भाग्य र कर्ममा समान
विश्वास
प्रकाश पौडेल
प्रमुख कार्यकारी अधिकृत
शाइन डेभलपमेण्ट बैङ्क, बुटवल
सहायक स्तरबाट जागीरे जीवन शुरू गरेर बैङ्कको प्रमुख कार्यकारी अधिकृत पदमा पुग्दा पनि प्रकाश पौडेलमा कुनै घमण्ड छैन । कालो बादलमा चाँदीको घेरा देख्ने उनी जीवनलाई भाग्य र कर्मले अघि डोर्याउने विश्वास गर्छन् । अर्घाखाँची जिल्लामा जन्मिएका पौडेलले हाल रूपन्देहीको मणिग्रामलाई बसोबासको थलो बनाएका छन् । २०३० सालमा जन्मिएका पौडेलले २०५३ सालमा बुटवलस्थित पश्चिमाञ्चल फाइनान्स कम्पनीमा सहायकस्तरको जागीर खाएका थिए । सानै पदमा भए पनि वित्त कम्पनीमा जागीर खानुको उद्देश्य यस क्षेत्रप्रतिको अगाध रुचि नै रहेको उनको भनाइ छ । 'बैङ्किङ क्षेत्रमा प्रवेश नगरेको भए औषधि व्यवसायी बन्थें हुँला,’ उनी भन्छन् । बैङ्किङ क्षेत्रको उन्नतिविना आर्थिक गतिविधि अगाडि बढाउन नसकिने पौडेलको धारणा छ । भन्छन्, 'बैङ्किङ क्षेत्रमा काम गर्दा आफ्नो आन्तरिक क्षमता र उद्यमशीलताको समेत प्रयोग गर्न पाइन्छ ।'
व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका पौडेलले पश्चिमाञ्चल फाइनान्सको १२ वर्षको अनुभवलाई शाइन डेभलपमेण्ट बैङ्कमा उपयोग गरेका छन् । उनी २०६५ सालदेखि शाइन डेभपलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । पश्चिमाञ्चल फाइनान्सको प्रबन्धक पदमा कार्य गरिरहेका पौडेलले शाइनको स्थापनासँगै सीईओको जिम्मेवारी सम्हालेका हुन् । उनको नेतृत्वमा बैङ्कले अहिले उच्च प्रगति गरिरहेको छ । रूपन्देही, अर्घाखाँची र नवलपरासी गरी ३ जिल्लालाई कार्यक्षेत्र बनाएको बैङ्कले अहिले ५ शाखा, २ एक्सटेन्शन काउण्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । 'स्थापनाकालदेखि नै नाफामा सञ्चालित बैङ्कले २०६८ असार मसान्तसम्म रू. १ अर्ब २७ करोड निक्षेप, रू.८७ करोड कर्जा लगानी गरी रू. ४ करोड ३० लाख सञ्चालन मुनाफा आर्जन गरेको छ,’ पौडेलले भने । रू. ६ करोड रुपैयाँ चुक्ता पूँजीबाट सेवारम्भ गरेको बैङ्कले २०६८ असार मसान्तसम्ममा चुक्ता पूँजी रू. २० करोड पुर्याएको छ ।कुनै पनि व्यक्ति सफल हुन ऊभित्र पर्याप्त असल गुण हुनुपर्ने पौडेलको मान्यता छ । यही मान्यतामा रहेर उनले कार्यालयका कर्मचारीलाई सबैभन्दा असल बन्न उत्प्रेरित गर्छन् । सबै तहका कर्मचारीसँग समान व्यवहार गर्नु पौडेलको व्यवस्थापनमन्त्र हो । अवसर पाएका खण्डमा सबैले केही न केही गर्न सक्छन् भन्नेमा उनको विश्वास छ । यही मान्यतामा आधारित रहेर पौडेल हरेक कर्मचारीका निम्ति उपयुक्त अवसर सृजनामा लागिपर्छन् । 'चेयर सुड बि फेयर’ भन्ने मान्यताअनुरूप कार्यालयमा निर्णयगर्ने गरेको उनी बताउँछन् । एउटा कम्पनी सफल हुन त्यहाँ कार्यरत सबै कर्मचारीको भूमिका समान हुने उनको धारणा छ ।
विभिन्न सामाजिक कार्यमा संलग्न हुन रुचाउने पौडेल रोटर्याक्ट क्लब अफ बुटवल साउथ र प्रभात यूथ क्लबको भूतपूर्व अध्यक्ष हुन् । हाल उनी रूपन्देही व्यापार सङ्घको आर्थिक सल्लाहकार छन् भने रोटरी क्लब अफ बुटवल साउथ पनि संलग्न छन् । अधिक समय काममै लगाउने भएका कारण पौडेलले त्यतिसारो भ्रमण गर्न भने भ्याएका छैनन् । 'नेपाल र भारतका प्रमुख शहर घुमेको छु,' उनले भने । कर्म र भाग्य दुवैप्रति उत्तिकै विश्वास गर्ने पौडेल धर्मप्रतिको आस्थाले सत्कर्म गर्न प्रेरित गरिरहने बताउँछन् । हरेक बिहान ५ बजेबाटै उनको दैनिकी शुरू हुन्छ । आफूलाई स्वस्थ राख्न करीब २ घण्टा जिममा बिताउँछन् ।
हरेक मान्छेले राजनीतिमा प्रत्यक्ष संलग्न नभई राजनीतिबारे जानकारीमात्रै राख्नुपर्ने उनको धारणा छ । देशको वर्तमान अवस्थाले उनलाई चिन्तित बनाएको छ । सकारात्मक सोचका साथ हरेक नेपालीले काम गरे जस्तोसुकै समस्या पनि समाधान हुने पौडेल बताउँछन् । फुर्सदको समयमा मुडअनुसारको सङ्गीत सुन्नु उनको शौक हो । दुई छोराका पिता पौडेल फुर्सदमा परिवारसँगै बस्न बढी रुचाउँछन् । कुनै पनि मान्छे सफल-असफल बन्नुमा पारिवारिक भूमिका महत्त्वपूर्ण हुने उनी बताउँछन् ।
Admin 2011-08-18