सुदूरपश्चिमका पुल तथा सडकको पुन:निर्माण शुरू
जेठ २१, धनगढी (अस)। ३ वर्षअघि बाढीद्वारा क्षत्रि्रस्त सुदूरपश्चिम क्षेत्रका प्रमुख पुल तथा सडकहरूको पुन:निर्माण कार्य शुरू भएको छ । पुन:निर्माणका लागि एशियाली विकास बैङ्क (एडीबी)ले साढे १३ करोड रुपैयाँ सहयोग गरेपछि निर्माण कार्य शुरू भएको सुदूरपश्चिमाञ्चल सडक डिभिजन कार्यालय, नम्बर एक महेन्द्रनगर प्रमुख अर्जुनजङ्ग थापाले बताए । उनले भने, 'सो रकमबाट बाढीको उच्च जोखिममा रहेका राजमार्गका करीब एक दर्जन पक्की पुलको मर्मतसम्भार गरिनेछ ।’ प्राप्त रकममध्ये कैलालीमा रू. ७ करोड र बाँकी कञ्चनपुरमा खर्च गरिनेछ । पुन:निर्माण कार्यअन्तर्गत पूर्वपश्चिम राजमार्गको कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकी सडकखण्डमा पर्ने पुल तथा सडकहरूको मर्मतसम्भार गरिनेछ । सो सडकखण्डका पुल र सडकलाई २०६५ सालको बाढीले क्षति पुर्याएको थियो ।
प्रमुख थापाले पुन:निर्माणअन्तर्गत राजमार्गको छेउछाउका बाढीले भत्काएका सडकहरूको समेत स्तरोन्नति गरिने बताए । 'बाढीले बढी क्षति पुर्याएका ठाउँलाई दृष्टिगत गरी काम भइरहेको छ । पुन:निर्माण कार्यले सडक र पुललाई थप कटानी हुनबाट जोगाउनेछ,' उनले भने । अहिले दुवै जिल्लाका बाढीबाट क्षतिग्रस्त पुलहरूको मर्मतसम्भारका लागि नदीको धारलाई सहज रूपमा परिवर्तन गरी दुवैतिर तटबन्ध निर्माण गर्ने कार्य भइरहेको इञ्जिनीयर लक्ष्मीदत्त भट्टले जानकारी दिए । सडक डिभिजन कार्यालयका अनुसार बाढीबाट क्षति पुर्याएका सडक र पुलको मर्मतका लागि एडीबीले पहिलोपटक सहयोग गरेको हो । एडीबीले पुन:निर्माण कार्य डिसेम्बरभित्र सक्न समयसीमा दिएको छ । 'हामी एडीबीको समयसीमाभित्रै सबै काम सक्ने लक्ष्यका साथ काम गरिरहेका छौं,’ थापाले भने, 'असारदेखि झण्डै भदौसम्म वर्षाका कारण कुनै काम नहुने भएकोले अहिले नसकिएको बाँकी काम असोजपछि शुरू गर्नेछौं ।'
सो कार्यालयले महाकाली राजमार्गअन्तर्गत कैलालीका खानीडाँडा र भ्यागुतेपानी क्षेत्रमा वर्षायाममा आउने पहिरोका कारण हुने गरेको अवरोध रोक्न पनि मर्मत कार्य भइरहेको बताएको छ । प्रमुख थापाका अनुसार सो काम करीब ८० प्रतिशत भइसकेको छ । यसैगरी कैलालीको पहलमानपुर गाविसको कान्द्रा नदी नियन्त्रणका लागि पनि काम शुरू भइसकेको उनले जानकारी दिए । उक्त क्षेत्रमा पहिरोका कारण जीर्ण भएका सडकको स्तरोन्नति कार्य पनि
भइरहेको हो ।
