानमा आवश्यक भएको वातावरणविज्ञहरूको भनाइ छ ।

जलचरको अस्तित्वसमेत सङ्कटमा
कालीगण्डकी र म्याग्दी नदीको किनारमा फोहोर फाल्दा नदीको म्याग्दीखण्डका मानव स्वास्थ्य र जलचरको अस्तित्वमा असर गरेको छ । विगत १० वर्षदेखि सदरमुकाम बेनीबजारको फोहोर सङ्कलन गरी घतान र अर्थुङ्गेको सिमानामा पर्ने रातोपहिरो छेउबाट नदीकिनारमा फाल्ने गरिएको छ । सो फोहोरका कारण नदी प्रदूषित हुन गई पानीको माध्यमबाट मानव स्वास्थ्य र जलचरको अस्तित्वमा असर गरेको हो ।

कालीगण्डकीको किनारमा पर्ने दानादेखि बेनीसम्म र म्याग्दीनदीको किनारमा पर्ने दरवाङदेखि बेनीसम्मका बासिन्दाले ढल र फोहोर नदीमै फाल्ने गरेका छन् । बेनीबजारमा दैनिक सङ्कलन हुने ३ देखि ५ ट्रयाक्टर फोहोर कालीगण्डकी नदीकिनारमा फाल्ने गरिएको छ । त्यसको दुर्गन्धले सोही बाटो भएर गलेश्वर र मुक्तिनाथ यात्रा गर्ने तीर्थयात्रीसमेत प्रभावित भएका छन् ।

नदीहरू फोहोर फाल्ने ठाउँ बन्न थालेपछि स्नान गर्ने भक्तजन र माछालगायत जलचरलाई असर गरेको हो । विभिन्न चार्डपर्वका अवसरमा कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको भीड लाग्ने गर्छ । विभिन्न किसिमका रसायन मिसिएको फोहोर पानीले नुहाउँदा छालासम्बन्धी समस्या देखिने सम्बद्ध क्षेत्रका व्यक्तिहरू बताउँछन् ।

हालैमात्र नगरपालिका घोषित सदरमुकाम बेनीको फोहोर व्यवस्थापन उपयुक्त स्थानमा हुन नसक्दा यसले चुनौती थपेको जिविसअन्तर्गतको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाका सल्लाहकार चन्द्रभक्त विष्ट बताउँछन् ।

नगरपालिका घोषणा भएपछि क्षेत्रफल बढेकाले अन्य ठाउँमा फोहोर व्यवस्थापन गर्न विकल्पको खोजी गरिएको हालै नगरपालिकामा गाभिएको अर्थुङ्गे गाविसका सचिव कृष्णबहादुर कार्कीको भनाइ छ ।

लोप हुँदै शालिग्राम
विश्वमै अत्यन्त दुर्लभ र हिन्दूधर्मावलम्बीहरूले भगवान् विष्णुका रूपमा पूजा गर्ने दुर्लभ शिला शालिग्राम कालीगण्डकी नदीबाट लोप हुन थालेको छ । कालीगण्डकीलाई शालिग्राम शिला पाइने विश्वको एक मात्र नदी मानिन्छ । जैविक फोहोर बढ्न थालेपछि नदीको पानीमा रहेको चक्रीय प्रणाली प्रदूषित हुने र त्यसको असर शालिग्राममा पर्ने शालिग्राम शिलाका अध्येता पण्डित रङ्गराज शास्त्रीले बताउँछन् । त्यसका साथै बढ्दो चोरी निकासीले पनि शालिग्राम लोप हुन थालेको स्थानीयहरूको भनाइ छ ।

शालिग्रामको चोरीनिकासीमा विशेष गरी भारतीयमूलका व्यक्ति संलग्न रहेको पाइएको छ । २वर्षअघि मुस्ताङका तल्कालीन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा चोरीनिकासी नियन्त्रण समिति बनेको भए पनि अहिले त्यो समितिले कुनै काम गर्न नसकेको स्थानीय बासिन्दाको भनाइ छ ।

