''व्यवसायका लागि विश्वासको वातावरण'' - चन्द्रकुमार गोल्छा
कार्यकारी निर्देशक
हुलास स्टील इण्डष्ट्रिज
पितापुर्खाले स्थापना गरेको व्यवसायलाई नयाँ उचाइमा पुर्याउने कार्यलाई उनले आफ्नो मुख्य लक्ष्य बनाएका छन् । आफ्ना पिता हुलासचन्द गोल्छाको प्रेरणा र उनले देखाएको बाटोमा अघि बढेका उनलाई पाखुरा बजारे आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने लाग्छ । हुलास स्टील इण्डष्ट्रिजका कार्यकारी निर्देशक चन्द्रकुमार गोल्छा कृषिक्षेत्रको विकासबाट आर्थिक क्रान्ति गर्न सकिने बताउँछन् । उनको विचारमा देशका विभिन्न भागमा कृषि विद्यालय स्थापनाका साथै प्राविधिक एवम् व्यावसायिक तालीम केन्द्र विस्तार अपरिहार्य भएको छ । दक्ष जनशक्ति विदेशिने क्रम बढेकाले भविष्यमा औद्योगिक प्रतिष्ठानहरूसमेत प्रभावित हुने चिन्ताले उनलाई सताएको छ । शीप जानेकाहरूले शीघ्र रोजगारी पाउने भएकाले प्राविधिक एवम् व्यावसायिक शिक्षापद्धति अहिलेको आवश्यकता भएको उनको भनाइ छ । शीप जानेकाहरूलाई वैदेशिक रोजगारीमा पनि राम्रा अवसर प्राप्त हुन्छ भन्ने उनी शीप विकासलाई बेवास्ता गरिएको गुनासो गर्छन् ।
कृषिक्षेत्रको विकासविना नेपालको आर्थिक समृद्धि असम्भव ठान्ने गोल्छा कृषिमा आधारित उद्योगको मात्र विकास गर्न सके पनि अहिलेको विषम आर्थिक अवस्थाबाट पार पाउन सकिने ठोकुवा गर्छन् । बीउबिजनको विकास एवम् मलखादको उत्पादन गर्न सकिने प्रशस्त सम्भावना रहेको देख्ने उनी सडक र नहरजस्ता पूर्वाधारको विकास अपरिहार्य भएको ठान्छन् । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ३१ प्रतिशत कृषिक्षेत्रको योगदानलाई नगन्य भन्न नहिचकिचाउने उनी कुनै समय उक्त क्षेत्रले ६० प्रतिशतको हाराहारीमा योगदान गरेको स्मरण गराउँछन् । बढ्दो शहरीकरणका कारण खेतीयोग्य जमीन घट्नु, कृषि श्रमिक विदेशिनु र प्रतिकूल मौसमले कृषि उत्पादनमा असर पारेको वास्तविकतालाई उनी यसको कारण ठान्छन् ।
छिमेकी मुलुक भारत र चीनमा जस्तै उद्योग व्यवसायको उन्नयनका लागि सरकारीस्तरमा प्रोत्साहन हुनुपर्ने धारणा व्यक्त गर्ने गोल्छा कोलकाता बन्दरगाहमा तिर्नुपर्ने महसलु र त्यहाँबाट यहाँ सामान ल्याउँदा तथा त्यता लैजाँदा बेहोर्नुपर्ने चर्को भाडालाई सम्बोधन गर्नुपर्नेमा जोड दिन्छन् । 'एकअर्कालाई सम्झौँ , संयमित भएर काम गरौँ , शङ्काउपशङ्का आर्थिक समृद्धिका अवरोध हुन्' विश्वासको वातावरणमा व्यापार-व्यवसाय फस्टाउनेतर्क गर्दै उनी भन्छन् । औद्योगिक क्षेत्र निर्माण, विकासका संरचनाको विस्तार, राजनीतिक स्थायित्वसहितको सुरक्षाले प्रत्यक्ष वैदेशिक लगानी सहजरूपमा भित्रिनेमा उनी विश्वस्त छन् । बिजुलीजस्तो आधारभूत आवश्यकता पूरा नहुदासम्म आर्थिक विकास कोरा कल्पनामात्र हुने उनको बुझाइ छ ।
विगत २५ वर्षदेखि हुलास स्टील इण्डष्ट्रिजलाई नेतृत्व दिइरहेका गोल्छाको कम्पनीले औद्योगिक प्रतिष्ठान तथा घरायसी प्रयोजनका पाइप तिनका सकेटलगायत फिटिङ्स, रङ्गीन जस्तापाता, विद्युत् तथा टेलिकमका निम्ति भीमकाय खम्बा बनाउँदै आएको छ । दुई अर्ब रुपैयाँको लगानीमा स्थापना भएको उनको उद्योगमा प्रत्यक्षरूपमा एक हजारले रोजगारी पाएका छन् । विभाग र एकाइमा कार्य विभाजन गरेर विकेन्द्रित कार्यप्रणाली अपनाएका उनले सबैलाई स्वामित्वबोधसहितको जिम्मेवारी सुम्पेका छन् । मेहनत र इमानदारीलाई मूलमन्त्र बनाउन कर्मचारीलाई उत्प्रेरित गर्ने उनी बेलाबेलामा उनीहरूलाई वृत्तिविकासका साथै व्यावसायिक तालीम पनि दिने गर्छन् ।
भारतको बैङ्गलोरबाट मेकानिकल इञ्जिनीयरिङमा स्नातक गरेका गोल्छा मुलुकको व्यापारिक नाका वीरगञ्जमा इञ्जिनीयरिङ कलेज स्थपना हुनुपर्ने बताउँछन् । देशलाई इञ्जिनीयरहरूको अति आवश्यकता भएको बताउने उनी साँघुरा सडक फराक बनाउने, बाटो नभएका स्थानमा ट्रयाक खोल्नेलगायत पूर्वाधार विकासका काम नगरी अर्थतन्त्रलाई उकास्न नसकिने मान्यता राख्छन् । नेपालमा पनि संस्थागत संस्कृति (कर्पोरेट कल्चर) बामेर्सन थालेको अनुभूति उनलाई भएको छ । त्यसलाई उनी अत्याधुनिक शिक्षा प्रणालीले सिकाएको पाठ भन्न रुचाउँछन् ।
शिथिल अवस्थामा रहेको अर्थतन्त्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कुरालाई औचित्यहीन भएको टिप्पणी गर्ने गोल्छालाई 'कर्पोरेट गभर्नेन्स' को विकास पनि भएको जस्तो लाग्दैन । समाजप्रति हरेक नागरिकको उत्तिकै दायित्व हुन्छ उनी भन्छन् । न्यूनतम आर्थिक लक्ष्य हासिल नगरेको कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व सहजरूपमा पूरा गर्न सक्दैन भन्छन् । व्यक्तिगत एवम् संस्थागत रूपमा दीनहीनलाई सक्दो सहयोग गरिरहेका उनी सकेसम्म दानदातव्यका विषय प्रचारमा ल्याउन हुँदैन भन्छन् । यद्यपि उनको कम्पनीले देशका विभिन्न भागमा सञ्चालित विद्यालय र अस्पतालालाई आर्थिक एवम् भौतिक सहयोग गर्दै आएको छ ।