त्यस्तै कञ्चनपुरका चौधर, बनारा, राधा र कान्द्रा नदी, बेलौरी-कलकत्ता-बेल्डाडी र बेलौरी-कलुवापुर सडकको केही भागको पुन:निर्माण कार्य पनि थालिसकिएको छ । यस्तै बेलौरी-दोदा सडकको तीन किलोमिटर खण्डको पुन:निर्माण कार्य सकिएको छ भने बण्ड र डोण्डा खोलामा पर्ने पुलको ३ सय मिटर तलमाथि माटो भर्ने र नदीको धार परिवर्तन गर्ने काम पनि भइरहेको छ । इञ्जिनीयर भट्टका अनुसार अति जोखिममा रहेका नदी र पुलहरूको कामलाई प्राथमिकता दिएर द्रूतगतिमा भइरहेको छ । 'नदीको बीच भागमा रहेको माटो र बालुवालाई डोजरका सहायताले निकालेर दुवै क्षेत्रमा तारजालीसहित ढुङ्गामाटो हालेर अग्लो तटबन्ध निर्माण गर्ने काम भइरहेको छ,' उनले भने, 'हालसम्म २० प्रतिशत काम पूरा भइसकेको छ ।'
देवघाट-चितवन जोड्ने मोटरबाटोको निर्माण अन्तिम चरणमा
जेठ २१, देवघाट (तनहुँ) (अस)। तनहुँको प्रसिद्ध पर्यटकीय स्थल देवघाटधाम र चितवनको नारायणगढ जोड्ने मोटरमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सो मार्गको लम्बाइ साढे चार किलोमिटर छ । देवघाट क्षेत्रलाई चारैतिरबाट सडक सञ्जालले जोड्ने उद्देश्यका साथ बनाइएको गुरुयोजनाअनुरूप सो मार्गको निर्माण कार्य थालिएको देवघाट क्षेत्र विकास समितिका सदस्य एवम् निर्माण समितिका संयोजक टङ्कनाथ पौडेलले जानकारी दिए । सो मार्ग देवघाटबाट सीताराम मावि, ठिमुरीस्थित सानो डाबर राजमार्ग हुँदै नारायणगढसम्म पुग्छ । अहिले नारायणगढबाट देवघाट पुग्न मुग्लिन नारायणगढ सडक खण्डको दियालो बङ्गला नजिक हुँदै झण्डै ८ किमि सडक यात्रा गर्नुपर्छ ।
समितिले निर्माणकार्यअन्तर्गत सडक खन्ने र दूधडेरीस्थित खोल्सामा ह्यूमपाइप हाल्ने काम पूरा भइसकेको बताएको छ । संयोजक पौडेलले अहिले मार्गलाई चौडा पार्ने कामसमेत अन्तिम चरणमा पुगेको जानकारी पनि दिए । उनले भने, 'दूधडेरीस्थित खोल्सामा अहिले ह्यूमपाइप राखेर काम चलाइएको छ । तर बाहै्र महीना सवारी सञ्चालनका लागि पक्की पुल नै आवश्यक भएकाले समितिले आगामी वर्षभित्र पुल निर्माणका लागि पहल थाल्नेछ ।’ समितिका अनुसार मोटरमार्गको कुल लागत रू. १ करोड १० लाख अनुमान गरिएको छ । सो मोटरबाटो निर्माणका लागि देवघाट विकास समितिले रू. ३ लाखका साथै भरतपुर नगरपालिका, डिभिजन सडक कार्यालय, चितवन र चितवन दुग्ध उत्पादक सङ्घले आवश्यक सहयोग उपलब्ध गराएको छ । पुल भने आगामी वर्षआवश्यक बजेटको व्यवस्था गरेपछि निर्माण थालिनेछ ।
मार्ग निर्माण सम्पन्न भएपछि तनहुँ र चितवनका गरी ३० हजार स्थानीय बासिन्दा लाभान्वित हुनेछन् ।
नगरपालिकाको अत्याधुनिक भवन निर्माण
जेठ २१, परासी (अस) । नवलपरासीको सदरमुकाम परासीस्थित रामग्राम नगरपालिकाको सुविधायुक्त भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
रू. २ करोड ५० लाखको लागतमा ३ वर्षदेखि शुरू गरिएको भवन निर्माणको काम हाल अन्तिम चरणमा पुगेको हो । निर्माण गर्न लागिएको सुविधासम्पन्न भवन आठ कोठाको हुने नगरपालिकाका कार्यकारी अधिकृत निरञ्जन श्रेष्ठले जानकारी दिए ।
