शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

बिहीवार, २८ असोज २०६७
''विश्वास काममा मात्र'' - सुरेन्द्रवीर मालाकार
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

चालू आर्थिक वर्षको पूर्ण बजेट र सरकारको नीति तथा कार्यक्रम र्सार्वजनिक नहुँदा अर्थतन्त्रमा परेको सङ्कट मोचनका निम्ति आवश्यक पहलको अनुरोध लिएर उनी कहिले राष्ट्रपति कार्यालय पुगेका हुन्छन् भने कहिले देशलाई बन्दहडतालबाट मुक्त गराउने प्रतिबद्धतापत्रमा दस्तखत गराउन राजनीतिक दलका शीर्ष नेताकहाँ भेटिन्छन् । ट्रेड युनियनका नाममा हुने गैरट्रेड युनियनका गतिविधिका कारण बन्द भएका कलकारखाना खुलाउने र व्यापारसम्बन्धी विवाद साम्य पार्न उनी खटिरहेका भेटिन्छन् । कार्यशाला, उद्घाटन, विमोचन, स्वागत समारोह, गोष्ठी र रात्रिभोजले उनको धेरै उत्पादनमूलक समय खेर गएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारलाई कहिलकाहीँ अध्यक्ष नभएको भए हुन्थ्योजस्तो लाग्छ- अनुत्पादक काममा समय खर्च गर्नुपर्दा । परिणाममुखी काममा विश्वास गर्ने उनलाई मुलुकको अवस्था निरन्तर ओरोलो लागिरहेकोमा चिन्ता छ- उद्यमी व्यवसायीको सङ्गठन चेम्बरको नेतृत्व तहमा पुगेर होइन, एउटा सामान्य नागरिकका रूपमा पनि ।

राज्य सञ्चालनको गहन जिम्मेवारी पाएका राजनीतिक दलका हर्ताकर्ताहरूले दलीय स्वार्थ नत्यागेकाले निजीक्षेत्रले विकासका पूर्वाधार 'पुल, बाटो बनाउँछौँ' भन्दा खप्की खानुपरेको विडम्बनापूर्ण अवस्था चित्रण गर्ने उनी त्यसलाई मुलुकको दुर्भाग्य ठान्छन् । अहिलेको अर्थव्यवस्था निजीक्षेत्रले धानेको ठोकुवा गर्ने मालाकार व्यवसाय प्रवर्द्धन, राजस्व वृद्धि र रोजगारीका अवसर सिर्जना गर्न सकिनेमा विश्वस्त छन्, तर त्यसका लागि शान्तिसुरक्षा र राजनीतिक स्थायित्व प्रमुख पूर्वशर्तका रूपमा प्रस्तुत गर्छन् । 'आर्थिक मुद्दामा राजनीति नगर' राजनीतिक पार्टीहरुलाई देशका सबै उद्यमी-व्यवसायीले बारम्बार गरेको आग्रह दोहोर्याउँदै अस्थिर राजनीतिक अवस्थाबाट गुज्रिरहेका विश्वका मुलुकका दलले पनि आर्थिक क्षेत्रलाई हस्तक्षेपमुक्त राखेका उदाहरण दिन्छन् । नेपाल वायु सेवा निगमलाई विमान खरीदको अनुमति नदिनुलाई राजनीतिक हस्तक्षेप ठान्ने उनी 'खुट्टा बाँधेर दौड' भन्ने कार्य संस्कारबाट मुलुक मर्माहत भएको उल्लेख गर्छन् ।

बदलिँदो परिस्थितिअनुरूप औद्योगिक नीति परिमार्जन गर्नुपर्नेमा जोड दिने मालाकार उद्योगले धान्न नसक्ने बैङ्कको ब्याजदर घटाउन सुझाव दिन्छन् । परम्परागत कृषिकर्मले अर्थतन्त्रमा सुधार नहुने भएकाले वैज्ञानिक खेतीपातीका लागि किसानलाई प्रोत्साहन अपरिहार्य भएको उनको बुझाइ छ । यान्त्रिक उपकरण, मलखाद, बीउबिजनमा सरकारी अनुदान आवश्यक देख्ने उनी राष्ट्रिय अर्थतन्त्रमा कृषिक्षेत्रको योगदानलाई उपेक्षा गरिएकोमा आपत्ति छ । कुल गार्हस्थ्य उत्पादनको ३२ प्रतिशत स्थान कृषिक्षेत्रले ओगटेको वास्तविकतालाई बेवास्ता गरेर कृषिलाई 'हेयको दृष्टिले हेर्न पाइन्छ ?' नीतिनिर्माताहरूलाई उनी प्रश्न गर्छन् । हरेक दिन विदेशिएको युवा जमातलाई रोक्ने, उद्योगको विकास तथा संरक्षणका साथै श्रमनीतिमा परिमार्जनको खाँचो देख्ने उनलाई डकर्मी र बुलडोजर चलाउने जनशक्तिको अभाव महसूस भएको छ ।