काँक्रेबिहार जोड्ने  सडक यसै आवमा कालोपत्रे
आकाश तारा बयक/सुर्खेत
लाटीकोइलीदेखि पुरातात्त्विक महत्त्वको काँक्रेबिहार जोड्ने सडक यसै आर्थिक वर्षदेखि कालोपत्रे गरिने भएको छ । यसका लागि पहिलो चरणमा रू. २३ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी सुर्खेत क्षेत्र नं. २ का सभासद् एवम् पूर्वमन्त्री यामलाल कँडेलले दिएका छन् । 'पर्यटन-सडकको नामाङ्कन गरेर लाटीकोइलीदेखि काँक्रेबिहारसम्म कालोपत्रे गर्न लागिएको हो,' उनले भने, 'यसबाट काँक्रेबिहारको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ ।' कालोपत्रे सम्पन्न नहुँदासम्म आवश्यक बजेट विनियोजन गरिने उनले बताए । उनका अनुसार आगामी मङ्सिर-पुससम्म कालोपत्रेको काम सकिनेछ ।

काँक्रेबिहार क्षेत्रवरिपरि पर्खाल लगाउन पनि सरोकारवालाहरूसँग छलफल भइरहेको उनले बताए । यसका लागि फाइल अघि बढिरहेको उनले जानकारी दिए । 'पहिले जनता पनि सकारात्मक थिएनन्,' उनले भने, 'अहिले सबैमा यसको संरक्षण गर्नुपर्छ भन्ने भावना विकास भएको छ । काँक्रेबिहार क्षेत्रमा तारबार गर्न सकियो भने त्यहाँको जैविक तथा पुरातात्त्विक महत्त्व बचाउन सकिन्छ ।' यहाँसम्म आउने सडक कालोपत्रे भयो भने पनि बिहार संरक्षणका लागि चाँडो पहल गर्न सहयोग मिल्ने स्थानीय बासिन्दाको भनाइ छ ।

सरकारी बेवास्ताले नेपालको सबैभन्दा अग्लो शिखरशैलीको मन्दिर बन्ने भनिएको भग्नावशेष काँक्रेबिहार 'खुला सङ्ग्रहालय'मै सीमित भएको छ । पुरातत्त्व विभागले उत्खननपछि सो ठाउँमा शिखरशैलीको मन्दिर भएको निष्कर्षनिकाल्दै १ सय २५ मिटर अग्लो मन्दिरको डिजाइन गरेको छ । तर, सरकारले पर्याप्त बजेट नछुट्टयाउँदा मन्दिर निर्माण कार्यले गति लिन सकेको छैन । नेपालको एकमात्र संरक्षित वनको रूपमा रहेको काँक्रेबिहारलाई सम्बन्धित निकायले बेवास्ता गर्दा त्यसको संरक्षणमा समस्या भइरहेको सभासद् कँडेलको भनाइ छ । 'कि यसलाई संरक्षित क्षेत्रका रूपमा राख्नु हुँदैन, राख्ने हो भने सम्बन्धित निकायले पूरै संरक्षणको जिम्मा लिनुपर्छ,' उनले भने ।

विभागले उत्खननपछि निस्किएका प्रस्तर र मूर्तिको अध्ययनपश्चात् २०५९ मा मन्दिरको डिजाइन गरेको थियो । करीब ५ करोड रुपैयाँ लागत अनुमान गरिएको सो मन्दिर पुन:निर्माणका लागि सरकारले न्यूनतम बजेट मात्र छुट्टयाउने गरेको छ ।

बाह्रौँ शताब्दीमा निर्माण भएको अनुमान गरिएको भग्नावशेष काँक्रेबिहारको पुरातत्त्व विभागले २०५७ मा उत्खनन थालेको थियो । ३ वर्षको उत्खननपछि भग्न थुप्रोबाट २हजार ३ सय कलाकृतिपूर्ण प्रस्तर र मूर्ति निस्किएका थिए । मन्दिर बन्न ढिलाइ हुँदा ती पुरातात्त्विक वस्तु दिनानुदिन असुरक्षित बन्दै गएका छन् ।

12Next »Last »