स्थानीय विकास मन्त्रालय जगेडा कोषबाट पहिल्लो पटक रू. १ करोड २० लाख र चालू आर्थिक वर्षमा रू. १ करोड ३० लाखको लागतमा भवन निर्माण पूरा गर्न लागिएको हो ।
भवन निर्माणको करीब ९० प्रतिशत काम पूरा भइसकेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा भवन निर्माण पूरा हुने अधिकृत श्रेष्ठले बताए ।
दासढुङ्गामा पक्की पुल
जेठ २१, भरतपुर (अस) । चितवनको कविलाश गाविसस्थित दासढुङ्गाबाट तनहुँ जिल्लाको देवघाट गाविस जोड्ने पुलको निर्माण थालिएको छ । नेकपा (एमाले) का नेताद्वय मदन भण्डारी र जीवराज आश्रति सवार जीप दुर्घटना भएको स्थाननजिकै पुल निर्माण गर्न लागिएको हो । सो पुलको कुल लागत रू. १३ करोड ९९ लाख ८० हजार रहेको छ । पुलको लम्बाइ १ सय ५५ मिटर र चौडाइ ८ दशमलव ५ मिटरको हुनेछ ।
काठमाडौंको अनक कन्ष्ट्रक्सन प्रालिले ३ वर्षभित्र सो पुलको डिजाइन र निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएको छ । कम्पनी र डिभिजन सडक कार्यालय, भरतपुरबीच २०६७ असार २४ गते पुल निर्माण सम्झौता भएको थियो । सम्झौतामा २०७० असार २३ गतेभित्र पुलको निर्माण कार्य पूरा भइसक्नुपर्ने उल्लेख छ ।
मोटर चल्न सक्नेगरी बनाइने सो पुलको निर्माणपछि चितवनको कविलाश तथा तनहुँका देवघाट, कोटा, बैदी, भीरकोट, रम्झाकोट, सुन्धारा, गजरकोटलगायत १५ गाविसका बासिन्दा लाभान्वित हुनेछन् । पुल निर्माणपछि पवित्र तर्ीथस्थल देवघाटधामसम्म पुग्ने भक्तजनहरूलाई पनि निकै सुविधा पुग्ने छ । चितवनबाट तनहुँको देवघाट जाने झोलुङ्गे पुल जीर्ण भएकाले चार्डपर्वको समयमा आवतजावतमा समेत समस्या पर्ने गरेको छ । निर्माणाधीन पक्की पुल झोलुङ्गे पुलको विकल्प बन्न सक्ने बताइएको छ ।
दूध सङ्कलन भवन निर्माण
जेठ २१, तनहुँ । तनहुँको व्यासनगरपालिका-३ तालघरेमा दूध सङ्कलन, प्रशोधन प्लाण्ट र विविधीकरणका लागि भवन निर्माण कार्य थालिएको छ ।
पशुसेवा कार्यालय तनहुँ र जिल्ला दुग्ध उत्पादक सङ्घको सक्रियतमा उक्त भवन निर्माण गर्न लागिएको हो । राष्ट्रिय योजना आयोग र कृषि तथा सहकारी मन्त्रालयबाट रू. २५ लाख सहयोग प्राप्त भएपछि भवन निर्माण कार्य अघि बढाइएको सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरले जानकारी दिए । दुग्ध उत्पादक सङ्घले आन्तरिक स्रोतबाट रू. १६ लाखमा डेढ रोपनी जग्गा किनेर उक्त केन्द्र बनाउन लागेको हो ।
पशुसेवा कार्यालयका प्रमुख बाबुराम जमरकट्टेलले दुग्ध व्यवसायीलाई सजिलो होस् भनेर सबैको पायक पर्ने स्थानमा दूध सङ्कलन केन्द्र निर्माण गर्न लागिएको जानकारी दिए । तनहुँमा हाल २३ ओटा दुग्ध सहकारी संस्था छन् । रासस
Admin 2011-06-05