शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''प्राथमिकता औद्योगिक विकास'' - सुरेन्द्र श्रेष्ठ
उपाध्यक्ष, बुटवल उद्योग वाणिज्य सङ्घ

माओवादी द्वन्द्व चरमोत्कर्षमा पुगेका बेला उनले व्यवसाय थालेका हुन् । मेहनतबाट नै सफलतातिर उन्मुख भइन्छ भन्ने दृढ आत्मविश्वासका कारण उनले प्रतिकूल परिस्थितिमा पनि जोखिम मोले । बुटवल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठलाई असामान्य अवस्थामा काम गर्दा अर्कै किसिमको आनन्द प्राप्त हुन्छ । भन्छन्, त्यस्तो स्थितिमा जोखिम उठाउँदा आत्मसन्तुष्टि र आँट बढ्छ । बुटवलका पुराना व्यापारी हीराप्रसाद श्रेष्ठका जेठा छोरा सुरेन्द्रले प्रारम्भमा रेष्टुराँ सञ्चालनको तयारी गरेका थिए । त्यसका निम्ति आवश्यक भौतिक पूर्वाधार निर्माण गरे पनि मुलुकको शान्तिसुरक्षाको दयनीय अवस्थाका कारण झण्डै २० लाखको लगानीका परियोजना थाती राखेर २०५७ सालतिर होटल व्यवसाय थालेका हुन् उनले ।

पहाड र तराईको सङ्गमका रूपमा रहेको बुटवल व्यापार-व्यवसायका हरेक दृष्टिले प्रशस्त सम्भावना बोकेको उदीयमान नगर भएकाले सुरेन्द्रले त्यहाँ होटल खोलेका हुन् । बुटवल भएर दैनिक हजारौंको सङ्ख्यामा पूव-पश्चिम, उत्तर-दक्षिण गर्नेमध्ये ५ प्रतिशत मात्र पनि गाँस र बासको खोजीमा आफ्नो होटलमा आउने विश्वासमा  रेष्टुराँमा गरेको लगानी चटक्क छाडेर होटलतिर होमिएका हुन् उनी । बुटवलको मध्यभागमा रहेको 'होटल सेण्टोसा’लाई उत्कृष्ट सेवाप्रदायक होटलका रूपमा नयाँ परिचय दिन उनी लागिपरेका छन् । सधैं एउटै व्यवसायमा बस्न नहुने बाबुबाजेको भनाइलाई शिरोपर गर्दै उनले पर्यटन सेवामा लगानी गरेको बताए । अढाइ दशकभन्दा लामो समयसम्म एउटै व्यवसायमा अलमलिन नहुने उनको मत छ ।

शुरूमा सुरेन्द्रले कपडाको व्यापारसँगै बिस्कुट, साबुन हुँदै नेपाल थाइ फूड कम्पनीको डिलरशिप लिएका थिए । मुलुकमा भएको सडक विस्तारसँगै यातायात व्यवसायमा समेत मनग्गे लगानी गरेका उनी माओवादी द्वन्द्वको दबाबमा त्यसबाट बाहिरिन बाध्य भएको दुखेसो गर्छन् । बन्दहडताल र पार्टीले भनेका ठाउँमा हिँड्नुपर्ने बाध्यता बढेपछि यातायात व्यवसाय छोडेको सुरेन्द्र बताउँछन् । यातायातबाट बाहिरिएपछि उनी होटलतिर लागेका हुन् । २०१७ सालमा पाल्पाको भैरवस्थानबाट बुटवल झरेका उनका पिताले शुरू गरेको व्यावसायिक यात्रालाई साथ दिँदै उनी झण्डै १५ वर्षदेखि व्यवसायीका रूपमा सक्रिय छन् । उनलाई साथ दिएका छन् भाइ देवेन्द्रले । पिताले लगानी गरेको पूँजीबाट व्यवसाय विस्तार गर्दै अग्रगतिमा अघि बढेका सुरेन्द्र र देवेन्द्रले राज्यकोषमा वर्षेनी २० लाख रुपैयाँ राजस्व बुझाउने गरेका छन् ।

सामूहिक कार्यपद्धतिमा विश्वास गर्छन् सुरेन्द्र । कहिल्यै कसैलाई भेदभाव गर्दैनन् । इमानदारी, लगनशीलता र कामप्रतिको समर्पण उनको व्यवस्थापन मन्त्र हो । आफू दृष्टान्त बन्नुपर्नेमा जोड दिने उनी मातहतका कर्मचारीलाई उत्कृष्ट काम गर्न हौस्याइरहन्छन् । राम्रो काम गर्नेलाई मौद्रिक एवम् गैरमौद्रिक पुरस्कार पनि दिन्छन्  सुरेन्द्र । उनलाई अल्छी र कामचोरहरूसँग व्यवहार गर्न पटक्कै मनपर्दैन ।

केही समयपछि पुनः व्यवसाय परिवर्तन गर्ने सोचमा छन् सुरेन्द्र । उत्पादनमूलक उद्योग स्थापनामा लागेका उनी त्यसलाई अहिले नै सार्वजनिक गर्नु असान्दर्भिक ठान्छन् । आफूलाई उद्योगपतिका रूपमा स्थापित गराउने त्यो उद्योगले सयौं नेपालीलाई रोजगारी प्राप्त हुने सगर्व उल्लेख गर्छन् उनी । पूर्ण लगानी मैत्री वातावरण नहुँदा आर्थिक विकासका ठूला परियोजना सञ्चालन हुन नसकेको उनको ठम्याइ छ । अहिलेको अवस्था सधैं  नरहनेमा आशावादी उनी नेतृत्व वर्गलाई राजनीतिमा अर्थतन्त्र नमिसाउन आग्रह गर्छन् । आर्थिक मुद्दालाई अधिक प्राथमिकता दिनुपर्नेमा जोड दिने उनी सरकार र निजीक्षेत्रको साझेदारीमा मुलुकमा विद्यमान गरीबी थोरै भए पनि घटाउन सकिनेमा विश्वस्त छन् ।

Admin 2011-03-15