शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''शिक्षाको विकासमा'' - पङ्कज जलान
निर्देशक, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन

पेशाले उनी सिभिल इञ्जिनीयर हुन् । भारतबाट बीई गरेपछि उनले केही समय सरकारी सेवामा समाहित गरे आफूलाई । तर, त्यहाँ व्याप्त अनियमितताले उनको उत्साहलाई उडायो । प्राविधिक क्षेत्रमा विशेष दखल भएका उनले नयाँ काम गरेर राष्ट्रको सेवा गर्ने प्रण एसएलसी नगर्दै गरेका थिए । लामो समयदेखि शैक्षिक क्षेत्रमा लागेका काकाको सहयोगमा उनले आफ्नो चाहनालाई मूर्तरूप दिए- मुलुकको पहिलो सूचनाप्रविधिसम्बन्धी शिक्षण  संस्था स्थापना गरेर । लर्डबुद्ध एजुकेशन फाउण्डेशनका निर्देशक पङ्कज जलान जनकपुरको मध्यमवर्गीय व्यापारिक परिवारमा जन्मे हुर्केका हुन् । त्यहीँबाट प्रवेशिका परीक्षा उउत्तीर्ण गरेपछि उनी पञ्जाब युनिभसिटीतिर हान्निए बीई गर्न । शैक्षिक संस्था सञ्चालन गरेकाले इञ्जिनीयरिङको अध्ययनमात्र पर्याप्त लागेन उनलाई । त्यसैले उनले व्यापार व्यवस्थापनका साथै दर्शनशास्त्रमा थप दुईओटा डिग्री लिए- ज्ञानरूपी सागरका केही थोपा ग्रहण गर्ने उद्देश्यले ।

बाह्र वर्ष यो पङ्कजले लर्डबुद्ध एजुकेशन फाउण्डेशन सञ्चालन गरेको । सूचनाप्रविधिसम्बन्धी दक्ष जनशक्तिको अभाव पूरा गर्न शैक्षिक क्षेत्रमा हात हालेका हुन् उनले । उनले स्थापना गरेको प्रतिष्ठानबाट उत्पादित जनशक्तिले अन्तरराष्ट्रिय बजारमा आफ्नो शीप शानसँग बेचेकामा दङ्ग छन् उनी । ५ वर्ष अहोरात्र खटेर उनले लर्ड बुद्धलाई आजको अवस्थामा पुर्याएका हुन् । स्थापनाकालमा प्रतिस्पर्धीहरूले उनलाई हतोत्साही बनाउन र व्यवसायबाटै बाहिरिन बाध्य पार्न कम कसरत गरेनन् । तर, चुनौतीलाई चिर्दै चुचुरोतिरको गन्तव्यलाई निरन्तरता दिइरहे । 'नेपाली नागरिकताको प्रमाणपत्र देखाउनुपर्नेसम्मको अवस्था आइपर्यो,' अमिलो मन गर्दैनी विगत कोटयाउँछन् ।

बाह्र सय विद्यार्थीले विद्या ग्रहण गरिरहेका छन् लर्ड बुद्ध एजुकेशन फाउण्डेशनमा । ३ सय ५० जनाले रोजगारी पाएका छन् ।  १ करोड रुपैयाँको हाराहारीमा स्थापना भएको हो फाउण्डेशन । अहिले यो विस्तारको बाटोमा बढेको छ । यसलाई सूचनाप्रविधि अध्यापन गराउने विश्वविद्यालयमा विकास गर्ने लक्ष्य छ पङ्कजको । बजार मागअनुसार प्राविधिक ज्ञान र शीपयुक्त जनशक्तिको खाँचो खट्किरहेकाले विश्वविद्यालय बनाउने उनको सपना साकार हुनेमा अविश्वास गर्न सकिन्न । विभागीय प्रमुख र समन्वयकर्ता नियुक्त गरेका छन् उनले दैनिक शैक्षिक एवम् प्रशासनिक कार्यसम्पादनका निम्ति । विकेन्द्रीकृत कार्य प्रणालीमा विश्वास गर्ने उनलाई समूहगत कार्यबाट लक्षित उपलब्धि हासिल हुने लाग्छ । कामचोर र बेइमानसँग व्यवहार गर्न उनलाई रत्तीभर मन लाग्दैन ।

फाउण्डेशनको शैक्षिक पाटो हेर्ने पङ्कजका दौंतरी इञ्जिनीयर प्रकाश कुमार समयको माग र आवश्यकताअनुसार काम गर्न सक्ने उनको बानीको सराहना गर्छन् । सबैसँग खुलेर कुरा गर्ने र गल्ती गरे पनि सुधार्न अवसर दिने उनको कार्यशैली प्रकाशलाई प्रभावकारी लाग्छ । पङ्कजले कुनै कुरामा आफूलाई सुधार गर्नुपर्छ जस्तो उनलाई लाग्दैन ।

उच्च शिक्षाका साथै व्यावसायिक एवम् प्राविधिक शिक्षाका लागि वर्षेनि अर्बौं रुपैयाँ बाहिरएको वास्तविकतालाई टुलुटुलु हेर्न नसकेर पङ्कजले पहिलोपटक स्नातक र स्नातकोत्तर तहको प्राविधिक पढाइ स्वदेशमा नै सञ्चालन गरेका हुन् । सूचनाप्रविधिसम्बन्धी जनशक्तिमा उनको संस्था आत्मनिर्भर भए पनि बेलाबेलामा बाहिरबाट विज्ञ बोलाएर विद्यार्थीलाई दीक्षित गर्छन् उनी । राजनीतिक अस्थिरताका कारण विद्यार्थी विदेशिएका उनको ठम्याइ छ । बन्द हडतालबाट आजित भएका अभिभावकले पनि आफ्ना सन्तानको विदेश रोजाइलाई साथ दिएको उनलाई लाग्छ । अतिविषम अवस्थामा पनि निर्धारित समयमा 'कोस' पूरा गरेर संस्थाको साख जोगाएकोमा गौरव गर्छन् उनी । शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त राख्न उनको राजनीतिक दलहरूसँग विनम्र अनुरोध छ ।

आफ्नो कामप्रति सन्तुष्ट छन् ३९ वर्षीय पङ्कज । यद्यपि अझै धेरै गर्न बाँकी भएकाले आफूलाई सफल भन्न रुचाउँदैनन् । परमानन्द केजरिवाललाई प्रेरणाको स्रोत मान्छन् उनी । उनलाई संस्थागत संस्कृति र संस्कारले क्रमशः गति लिएको लाग्छ । दानधर्ममा अभिरुचि भए पनि त्यो प्रचारको विषय होइन उनका लागि । गरीबको उत्थानका लागि सबैले सकेको गर्नुपर्छ भन्ने उनले विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिएर आजीवन आत्मनिर्भर बनाउने गरेका छन् ।

Admin 2011-04-14