''संयोग साहित्य र प्रविधिको'' - किशोरकुमार अग्रवाल (७ कात्तिक)
प्रमुख कार्यकारी अधिकृत, स्पेस एज कन्सर्न
'शेयर बजार सूचकाङ्क -नेप्से १ हजार १ सय ७५ बाट झरेर ३ सय ९९ सम्म पुग्दा पनि अर्थतन्त्र अत्तालिनुपर्ने अवस्थामा छैन' जनतालाई बेबकूफ बनाउँदै यस्तो अभिव्यक्ति दिनेहरूप्रति कटाक्ष गर्न स्पेस एज कन्सर्नका प्रमुख कार्यकारी अधिकृत किशोरकुमार अग्रवाल पछि पर्दैनन् ('तथ्याङ्कले बोलेका विषयलाई मिथ्याङ्कमा परिणत गर्नु गैरजिम्मेवारपूर्ण होइन ? भनाइ र गराइमा तालमेल नमिल्दा देशको अर्थतन्त्र कहिल्यै नउठ्ने गरी थलिने स्थितिमा पुगेको उनले महसूस गरेका छन् । द्वन्द्वकालमा भाँच्चिएको आर्थिक विकासको मेरूदण्ड नीति-निर्माताहरूको संवेदनहीनताका कारण नाजुक स्थितिमा पुगेको उनको ठम्याइ छ । राजनीतिक दलले पार्टीगत स्वार्थलाई उच्च प्राथमिकता दिएकाले समग्र अर्थतन्त्र सङ्कटोन्मुख भएकोमा उनी चिन्तित छन् । निजीक्षेत्र र सरकारबीचको सहकार्यबाट आर्थिक प्रगतिका धेरै कार्य हुन सक्ने ठोकुवा गर्ने उनी त्यो अवधारणलाई कार्यान्वयन नगर्दा लक्ष्यमा पुग्न नसकिएको धारणा व्यक्त गर्छन् । 'एकरातमा रूपान्तरण हुँदैन तर हातेमालो गरेर हिँडयौँ भने लक्ष्यमा पुग्न बेर लाग्दैन' उनी सहकार्यबाट सफलताको शिखरतिर र्सर्ने सूत्र सुनाउँछन् । 'राष्ट्रनिर्माणको जिम्मेवारी आर्थिक क्षेत्रको मात्र होइन, सबै नागरिकको भएकाले त्यसमा एउटा इँट थप्ने सत्प्रयासबाट म चुक्दिनँ' उनी देशभक्तिको भाव मुखरित गर्छन् ।
छिमेकी मुलुक चीन र भारतले हासिल गरेको दुइ अङ्कको आर्थिक वृद्धिदरबाट नेपाल उत्प्रेरित भई ती मुलुकबाट पाठ सिक्नुपर्ने मान्यताप्रति अडिग अग्रवाल ६ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त गर्न सकिने प्रशस्त सम्भावना देख्छन् । सडक, बिजुलीजस्ता विकासका अत्यावश्यक पूर्वाधार निर्माण अर्थतन्त्र उन्नयनका उपाय मान्ने उनी जलविद्युत् को क्षेत्रमा वैदेशिक लगानी भियभयाउन सकिने बताउँछन् । चाहिएजति विदेशी लगानी ल्याउने पूर्वशर्त हो - राजनीतिक स्थायित्व । आर्थिक एवम् औद्योगिक विकासका निम्ति दीर्घकालीन योजना, दूरदृष्टि र विश्वसनीय वातावरण पनि उत्तिकै अपरिहार्य ठान्छन् अग्रवाल ।
विद्युतीय उपकरण, तिनका पार्टपुर्जा अनि स्नानागारमा प्रयोग हुने स्वीस कम्पनीका बडेमानका बाथटबदेखि भान्सा सजावटका अति मनमोहक सामग्रीका थोक विक्रेता अग्रवाल आर्थिक प्रगतिका बाधकको केही अंश राजनीतिक दलमा देख्छन् । आर्थिक मामिलालाई राजनीतिक मुद्दा बनाउनेहरूसँग विमति जनाउने उनी बजेटलाई राजनीतिक औजारका रूपमा प्रस्तुत गरिएकोमा दलहरूप्रति रुष्ट छन् । पारिवारिक व्यापारलाई हरतरहले विस्तार गर्न लागि परेका अग्रवाल सुपथ व्यापारमा विश्वास गर्छन् । लाभहानिको हिसाब राखे पनि अनुचित नाफाखोरी उनको नैतिकता र सिद्धान्तमा पर्दैन । आमाको गर्भदेखि नै व्यापार गर्न गुण पाएका उनले सामाजिक सेवाको क्षेत्रमा पनि उदाहरणीय काम गरेका छन् । 