शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''चाहना  करदाताको सम्मानको'' - सुधीरबाबु खत्री
पूरा आकारमा हेर्नुहोस्प्रमुख कार्यकारी अधिकृत, डीसीबीएल बैङ्क लिमिटेड

देश विकासको महान् यज्ञमा सरिक हुन सबै उद्यमी व्यवसायीलाई उनी आग्रह गर्छन् । मुलुकको आर्थिक उन्नयनको मुद्दालाई उनले र्सवाधिक प्राथमिकतामा राखेका छन् । 'नेपाली हौं, जुन व्यवसायमा भए पनि राष्ट्रको समृद्धिका निम्ति योगदान गरौं' देशप्रेमको भावना प्रकट गर्दै हरेक तहका उद्यमीलाई उनी अनुरोध गर्छन् । डीसीबीएल बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुधीरबाबु खत्री व्यक्तिगत रूपमा धेरै कर तिर्ने नागरिकहरूलाई राज्यले कदर नगरेकोमा खिन्न छन् । नेपालमा सबैभन्दा बढी कर तिर्ने १ सय ५० जनाभित्र आफू पर्ने दाबी गर्ने उनलाई कर दाताको सम्मान भएमा करको दायरा फराकिलो हुने लाग्छ । बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूले खाइपाइ आएको तलबभत्ताबापत ठूलो रकम करका रूपमा तिदै आएकोमा उनी गर्व गर्छन् । राज्यलाई कर तिर्न कञ्जुस्याइँ गर्न नहुनेमा जोड दिने उनी करलाई पनि विकासको वाहक मान्छन् ।

बैङ्क सुपरिवेक्षण निर्देशिका (बासल दुइ र तीन) अनुरूप बैङ्क तथा वित्तीय संस्थालाई थप उत्तरदायी एवम् पारदर्शी बनाउन प्रमुख भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट नेपाल राष्ट्र बैङ्क विमुख नहुनेमा विश्वस्त खत्री सकारात्मक सोचबाट काम गर्न सबैलाई अभ्रि्रेरित गर्छन् । अन्तरराष्ट्रिय नीति, नियम  एवम् मान्यताअनुसार बैङ्क तथा वित्तीय संस्थालाई स्तरीय बनाउन गहन दायित्व भएको मुलुकको केन्द्रीय बैङ्क सीईओको तलब निर्धारणजस्ता झीनामसिना विषयमा अल्झिन्छ भन्ने उनलाई लाग्दैन । अति मिलनसार स्वभाव भएका उनी सबैसँग  सुमधुर सम्बन्ध कायम राख्न रुचाउँछन् । मौद्रिक अर्थशास्त्री एवम् अर्थतन्त्र बुझेका देशका दिग्गजलाई सुझाव दिन उनलाई प्रीतिकर लाग्दैन । जोसुकैसँग काम गर्न सक्ने क्षमता भएका उनी 'फलानो असल, ...खराब' भन्दैनन् । आफूले भलो गरे जगत्ले पनि भलो गर्ने उनको ठम्याइ छ ।

