शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

समर्पण कृषि उद्यममा
ज्ञानेन्द्र पराजुली
सञ्चालक
सागर फिड प्रडक्ट्स
बाइस वर्षकै एमकम गरे पनि विराटनगरका ज्ञानेन्द्र पराजुलीलाई जागीर खाने कुनै मोह जागेन । चाहेको भए भनेअनुसारको जागीर पाउँथे उनले त्यसबेला । २०४७ सालमा एमकम गरेका उनले जागीर नखाने र स्वतन्त्र व्यवसाय गर्ने विचार गरे । यस विचारलाई व्यवहारमा उतारे बुबाले दिएको रू.५ लाख ५० हजारबाट । बाबुबाट इलम गर्न प्राप्त उक्त रकम सागर फिड प्रडक्ट्समा लगानी गरे सुनसरीको पकलीमा । अहिले नौओटा उद्योग तथा फर्मका मालिक भएका छन् उनी । नजिकका आफन्तको साझेदारीमा १३ वर्षको अवधिमा प्राप्त गरेको उनको सफलताको चर्चा परिचर्चा हुने गरेको छ- जिल्लाका उद्यमी व्यवसायीबीच ।

बुबाले दिएको पूँजी घरजग्गाका कारोबारीलाई ब्याजमा लगाएर २ वर्षमा ४० लाख हात पार्न सफल पराजुलीले काठमाडौँका विभिन्न चार स्थानमा टेलिफोन सेवा सञ्चालन गरे फिड प्रडक्ट्सको काम गर्नुअघि । चार जनाको साझेदारीमा रू.२० लाखको लगानीबाट शुरू भएको सागर फिड प्रडक्ट्समा उनी आफै बजार प्रवर्द्धक थिए त्यतिबेला । चुनौतीको सामना गर्न रुचाउने ज्ञानेन्द्र कुखुराको आहार लिएर आफै किसानको घरदैलोमा पुग्थे । किसानका समस्या बुझ्दथे । उचित प्राविधिक सल्लाह नपाएका किसानका मर्का बुझेका उनले कैयौं स्थानमा पशु चिकित्सक पुर्याएर नि:शुल्क उपचारको व्यवस्था मिलाए । उपयुक्त दाना र पशु चिकित्सकबाट प्राविधिक सल्लाह पाउन थालेपछि  कुखुरापालनतर्फउत्साहित किसानले नै ज्ञानेन्द्रको व्यवसाय चम्काएका हुन् ।

शहरसीमित व्यवसायलाई तराई र पहाडका गाउँगाउँमा फैलाए ज्ञानन्द्रले । किसानले चल्लाको माग बढाउन थालेपछि उनी आफैले ह्याचरी सञ्चालन गरे । २०५८ सालमा ३ हजार माउ कुखुराबाट सत्यसाई ह्याचरी शुरू गरेका उनले अहिले २० हजार माउ कुखुराबाट मासिक १ लाख ५० हजार चल्ला उत्पादन गरिरहेका छन् । पूर्वाञ्चल विकास क्षेत्रमा मासिक ६ लाख चल्लाको माग छ भने प्यालेट दानाको खपत पनि ह्वात्तै बढेको छ । बजारको मागलाई दृष्टिगत गर्दै उनले १० करोड लगानीमा प्यालेट दाना उत्पादन गर्ने नयाँ प्लाण्ट स्थापना गरेका छन् । दैनिक २ सय ४० मेटि्रकटन प्यालेट दाना उत्पादन गर्ने क्षमताको उद्योगले लोडशेडिङ हुँदाहुँदै पनि पूर्वी भेगमा खपत हुने दानाको ४० प्रतिशत बजार हिस्सा लिएको छ ।

प्यालेट दाना उत्पादन गर्ने पूर्वको एकमात्र उद्योग र देशका आठओटा उद्योगमध्ये प्रमुख चारमा गनिन्छ ज्ञानेन्द्रको सागर फिड । काठमाडौंमा पोल्ट्री फर्म, पकलीमा सम्पूर्ण अटो ट्रेडलिङ्क, इटहरीमा सत्यसाई भेट, बनेपामा सुन्दर पोल्ट्री फर्ममा लगानी गरेका छन् ज्ञानेन्द्रले । काठमाडौंमा सिमर्ग इण्टरनेशनल नामक भेटेरिनरी मेडिसिनको थोक विक्रेताका रूपमा पनि काम गरिरहेका छन् उनले । उनकै सक्रियतामा हालै कोहलपुरमा श्रीवागेश्वरी ह्याचरी स्थापना भएको छ । उनले सबै उद्योग साझेदारीमा सञ्चालन गरेका छन् । अन्त्यन्त निकटका व्यक्तिहरूसँगको साझेदारीले उनको व्यवसाय सधैं फस्टाइरहेको उनको अनुभव छ । उनका उद्योगमा २ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । मासु प्रशोधन र भण्डारण उद्योग सञ्चालन गर्ने र कुखुरामा लाग्ने रोग निवारणका निम्ति अनुसन्धान एवम् प्रयोगशाला स्थापना गर्ने योजनामा लागिरहेका छन् उनी ।

४३ वर्षीय ज्ञानेन्द्रले छोटो अवधिमा सफलता हासिल गर्नुको रहस्य हो- अथक मेहनत र कामप्रतिको समर्पण ।  दैनिक १६ घण्टाभन्दा बढी समय काम गर्छन् उनी । व्यावसायिक व्यस्तताले परिवारलाई समेत समय दिन पाएका छैनन् ज्ञानेन्द्रले । कामकै सिलसिलामा काठमाडौँ , पोखरा घुम्ने उनले यस वर्षदेखि श्रीमतीलाई पनि घुमाउने प्रण गरेका छन् । हरेक दिन बिहान आधा घण्टा योग र प्राणायाम गर्ने उनी ७ बजे कार्यालय पुगी सक्छन् ।

साँझ ८ बजेपछि कार्यालयबाट निस्कने उनी पत्रपत्रिका र पुस्तकहरू पढेर राति ११ बजेमात्र शयनकक्षमा प्रवेश गर्छन् । बुद्धिचाल खेल्न रुचाउने उनी टोलछिमेक वा धरान विराटनगरतिर बुद्धिचाल प्रतियोगिताको खबर पाए भने काम छाडेर त्यहाँ पुग्छन् । बुबाआमाको आर्शीवाद र जीवनसँगिनीको सहयोगबाट आजको अवस्थामा पुगेको स्वीकार गर्छन् ज्ञानेन्द्र ।

Admin 2011-06-15