''फाष्ट ट्रयाक लक्ष्य'' - पूर्णप्रसाद कडरिया
सचिव, भौतिक योजना तथा निर्माण
मुलुकको सुदूरपूर्वी भेग ताप्लेजुङको मेहेले गाउँमा ५७ वर्षअघि जन्मेका उनको परिवारका अग्रजमा शिक्षाको ज्योति पुगिसकेको थियो । उनका हजुरबुबा राणाकालीन प्रशासनमा अहिलेको स्थानीय प्रशासन अधिकृतको जस्तो जिम्मेवारीमा थिए भने बुबा जिल्लाका नाम चलेका समाजसेवी । उनीहरूकै सत्प्रयास र सक्रियतामा विकट ग्रामीण बस्तीमा शिक्षाको उज्यालो उदाएको हो । बुबाआमाको प्रेरणा, काका र जेठा दाज्यूको प्रत्यक्ष निगरानीमा उनले प्रारम्भिक शिक्षा हासिल गरेका हुन् । शैशवावस्थादेखि नै जेहेनदार उनले अध्ययनका क्रममा कुनै पनि परीक्षामा असफलता बेहोर्नु परेन । २०२७ सालमा सिनाम माध्यमिक विद्यालयबाट प्रवेशिका गरेका भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव पूर्णप्रसाद कडरियाले कोलकाता र हल्याण्डबाट वास्तुशास्त्रमा उच्चशिक्षा हासिल गरेका छन् । 'हाउजिङ, प्लानिङ र बिल्डिङ'मा विशिष्टता हासिल गरेका उनी शैक्षिक योग्यताअनुसारको पदमा लामो समयसम्म सेवारत सम्भवतः पहिलो उच्चस्तरको निजामती कर्मचारी हुन्, कूटनीतिक सेवालाई छाडेर । अहिलेको जस्तो विकल्पहरू नहुँदा उनले पढाइ सकेर सरकारी सेवा शुरू गरेका हुन् । शाखा अधिकृतको परीक्षामा उनी पहिलो भएका थिए ।
बत्तीस वर्षभयो, कडरियाले आफ्नो ऊर्जाशील समय निजामती सेवामा खर्चेको । तीन दशकभन्दा बढीको यो अविधमा उनले भौतिक योजना तथा निर्माण मन्त्रालयको सेरोफेरोमा नै बिताए । उनको पहिलो पोष्टिङ भवन विभागमा भएको थियो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सरकारी अस्पताल भवन निर्माणमा कुनै न कुनै रूपमा उनको योगदान छ- पदीय जिम्मेवारीका हिसाबले मात्र होइन, आर्किटेक्ट इञ्जिनीयरका नाताले पनि । विकास निर्माणको मेरुदण्ड मानिने मन्त्रालयको नेतृत्व गरेका उनले सडक सञ्जालबाट समाजको समुन्नति र सुनिश्चितताको अभियानमा सकेको सहयोग गरिरहेका छन् । सम्बद्ध पक्षलाई झकझक्याउन पछि पर्दैनन् उनी । स्पष्टवक्ता उनलाई सहकर्मी र समकक्षीहरू उपमाका रूपमा प्रस्तुत गर्छन् ।
सडक सञ्जाल विकास तथा मर्मत राष्ट्रिय रणनीति, खानेपानी आपूर्ति तथा सरसफाइ, सरकारी भवन निर्माण तथा मर्मत, शहरी योजना तथा विकास, जग्गा विकास तथा बस्ती योजनालगायत दर्जनौं परियोजना कार्यान्वयनमा निर्णायक भूमिका निर्वाह गरेका छन् कडरियाले । उनी प्रशासनिक सेवालाई विशिष्टीकृत गर्नुपर्नेमा जोड दिन्छन् । शैक्षिक पृष्ठभूमि र क्षमतालाई आधार बनाएर त्यसो गर्नु सान्दर्भिक हुने उनको बुझाइ छ । सरकारी सेवामा भन्दा निजीक्षेत्रमा बढी आकर्षकण भएकाले निजामतीतर्फ आकर्षण घटेको उनी बताउँछन् । प्रशासनयन्त्र प्रदूषित भएको बताउने उनी अपारदर्शिता र बुद्धिमत्तापूर्ण निर्णयो अभावमा त्यसो भएको उल्लेख गर्छन् । राजनीतिक अस्थिरताका कारण देशले विकासको गति लिन नसकेको उनको विश्लेषण छ ।
बाटो, पानी, बिजुलीजस्ता विकासका आधारभूत पूर्वाधार निर्माण भएको दाबी गर्ने उनी आर्थिक विकासका सम्भावना बोकेका स्थानमा सडक सञ्जाल विस्तारलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्छन् । मध्यपहाडी लोकमार्ग, उत्तरदक्षिण लोकमार्ग, फाष्ट ट्रयाक, धरान-चतरा रानी-विराटनगर, सूर्यविनायक धुलिखेललगायत सडकहरूले पिछडिएको वर्गको उत्थानका साथै मुलुकको आर्थिक विकासमा भरथेग गर्नेमा उनी ढुक्क छन् । देशमा रणनीतिक महत्त्वका १० हजार किलोमटिर सडक रहेका र तिनमा सवारीका साधन सञ्चालन हुने गरेको उनको भनाइ छ । मौजुदा मार्गहरूबाट सन्तुष्ट छैनन् उनी । फाष्ट ट्रयाक' को द्रुत निर्माण उनको उद्देश्य र लक्ष्य हो ।
पद्धतिअनुसार सबै कार्य सञ्चालन हुनुपर्ने लाग्छ कडरियालाई । हरेक क्षेत्रमा बढेको बेथितिले विकृति ल्याएकोमा खिन्न छन् उनी । कामप्रतिको लगनशीलता र प्रतिबद्धता उनको व्यवस्थापन मन्त्र हो । भन्छन्, '१०-५ को मनस्थिति त्यागेर जिम्मेवारी पूरा गर्नुपर्छ ।' नियमित कार्ययोजना बनाएर काम गर्छन् उनी । कुनै बहानामा काम आलटाल गर्नेसँग व्यवहार गर्न उनलाई प्रीतिकर लाग्दैन ।
धार्मिक आस्था भएका कडरिया मनको एकाग्रताका लागि मन्दिर जान्छन् । कर्पोरेट हाउस'मा संस्थागत संस्कृतिको खासै विकास भएको उनलाई लाग्दैन । संस्थागत सामाजिक उत्तरदायित्व पनि मिश्रति रूपमा भएको उनको अनुभव छ । काकाकुलको जस्तो नियति भोग्न लागेका काठमाडौंवासीको तिर्खा मेटाउने मेलम्ची खानेपानी परियोजना सन् २०१३/१४ मा पूरा हुने दाबी गर्छन् उनी । भन्छन्, निर्माणको काममा कसैले भाँडभैलो मच्चाएन भने तोकिएको समयमा पानी आउँछ । मेलम्चीको पानी उपभोग गर्नेहरूले पनि परियोजनामा व्यवधान गर्नेहरूसँग संवाद गर्नुपर्ने उनको सुझाव छ ।
Admin 2011-03-16