- म व्यवस्थापनमा ‘बिजनेश ल’को विद्यार्थी हुँ । मलाई अन्तःशुल्क दर कति किसिमबाट लगाइने गरिएको छ भन्ने जानकारी छैन । के अन्तःशुल्क लेखापरीक्षण पनि हुन्छ ? सुनिता लामा, शङ्करदेव क्याम्पस सुनिताजी, अन्तःशुल्क दुई किसिमबाट लगाइन्छ । मालवस्तु वा सेवाको मोलमा तथा परिमाणमा निश्चित रूपमा तोकिएको दरले अन्तःशुल्क लाग्दछ । अन्तःशुल्कको पनि लेखापरीक्षण हुन्छ । राजस्व जोखिम भएको आधार तथा कारण देखिन आएमा अन्तःशुल्क लेखापरीक्षणका लागि करदाता छनोटमा परेमा, बजारमा अवैध वस्तुको सहज उपलब्धता देखिएमा र अन्तःशुल्क टिकटको अवैध वा अस्वाभाविक प्रयोग भएको बुझिन आएमा अन्तःशुल्कको लेखापरीक्षण गर्ने गरिन्छ ।
- करसम्बन्धी नियमहरूमा प्राकृतिक व्यक्ति भनिएको हुन्छ । कसलाई प्राकृतिक व्यक्ति भनिन्छ ? साथै, प्राकृतिक व्यक्तिले कर तिनुर्पछ कि पर्दैन ? यदि कर तिर्नुपर्ने भए कहाँ दर्ता गर्नुपर्दछ र दर्ता गर्न के–के कागजात चाहिन्छ ? सविता लामा, शङ्करदेश क्याम्पस सविताजी, महिला, पुरुष वा अन्य लिङ्ग भएको मानिसलाई प्राकृतिक व्यक्ति भनिन्छ । प्राकृतिक व्यक्तिलाई उसको आयअनुसार कर लाग्दछ । कर लाग्ने आय हुने वा अग्रिम कर कट्टी गर्ने प्राकृतिक व्यक्तिले स्थायी लेखा नम्बर पान लिनुपर्दछ । प्राकृतिक व्यक्तिको दायित्व असीमित हुन्छ अर्थात् कर तिर्न अटेरी गरेमा निजको घरघराना जायजेथा लीलाम विक्री गरी पनि आयकर असुली गर्न सकिन्छ । प्राकृतिक व्यक्तिले आफू बसोबास गरेको स्थल वा कारोबार गरेको स्थल (प्रोप्राइटरशिप फर्म भए सो फर्मको मुख्य ठेगाना रहेको स्थल) वा रोजगारी गरेको ठाउँसँग सम्बद्ध आन्तरिक राजस्व कार्यालयबाट पान लिनुपर्दछ । प्राकृतिक व्यक्तिले पान दर्ता गर्न आफ्नो परिचय खुलाउने प्रमाणको प्रतिलिपि (जस्तै नागरिकता प्रमाणपत्र वा राहदानी), फोटो, पेशा व्यवसाय गरेको भए पेशागत प्रमाणपत्र वा फर्म दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्दछ ।
परामर्शदाता : जीडीपी कन्सल्टिङ, पुतलीसडक
ई–मेल: gdpconsultingnepal@gmail.com