निकम्मा सरकारी निति
यस दैनिकको शनिवारको अङ्कमा प्रकाशित 'विद्युत् केन्द्र बेच्ने तयारी' शीर्षक समाचार पढ्दा दु:ख लाग्यो । ४ वर्षदेखि बन्द बाग्लुङको कोठेखोला विद्युत् उत्पादन केन्द्र बेच्ने तयारी विद्युत् प्राधिकरणले गरेको रहेछ । सरकार कतिसम्मको निकम्मा भइसकेको छ भन्ने कुराको उदाहरण पनि यस समाचारले पेश गरेको जस्तो लाग्यो । सरकारले साना आयोजनाहरू निजीक्षेत्रलाई दिने निती लिएको छ । तर, निजीक्षेत्रलाई जलविद्युत् उत्पानमा प्रोत्साहन गर्न सकेको छैन । राम्रो पीपीए दर नदिएकै कारण पनि निजीक्षेत्र यसमा लगानी गर्न उत्साहित भइरहेको छैनन् । त्यसैले, साना आयोजना सञ्चालनका लागि निजीक्षेत्रलाई दिने हो भने पीपीए दर पनि बढाउनु पर्दछ । अन्यथा चाहेर पनि निजीक्षेत्रले जलविद्युत्को क्षेत्रबाट पछि हट्नुको विकल्प छैन ।
सौरभ शर्मा, बानेश्वर, काठमाडौं
फुटपाथको विकल्प
शनिवारको अङ्कमा प्रकाशित 'दशैंको किनमेल फुटपाथमा' शीर्षक समाचार समय सान्दर्भिक लाग्यो । घटस्थापनापछिको समयमा राजधानीको विशेषगरी सुन्धारादेखि रत्नपार्कसम्मको फुटपाथमा मानिस हिँड्न निकै कठिन बनेको छ । अष्टमीसम्म नै यस्तो भीडभाड रहने फुटपाथका व्यापारीहरूको अनुमान पनि रहेको छ । त्यसैले, राजधानीको अस्तव्यस्तताले निकै समस्या निम्त्याएको छ । त्यसैले, दशैंका लागि किनमेल गर्ने र बजार लगाउने खुला ठाउँको वैकल्पिक व्यवस्था पनि सरकारले गर्नुपर्ने देखिएको छ ।
दशैंको भीडभाड बसपार्क सडकमा पनि उत्तिकै छ । राजधानी भित्रिनका लागि अन्य भरपर्दा मार्गहरूको विकास गर्न नसक्दा सदाझैं यो वर्षपनि यात्रुहरू भीडभाड, जोखिमपूर्ण र झन्झटिलो यात्रा गर्न बाध्य छन् । सरकारी निकायले जतिसुकै अनुगमन गरेको बताए पनि यातायात कर्मचारीले यात्रुहरूको बाध्यताको फाइदा उठाउँदै बढी भाडा असुलिरहेका छन् । बसको क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने सरकारी नियम भए पनि चाडबाडको समयमा सवारीसाधनको कमीका कारण प्रहरी र ट्राफिक प्रहरी मूकदर्शक बन्नुको विकल्प नै छैन । त्यसैले, यस्तो बाध्यात्मक अवस्थाको अन्त्यका लागि राजधानीलाई तराईसँग जोड्ने काठमाडौं-निजगढ द्रुतमार्गको निर्माण गर्नु नै हो । त्यसैले सरकारले यसतर्फ समयमै ध्यान दिनु जरुरी छ । होइन भने यात्रुहरूले प्रत्येक वर्षको दशैं वा अन्य कुनै यस्तै चाडबाडमा सदा सास्ती नै भोगिरहनुपर्ने छ ।
सरकारी अनुगमले खाद्यवस्तुको गुणस्तर सुधार्ने कुरामा भने केही हदसम्म सफलता प्राप्त गरेको महसूस गरेको छु । मिठाई, खानेकुरा, माछामासु किन्दा ग्राहकले सतर्कता अपनाउन थालेका छन् । विभिन्न वस्तु खरीद गर्ने कुरामा पनि उपभोक्ता सचेत देखिएका छन् । उपभोक्ताको हितका लागि सरकारले गरेको यो प्रयासलाई धन्यवाद दिनैपर्छ । आगामी दिनमा पनि अनुगमन भइरहे कालो बजारी गर्ने र उपभोक्ता ठग्ने व्यापारी सही मार्गमा आउने थिए भन्ने लाग्छ ।
ऋषिराम पराजुली , कुमारीगाल -७, काठमाडौं
Admin 2011-10-02