'वसुधैव कुटुम्बकम्'- सबैलाई हेर्ने र व्यवहार गर्ने उनको बानी छ । 'जग्गा, श्रमिक, पूँजी र व्यवसाय विकासका गुण' भए उत्पादन सहज हुने अग्रवालको बुझाइ छ । जागँ र पूजीको सम्मिश्रणबाट व्यवसायलाई उत्पादनमुखी बनाउन सकिने आत्मविश्वास उनमा छ- समकक्षी, युवा जमात र आफ्ना कर्मचारीलाई यस्तै सुझाव दिन उनी पछि पर्दैनन् । यो उनको कमेचारीलाई अभिप्रेरित गर्ने शेली पनि हो ।
उद्यमी-व्यवसायीहरूको साझा मञ्चको रूपमा रहेको नेपाल चेम्बर अफ कमर्शको महासचिवको जिम्मेवारीसमेत कुशलतापूर्वक निर्वाह गरिरहेका अग्रवालका अनुसार नेपालको आर्थिक गतिविधिमा व्यावसायिक संस्कृतिको विकास नगण्य रूपमा भएको छ । शिक्षा तथा चेतनाको स्तर वृद्धि भए पनि व्यवसायको परम्परागत र्ढरा अद्यापि कायम छ । 'संस्थागत संस्कार विकासको क्रममा छ'- व्यावसायिक मूल्य र मान्यतालाई आत्मसात् गर्नुपर्नेमा जोड दिने उनी अगाडि थप्छन् । सूचना प्रविधिसम्बन्धी उपकरणको कारोबार गर्नेहरूले बजार बिटुल्याएको उनको आरोप छ-वस्तुबजारमा हुने अन्य व्यवसायमा भन्दा आईटी व्यापारमा त्यो अधिक छ । पारिवारिक व्यवसायलाई संस्थागत संरचनामा परिणत गर्ने कार्यलाई अन्तिम चरणमा पुगेको उनको कम्पनीको चुक्ता पूँजी ५ करोड छ ।
औसत नेपालीको भन्दा बृहत् काया भएका अग्रवाल त्यसलाई थप बढ्न नदिन दिनहुँ डेढघण्टा व्यायाम गर्छन् । राष्ट्रिय स्तरका क्रिकेट लिग प्रतियोगितामा खेल कौशल प्रदर्शन गरिसकेका उनी भलिबल र पौडीका शौखिन खेलाडी हुन् । माछामासु, मदिरा र धूमपानको लत नलागेका उनले चियाकफी र अन्य खाद्यपदार्थ टन्न खाने भएकाले जीउ पनि डम्म परेको छ । वर्षमा एकसय दिन विदेशमा बिताउने उनले उत्तरी र दक्षिणी गोलार्द्धका सबै मुलुकमा पाइलो हालेका छन् । मुन्सी प्रेमचन्द, रवीन्द्रनाथ टैगोर, लेभ टोल्सटयका रचना खोजीखोजी पढ्ने उनलाई साहित्यको रसास्वादनले अवर्णनीय आनन्द दिन्छ । त्यसो त उनी टेलिशृङ्खलाबाट पनि मनोरञ्जन लिन्छन् र सपरिवार सिनेमा हल पुग्छन्- कुनै चलचित्रको चर्चा चुलिँदा । इण्टरनेट, पत्रपत्रिका र टेलिभजन च्यान उनका सूचना र जानकारीका स्रोत हुन् ।
'पहिरनले व्यक्तित्व दर्शाउने' भएकाले अग्रवाल सुहाउने कपडा लगाउँछन् । उनलाई ब्राण्डेड कपडामा लगाव छ । प्राविधिक रूपमा आएको परिवर्तनलाई आत्मसात् गर्नु उनको पेशा भएकाले ल्यापटप र मोबाइल फेर्नु उनको बाध्यता हो । 'आफैले प्रयोग नगरी अरूलाई आफ्ना सामग्री कसरी बेच्न सकिन्छ ?' उनी स्पष्टीकरण दिन्छन् ।
समाज र राष्ट्रप्रतिको नागरिक दायित्वबाट कुनै पनि व्यक्ति पन्सिन नमिल्ने मत व्यक्त गर्ने अग्रवाल संस्थागत सामाजिक उत्तरदायित्व वहनलाई बाध्यात्मक होइन बरु नैतिक कर्मको कोटिमा राख्न रुचाउँछन् । वातावरणअनुकूलका उद्योगधन्दाको स्थापना तथा कर्मचारीलाई लाभांशका साथै चाडपर्वमा अतिरिक्त रकम दिएर उनीहरूलाई आह्लादित पार्नुलाई पनि समाजिक उत्तरदायित्वको संज्ञा दिन सकिने उनको तर्क छ ।