चालू आर्थिक वर्षको पूर्ण बजेट नआउँदा राज्यको ढुकुटी रित्तिने क्रम बढेको, निकासीमा आएको गिरावट र आयातको घनत्व ह्वात्त बढ्नाले अर्थतन्त्र डरलाग्दो स्थितितर्फउन्मुख भएको मालाकारको विश्लेषण छ । आर्थिक विधेयक, औद्योगिक तथा आपूर्तिनीति नहुँदा व्यवसायीलाई काम गर्न कठिनाइ भएको बताउने उनी विकासका २ हजार योजना ठप्प हुँदा विकासको परिकल्पना गर्नै नसकिने अवस्था आएकोमा खेद प्रकट गर्छन् । फलाम र सिमेण्ट उद्योग सञ्चालनका प्रशस्त सम्भावना रहेकाले तिनको प्रवर्द्धनलाई बेवास्ता गर्नु प्रत्युत्पादक हुने उनको ठहर छ ।

स्थिर मूल्य कायम राख्दै मिसावटरहित सामग्रीको विक्रीलाई व्यवसायको मूलमन्त्र मानेर उपभोक्ताको भौतिक तथा वित्तीय स्वास्थ्यमा आँच आउने कुनै किसिमका कार्य नगर्न सहकर्मीलाई मालाकारको अपील छ । निजीक्षेत्रलाई विकासको संवाहकको रूपमा प्रस्तुत गर्ने उनी आर्थिक क्रान्तिको सूत्रधार निजीक्षेत्र सरकारका हरेक सत्कार्यमा साथ रहने प्रतिबद्धता व्यक्त गर्छन् ।

जीवनको ५५औँ वसन्तमा हिँडिरहेका मालाकार बिहान ७ बजे उठेर दुइ घण्टा प्रातः भ्रमणमा निस्कन्छन् । मासुका विशेष शौखीन उनी धूमपान पनि गर्छन् । स्वदेशका सबै जिल्लामा पाइला टेकेका उनले संसारका तीन दर्जन मुलुकको भ्रमण गरिसकेका छन् । भ्याए र पाएसम्म परिवारका सदस्यलाई पनि घुमाउने उनको बानी छ । मनोरञ्जनका निम्ति फुर्सद नभएका उनी अर्थतन्त्र र राजनीतिक खबर पत्रपत्रिकामा पढ्ने गर्छन् । पदीय दायित्वका कारण उनी हरपल सूट लगाउँछन् । राष्ट्रिय र औपचारिक पोशाक लगाउन उनलाई औधी मनपर्छ । एक छोरा र एक छोरीका पिता उनी मोबाइल, घडी र ल्यापटपजस्ता उपकरण समयअनुसार परिवर्तन गर्छन् । 'गुणस्तरका निम्ति ब्राण्डेड सामान किन्छु' ब्राण्डप्रति सजग उनलाई स्थानीय उत्पादनमा पनि विश्वास छ ।

 

भ्याएसम्म सामाजिक जमघटमा सामेल हुने मालाकार त्यहाँ व्यवसायका कुरा कम गर्छन् । पार्टीमा समसामयिक विषयमा विचारविमर्श गर्नु उनको औपचारिकता हो । किशोरावस्थादेखि सामाजिक सेवामा सरीक उनी दानदातव्य सार्वजनिक गर्न रुचाउँदैनन् । ईश्वरप्रति आस्थावान् उनी आत्मसन्तुष्टिका निम्ति मन्दिर पुग्छन् तर दर्शनचाहिँ गर्दैनन् । चेम्बरले एम्बुलेन्स र शववाहन सञ्चालन गरेर संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको उनी सगर्व उल्लेख गर्छन् ।