विधि र प्रविधि
नरेन्द्रराज शर्मा
महानिर्देशक
वैदेशिक रोजगार विभाग
जनतालाई केन्द्रमा राखेर सरकारी सेवकले जिम्मेवारीसाथ काम गर्नुपर्ने बताउँछन् नरेन्द्रराज शर्मा । 'सरकारी कर्मचारीले 'राष्ट्रको सेवक हुँ' भन्ने भावनाले काम नगरेसम्म जनताले राज्यको अनुभूति गर्न पाउँदैनन्,' उनी भन्छन् । यही मान्यताले ३३ वर्षको आफ्नो सरकारी सेवा विवादरहित भएको उनको विश्वास छ । ५५ वसन्त पार गरिसकेका यी पाका राष्ट्रसेवक भन्छन्, 'हृदयमा इमानदारी, काँधमा जिम्मेवारी र मस्तिष्कमा समझदारी लिएर अघि बढे कहीँ कतै असफल हुनुपर्दैन ।'
विभिन्न सरकारी निकायको अनुभव सँगाल्दै ३ महीनायता वैदेशिक रोजगार विभाग सम्हाल्न आइपुगेका महानिर्देशक शर्माको सरकारी सेवा अवधि अब ३ वर्षमात्र बाँकी छ । 'वैदेशिक रोजगारलाई विधिले नियन्त्रण गर्न प्रविधिलाई व्यवस्थित गर्दै छु,' शर्मा भन्छन् । रोजगारका लागि बाहिरिने र भित्रिनेको तथ्याङ्क व्यवस्थित गर्न अध्यागमनसँग मिलेर विभागले काम गर्दै छ । 'वैदेशिक रोजगारीका लागि खुलेका अभिमुखीकरण संस्थाहरूको अनुगमन निर्देशिकालाई थप व्यवस्थित बनाउन प्रयास गरिरहेको छु,' उनले बताए ।
समाजसेवामा सक्रिय पिताको प्रतिष्ठाबाट प्रभावित शर्माको सपना २०३० सालमा एसएलसी उत्तीर्ण भएपछि बदलियो । व्यवस्थापन विषय लिएर महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा अध्ययन गर्दा उनलाई पढाइ खर्चले पिरोल्यो । वनपैदावार विकास उपसमितिमा लेखापालको जागीर खाए । पढ्दा उनी समयतालिका बनाउँथे । भन्छन्, 'अहिले पनि समयतालिका बनाएर काम गर्छु ।' उनले आफूले सम्पादन गरेका विगतका सबै कामको समीक्षा गर्ने गरेको पनि बताए । २०३५ सालमा लोकसेवा आयोगको प्रतिस्पर्धाबाट नायब सुब्बा बनेका शर्मा ४ वर्षभित्रै अधिकृत भए ।
सामान्य प्रशासन मन्त्रालयमा ६ महीना बिताएका शर्माले महत्त्वपूर्ण ठानिने गृह मन्त्रायलमा लामो समय बिताए । उनलाई मन्त्रालयले हुम्लाको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर खटायो, यो उनलाई आफ्नो काम र क्षमता देखाउने अवसरसमेत बन्यो । हुम्लावासीको मुख्य समस्या बनेको नागरिकता र खाद्यान्नको कुपन वितरण उनकै अगुवाइमा व्यवस्थित भयो । हुम्लाबाट फर्केका शर्माले वागमती अञ्चलाधीशको कार्यालय, कैलाली, डोल्पा, दाङ, भक्तपुरलगायतका क्षेत्रमा रहेर प्रशासनिक अनुभव सँगाल्ने मौका पाए । २०५२ सालमा उपसचिवमा पदोन्नति भएपछि उनले झण्डै एक दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को जिम्मेवारी सम्हाले । 'कानूनले दिएको अधिकार प्रयोग गरेर निष्ठापूर्वक काम गरेको छु,' शर्मा भन्छन्, 'जहाँ गएको छु, जनताको भावना र मर्मलाई बुझ्ने प्रयास गरेको छु ।'
'प्रजिअ भएर अर्घाखाँचीलाई मदिरा निषेधित क्षेत्र बनाएँ,' उनी कार्यक्षेत्रमा सफलता पाएका कामहरूको टिपोट गर्दै भन्छन्, 'यस कुराले मलाई अहिले पनि सन्तुष्ट बनाउँछ ।' भावनात्मक रूपले पनि अर्घाखाँचीसँग आफू नजिक रहेको उनले बताए । लोकतान्त्रिक आन्दोलनताका चितवनमा आफूले समन्वयकारी भूमिका निर्वाह गरेको पनि बताउँछन् ।इमानदारी, समन्वय र सहजकर्तालाई उनले व्यवस्थापन दर्शन बनाउँदै आएका छन् । अरूको भावनालाई समेटेर काम लिनुपर्ने उनको बुझाइ छ । 'कर्मचारीलाई विश्वासमा लिन जान्नुपर्छ,' उनी भन्छन्, 'हाकिम शैलीको व्यवहारले कसैलाई राम्रो गर्दैन ।' विभागमा हाल उनले २ निर्देशकसहित ५९ जना कर्मचारीको नेतृत्व गरिरहेका छन् । रोजगारीका लागि विदेशिने युवालाई स्वदेशमै श्रम बगाउन सुझाव दिने शर्मा भन्छन्, 'जानै परे, नेपालकै विमानस्थल प्रयोग गरेर मात्रै जानुहोस् ।' उनी वैदेशिक रोजगारीमा हुने ठगीतर्फ सङ्केत गर्छन् ।वैदेशिक रोजगारीलाई मर्यादित बनाउन दृढ सङ्कल्पित छन् । गैरकानूनी ढङ्गले विदेशिनेको सङ्ख्यालाई निरुत्साहित पार्नुपर्ने सरकारको प्रमुख चुनौती रहेको बताउँछन् उनी । भारतीय विमानस्थललाई प्रयोग गर्दै गैरकानूनी रूपमा ठूलै सङ्ख्या नेपालीहरू अफगानिस्तान र इराक प्रवेश गर्ने गरेको बताउँछन् शर्मा । अफगानिस्तान र इराक कामदारका लागि सबैभन्दा चुनौतीपूर्ण रहेको उनको ठहर छ । नेपाली कामदारले १७ ओटा मुलुकलाई गन्तव्य बनाउँदै आएको बताउँदै उनी भन्छन्, 'सबैभन्दा बढी मलेशिया र कतार जाने गरेका छन् ।'ईश्वरप्रति उनको अगाध आस्था छ । 'हाम्रा सबै काम कारबाही ईश्वरद्वारा निर्देशित छन्,' उनी भन्छन् । सरकारी सेवाबाट निवृत्त भएपछि जन्मथलो सुर्खेतको पोखरीकाँडामै फर्किएर सामाजिक काम गर्ने सोच बनाएका छन् शर्माले । सरकारी सेवालाई जागीरको रूपमा मात्र लिन नहुने भनाइ उनको छ । उनी भन्छन्, 'राम्रो काम गरे मात्र जनताबाट सद्भाव पाइन्छ ।'