शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

कृषिउपजमा भर
ऋषिकेश अग्रवाल
उपाध्यक्ष, सिध्दार्थनगर उद्योग वाणिज्य सङ्घ
प्रबन्धक निर्देशक, नेपाल अम्बुजा सिमेण्ट उद्योग


पारिवारिक पृष्ठभूमि नै व्यवसायी भएकाले यस क्षेत्रमा प्रवेश गर्न उनलाई खासै अप्ठयारो भएन । अम्बुजा सिमेण्टका महाप्रबन्धक ऋषिकेश अग्रवालको व्यावसायिक यात्रा सहज नै रह्यो । पारिवारिक विरासत कायम गर्न उनी व्यवसायमा संलग्न भए । युवावस्थादेखि नै व्यापारमा होमिएका अग्रवाल अहिलेसम्म प्राप्त उपलब्धिलाई 'सकारात्मक सोचको परिणाम' भन्न रुचाउँछन् । कुनै पनि विषयलाई सकारात्मक दृष्टिबाट हेर्नुपर्छ भन्ने उनले सिमेण्ट उद्योग र दाल तथा तेल उत्पादनका क्षेत्रमा रूपन्देहीमा अग्रणी उद्योगपतिको हैसियत बनाइसकेका छन् ।

अग्रवाल परिवारको परम्परागत पेशा कपडा व्यवसाय थियो । मातापिताले उनलाई पारिवारिक व्यवसायभन्दा फरक पेशा अर्थात् इञ्जिनीयर बनाउने धोको पालेका थिए । सानैदेखि अत्यन्त चतुर उनले परिवारको अपेक्षालाई साथ दिएनन् । 'परिवारको आशाविपरीत मेरो रुचि व्यापारमै थियो,' उनी विगत स्मरण गर्दै भन्छन् । परिवारका सदस्यको मन राख्नैका लागि भए पनि एसएलसीपछि १ वर्ष विज्ञान विषय लिएर अध्ययन गरे । 'आफ्नो रुचिविपरीत गरेको काम सफल नहुने ठानेर व्यवस्थापन नै पढ्ने निधो गरेँ,' उनी भन्छन्, 'भविष्यमा व्यवसायलाई सहयोग पुगोस् भनेर व्यवस्थापन विषय लिएको हुँ ।' भारतको  बनारस हिन्दू विश्वविद्यालयबाट २०४४ सालमा स्नातक पूरा गरेपछि उनी पारिवारिक व्यवसायसँग जोडिए ।

भैरहवामा परिवारले पुख्र्यौली पेशाका रूपमा सञ्चालन गर्दै आएको एसएस (श्यामसुन्दर) इण्टरप्राइजेजमा केही समय काम गरे । ४६ वर्षअगाडि भैरहवामा जन्मिएका ऋषिकेश त्यहींबाट व्यावसायिक ज्ञान पाएको बताउँछन् । 'व्यापारसँग परिचित हुने मौका त्यही पाएँ,' उनी भन्छन् । त्यही अनुभवलाई उपयोग गरी उनले नयाँ काम गर्ने सोच बनाए । त्यसैअनुरूप २०४९ सालमा भैरहवामा नै दाल र तेल मिल सञ्चालनमा ल्याए । रू. ४० लाख लगानीमा स्थापना भएको उनको यो उद्योग रूपन्देहीका ठूलामध्येको एक हुन सफल भइसकेको छ । हाल उनका सिध्दार्थ र अर्पिड नामक दुई आधुनिक दाल उद्योग र एउटा तेल उद्योग सञ्चालनमा छन् । उनका उद्योगका उत्पादन 'कङ्गारु' ब्राण्डमा बजारमा विक्रीवितरण हुन्छन् । आफ्नो उद्योगबाट उत्पादित मुसुरो दाल बङ्गलादेश निर्यात हुने बताउँछन् उनी । '२० करोड रुपैयाँभन्दा बढीको दाल निर्यात गर्छौं,' उनी भन्छन् । त्यस्तै, वार्षिक रू. २५ करोड रुपैयाँ बराबरको तेलको कारोबार हुन्छ । दुवै उद्योगमा १ सय ५० जनाले रोजगारी पाएका छन् ।

