शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

थ्याङ्क यु ग्राहम
यु आर ग्रेट


केही महीनाअघि विश्व फुटबल महासङ्घ (फिफा)ले प्रकाशित गरेको विश्व वरीयताक्रममा नेपाल २० स्थान फड्को मार्न सफल भयो । यसलाई ठूलै उपलब्धि मान्नुपर्छ । त्यसैताका नेपालले भुटानसँग दुई मैत्रीपूर्ण खेल खेल्दै दुवैमा जित हासिल गरेको थियो । त्यो विजयले पनि नेपाललाई  वरीयताक्रममा ठूलो फड्को मार्न मद्दत गरेको थियो । त्यसपछि र अहिले पनि नेपालले राम्रो खेल खेलिरहेको छ, भलै उसले धेरै अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन भने पाएको छैन । केही वर्षअघिसम्म दयनीय अवस्थाबाट गुज्रिरहेको नेपाली फुटबलले छोटो समयमा नै यति राम्रो लय समात्नुको पछाडि केही कारणहरू छन् । पहिलो प्रमुख कारण हो, नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा इङ्ग्ल्याण्डका पूर्वस्टार खेलाडी ग्राहम रोबटसको आगमन ।

विश्वप्रसिद्ध इङ्ग्लिस क्लब टोटनह्यामले सन् १९८५ मा यूरोपकै अति प्रतिष्ठित यूइएफए कप जित्दा उक्त क्लबको नेतृत्व यिनै ग्राहमले नै सम्हालेका थिए । संयोग नै मान्नुपर्छ, सोही वर्ष नेपालले पहिलोपटक विश्वकप फुटबलको छनोट प्रतियोगितामा भाग लिएको थियो । त्यसपछि नेपालले लगातार विश्वकप छनोट खेल्दै आएको छ र यो संस्करणसम्म आइपुग्दा दोस्रो चरण प्रवेश त के एउटै खेल पनि जित्न सकेको थिएन । अपवादका रूपमा अघिल्लो संस्करणमा नेपालले बाई पाएर दोस्रो चरणमा प्रवेश गरेको थियो । तर, जब ग्राहमले नेपाली टोली सम्हाले, त्यसपछि भने कथा फेरिएको छ । गत चैतमा थाइल्याण्डमा सम्पन्न एएफसी च्यालेञ्ज कपका लागि नेपाली टोलीलाई प्रशिक्षण दिन ग्राहम १ महीने अनुबन्धमा नेपाल आएका थिए । छोटो प्रशिक्षणकालमा नै नेपाली टोलीले धेरै प्रगति गर्यो र एएफसी च्यालेञ्ज कपको फाइनलसम्म पुगेर विश्वकप छनोटमा सहभागी हुने मौका पायो । ग्राहमको प्रशिक्षणमा नेपाली खेलाडीले धेरै कुरा सिक्न सके, किनभने उनले फुटबलका नीति-कूटनीतिलाई राम्ररी बुझेका छन् । एउटा कुशल प्रशिक्षकले विश्व फुटबलमा अतिकमजोर नेपाललाई उच्च दर्जाको प्रशिक्षण त दिएका थिए नै, सबैभन्दा महत्त्वपूर्ण

पक्ष ग्राहमको मनमा नेपालका लागि रहेको आफ्नोपन र समर्पणको भावनाले खेलाडीलाई झनै प्रोत्साहित गरेको थियो ।ग्राहमको प्रशिक्षणमा नेपालले सात खेल खेलेको छ, जसमा पाँच जित, एक बराबरी र एक हार हात पारेको छ । उनकै प्रशिक्षणमा नेपालले दुई ठूला प्रतियोगिताको छनोट चरणमा सफलता पाइसकेको छ । पहिलो सफलताका रूपमा नेपाल एएफसी च्यालेञ्ज कपको फइनलसम्म पुगेको थियो । र, फाइनलमा पनि उत्तर कोरियाजस्तो सशक्त टोलीसँग १-० को झीनो अन्तरले पराजित भएको थियो, जुन खेलमा नेपाली खेलाडीहरूले देखाएको बहादुरीको स्वयम् उत्तर कोरियाले पनि खुलेर प्रशंसा गरेको थियो । यसपटक त ग्राहमले विश्वकप छनोटको पहिलो चरण नै पार गराएर नेपाललाई ऐतिहासिक सफलता दिलाएका छन् । यो सफलताका कारण फिफा आबद्ध राष्ट्रहरूको स्तर निर्धारणमा नेपालले आफूलाई एक दर्जा माथि उठाउने सौभाग्यसमेत प्राप्त गरेको हो ।

एउटा कुशल प्रशिक्षकका रूपमा ग्राहमले नेपाली टोलीको कायापलट गराएका त छन् नै, खेलाडीलाई हरेक पक्षबाट सशक्त बनाउने काम पनि गरेका छन् । खेलाडीको हौसला बढाउन उनी कुनै कञ्जुस्याइँ गर्दैनन् चाहे खेलमा हार होस् वा जित । नेपाली टोली विश्वस्तरका छन् र उचित प्रशिक्षण पाए नेपालले जस्तासुकै टोलीको पनि सामना गर्न सक्दछन् भनेर ग्राहमले धेरैपटक भनेका छन् । यसले खेलाडीमा आत्मविश्वास बढाएको छ । त्यस्तै इष्ट टिमोर विरुद्धको खेलअघि नेपालका चर्चित स्ट्राइकर सन्तोष साहुखललाई एउटा सानो गल्तीका कारण टोलीमा समावेश नगराएर उनले अनुशासनको गतिलो पाठ पढाएका छन् ।अब नेपाली टोलीले विश्वकप छनोटको दोस्रो चरणअर्न्तगत साउनको ७ र १२ गते एशियाकै शक्तिशाली टोलीमध्ये एक मानिने जोर्डनको सामना गर्दैछ । दुई लीगमध्ये साउन ७ मा खेलिने पहिलो लीग जोर्डनमै खेलिनेछ । तर, दोस्रो लीग कहाँ खेलिने भन्नेचाहिँ अझै टुङ्गो लागेको छैन । इष्ट टिमोरविरुद्ध जित हासिल गरेमा दोस्रो चरणको दुवै लीग जोर्डनमा नै खेल्ने सहमति एन्फाले पहिल्यै गरिसकेको थियो । तर, यिनै ग्राहमले सुझाएपछि एन्फाले जोर्डनविरुद्धको दोस्रो लीग नेपालमै गराउन एशियाली फुटबल महासङ्घ (एएफसी) समक्ष अर्को प्रस्ताव पठाइसकेको छ, जसको सुनुवाइ भइसकेको छैन । दोस्रो खेल नेपालमै खेलाउने हो भने घरेलु दर्शकको अपार समर्थन र घरेलु मैदानको फाइदा उठाउँदै नेपालले जोर्डनलाई पनि माथ खुवाउन सक्ने ग्राहमको विश्वासका कारण उनले यो अनुरोध गरेका हुन् ।

प्रस्तुति : आशुतोष अधिकारी

Admin 2011-07-17