पाइलापाइलामा दूरदृष्टि, लक्ष्य र उद्देश्य निर्धारण गरेर हिँड्ने बानी भएका खत्री आफ्ना कर्मचारीलाई पनि त्यसै गर्न उत्प्रेरित गर्छन् । सहभागितामूलक व्यवस्थापनमा विश्वास गर्ने उनी त्यसैलाई व्यवस्थापन मन्त्र मान्छन् । एकतर्फी रूपमा निर्णय लादेर लक्षित परिणाम प्राप्त नहुने उनको मत छ । चाख र चुनौतीपूर्ण कामले प्रेरणा प्राप्त हुने उनको तर्क छ । 'दश-पाँच प्रवृत्तिले' संस्था र व्यक्ति दुबैले प्रगति गर्न नसक्ने विचार व्यक्त गर्ने उनी तलब-बोनसलाई 'इन्सेण्टिभ'को संज्ञा दिन्छन् । लैङ्गिक समानताको चर्का नारा लगाउने नेपाली राजनीतिक वृत्तलाई डीसीबीएल बैङ्कले गतिलो जवाफ दिएको छ- ६० प्रतिशत महिला कर्मचारीलाई रोजगारी दिएर । उनको बैङ्कका केही शाखा महिला नेतृत्वमा सञ्चालित छन् । उनले चाहेर होइन आवेदन गरेकाहरूमा महिला भएकाले त्यहाँ उनीहरूको बाहुल्य बढेको हो । यसलाई उनी संयोग मात्र मान्छन् । दक्ष जनशक्ति विदेशिएको र पुरुषको तुलनामा महिलाको बैङ्कप्रति आकर्षण बढेको उनको ठम्याइ छ । २ सय २० जनाको रोजीरोटी पकाउने स्थल बनेको डीसीबीएल आगामी पुस मसान्तसम्ममा २१ ओटा शाखा विस्तार गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ ।

आफूलाई 'सेल्फमेड' दाबी गर्ने खत्रीले १६ वर्षो उमेरमा ओभरसियर कोर्स गरेका थिए । समयलाई नै 'टर्निङ प्वाइण्ट' ठान्ने उनी तत्कालीन सोभियत सङ्घमा 'आर्किटेक्ट इञ्जिनीयरिङ पढ्न हिँडेको मान्छे नयाँ दिल्लीमा विमान छुट्दा सिभिल इञ्जिनीयर बन्न पुगें' अर्को उडानबाट तोकिएको स्थानमा पुग्दा सिभिलको सिटमा आफूलाई भर्ना गरिएको तीन दशक अघिको अविस्मरणीय क्षण र उत्थानबिन्दु उनी सुनाउँछन् । आफ्ना पिता भुवनेश्वर खत्रीको प्रेरणाबाट आजको स्थानमा आइपुगेको सगर्व बताउने उनले फिलिपिन्सबाट वित्त तथा व्यापार व्यवस्थापनमा स्नातकोत्तर र अन्तरराष्ट्रिय बैङ्क व्यवस्थापनमा डिप्लोमा गरेका छन् । तीन सन्तानका पिता खत्रीको डीसीबीएल चौथो सन्तान हो । साथीभाइमाझ स्पष्टवक्ता, साहसी र तत्काल निर्णय गर्ने क्षमतायुक्त व्यक्तिको परिचय बनाएका उनलाई कसैका काम झुलाएर राख्न मन लाग्दैन । हुने भए गरिदिने र नहुने भए त्यसको कारण खुलस्त खोलिदिने उनको कार्यशैली पारदर्शी छ ।

हरेक कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिने खत्री 'नाफामूलक काम मात्र गर्नु हुँदैन समाज उत्थानका निम्ति योगदान पनि गर्नुपर्छ' समाज र राष्ट्रप्रतिको भक्ति मुखरित गर्छन् । नेपालमा संस्थागत संस्कारको विकास नगण्य मात्रामा भएको उनको अनुभव छ । 'सबैको एउटै ध्येय छ- 'कुर्सी जोगाउने' राजनीतिक फाँटमा बढ्दो कुर्सी मोहप्रति विश्लेषणसहित कटाक्ष गर्छन् । व्यक्तिगत एवम् संस्थागतरूपमा समाजसेवा गर्ने उनी हरेक वर्ष'धूमपान त्याग अभियान' सञ्चालन गर्न क्यान्सर रिलिफ सोसाइटीलाई आर्थिक एवम् भौतिक सहयोग गरिरहेका हुन्छन् । मुटु र मिर्गौलाका रोगी हुन् वा अनाथ बालबालिका उनका सहयोगी हातहरू तिनको सेवाशुश्रूषाका निम्ति नजानिँदो पाराले अघि बढिरहन्छन् । विपन्न वर्गका छात्रछात्रालाई छात्रवृत्ति र विद्यालयको मर्मतसम्भारमा पनि उनले मनग्गे खर्चेका छन् ।