नयाँ काममा रुचि राख्ने अग्रवालले दुवै उद्योगबाट सन्तुष्टि लिन नपाउँदै सिमेण्ट उद्योगमा हात हाले । सिमेण्टको अपार कच्चापदार्थ चूनढुङ्गा प्रशस्त पाइने आफ्नै देशमा भारतीय सिमेण्टको बिगबिगी देखेर नयाँ उद्योग खोलेको बताउँछन् अग्रवाल । हेमन्त अग्रवालको साथ लिएर रूपन्देहीको कमहडियामा ५ करोड लगानीमा उद्योग स्थापना गरे । 'महालक्ष्मी', 'दाउन्ने' र 'श्रीराम' ब्राण्डमा उद्योगले वार्षिक ५ सय टन सिमेण्ट उत्पादन गर्दै आएको छ । यसको वार्षिक रूपमा रू. ९० करोडजतिको कारोबार हुने गरेको छ । उद्योगमा ३ सयजनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । आफ्नो उत्पादनको प्रतिस्पर्धा भारतीय सिमेण्टसँग रहेको उनी दाबी गर्छन् । 'अबको प्रतिस्पर्धा गुणस्तरका लागि हो,' उनी भन्छन् ।सिमेण्ट उद्योगबाट मात्रै राज्यलाई आफूले वार्षिक १० करोड कर बुझाएको दाबी गर्दै उनी गुनासो गर्छन्, 'तर, त्यसअनुरूपको व्यवहार राज्यले गरेको छैन ।' उनी भन्छन्, 'सरकारले उद्योग सञ्चालनका लागि उपयुक्त र सरल ऐननियम बनाउनुपर्छ ।' मुलुकमा स्थिर सरकार भए धेरै समस्या समाधान हुने उनको ठम्याइ छ । 'नीति त स्पष्ट आउँथ्यो,' उनी भन्छन् ।

उत्पादनमा इमानदार र सच्चाइ हुनुपर्ने अग्रवालको मान्यता छ । 'मलाई यी दुई चिजले सफल बनाइरहेको छ,' उनी भन्छन् । कुनै व्यक्ति सफल हुन सकारात्मक सोच र इमानदार हुनुपर्छ भन्छन् । यही कुरालाई उनले आफ्नो व्यवस्थापन मन्त्र बनाएका छन् । साढे पाँच बजे उठ्ने उनी बिहान ब्याडमिण्टन खेल्छन् । त्यसपछिको समय व्यावसायिक काममा बित्छ । उनी सिध्दार्थ उद्योग वाणिज्य सङ्घको उपाध्यक्षको कार्यभार सम्हालिरहेका छन् । आफ्नो कार्यप्रति कहिल्यै घमण्ड गर्दिनँ भन्ने उनी व्यावसायिक क्षेत्रमा सफल देखिन्छन् । आफूमातहतका कर्मचारीलाई साथीको व्यवहार गर्छन् । 'जबसम्म कर्मचारीमा काम गरिरहेको ठाउँ वा उद्योग आफ्नै भन्ने भावना जागृत हुँदैन, तबसम्म उद्योग फस्टाउन सक्दैन,' उनी भन्छन् । उद्योगमा कर्मचारीलाई कुनै समस्या परे उनीसँग आएर अनुरोध गर्न सक्छन् ।हजुरबुबा लक्ष्मण अग्रवाललाई प्रेरणाको स्रोत ठान्ने उनी समाजसेवामा पनि क्रियाशील छन् । मारवाडी सेवा सङ्घका निवर्तमान अध्यक्ष भइसकेका अग्रवाल भैरहवा लायन्स क्लब र सिध्दार्थनगर राउण्ड टेबलका अध्यक्ष पनि हुन् । व्यावहारिक मान्छे मन पराउँछन् उनी । व्यक्ति पूजामा विश्वास नगर्ने उनी मन्दिरमा पूजा गर्छु,भन्छन् ।

Admin 2011-08-19