''पशुपालन प्राथमिकता'' - सुमित केडिया
निर्देशक, केडिया अर्गनाइजेशन
सामान्य किसानभन्दा फरक छैनन् उनी । र, काठमाडौंको 'कर्पोरेट हाउस'मा विरलै भेटिन्छन् । कार्यालय र कारखानामा आक्कलझुक्कल झुल्किने उनलाई किसानका गोठमा भने सहजै भेट्न सकिन्छ । गाउँगाउँमा गोठ व्यवस्थापन र पशुपालन प्रवर्द्धन गर्न पुगिरहन्छन् केडिया अर्गनाइजेशनका निर्देशक सुमित केडिया । दूध दिने पशुधनको स्याहार र आहारबारे पशुपालक किसानलाई सल्लाह र सुझाव दिइरहने उनी पराल कम, घाँस ज्यादा खुवाउन अनुरोध गर्छन् । अर्गनाइजेशन अन्तर्गतको सीताराम गोकुल मिल्क्स काठमाडौं लिमिटेडको जिम्मेवारी उनले सम्हालेका छन् । त्यसैले ग्रामीण भेकमा पुगेर उनले किसानलाई सचेत पार्ने गरेका छन्, कम लगानीमा अधिक प्रतिफल प्राप्तिका निम्ति । बाच्छीलाई कृत्रिम गर्भाधान गराएर बढी आम्दानी गर्न सकिने उनलाई लाग्छ । त्यसका निम्ति स्तरीय वीर्य बाहिरबाट ल्याउन जरुरी भएको बताउँछन् उनी । मुलुकमा उपलब्ध बहरको वीर्यबाट अपेक्षित लाभ नहुने भएकाले त्यो आयात गर्नु बाध्यता हो । आफ्नै देशका बहरको उपयोगका लागि राज्यस्तरबाट गहन अनुसन्धान हुनुपर्ने उनको मत छ ।
चौंतीस वर्षअघि वीरगञ्जमा जन्मेका सुमित काठमाडौंमा हुर्केका हुन् । काठमाडौंमै विद्यालय शिक्षा हासिल गरेका सुमितले भारतको पुनाबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । झण्डै १ शताब्दी पुरानो व्यापारिक घराना केडिया अर्गनाइजेशनमा ३ हजार ६ सय जनाले रोजगारी पाएका छन् । समूहगत कार्य प्रणालीमा विश्वास गर्ने उनी कामदार र मालिकबीच खाडल हुन नहुने उल्लेख गर्छन् । कर्मचारीहरूसँग आत्मीय एवम् पारिवारिक सम्बन्ध कायम गर्ने उनको बानी छ । कर्मचारीहरूलाई उनीहरूको क्षमताअनुसार अधिकार र जिम्मेवारी दिन्छन् उनी । सकारात्मक सोचका साथ काम गर्न उनीहरूलाई अभिप्रेरित गर्दै आएका छन् उनले । नराम्रोलाई राम्रो पार्नु पनि आफ्नो दायित्व ठान्ने उनी सम्बद्ध कर्मचारीको मनस्थितिमा परिवर्तन गर्न हरसम्भव उपाय अवलम्बन गर्छन् । व्यावसायिक मर्यादा उल्लङ्घन गर्नेहरूसँग व्यवहार गर्न उनलाई अरुचि हुन्छ । एचपी अग्रवाल ग्रूप अफ कम्पनीज्का निर्देशक मनीषकुमार अग्रवाल सुमितलाई मिहिनेती एवम् अत्यन्त सरल उद्यमी मान्छन् । सीताराम मिल्कस्को जिम्मेवारी उनले सम्हालेपछि कम्पनीको बजार विस्तारमा उल्लेख्य प्रगति भएको बताउँछन् मनीष ।
बजारमा दैनिक ९ लाख लिटर दूधको माग भए पनि ५ लाख लिटर मात्र आपूर्ति भइरहेको छ । व्यापार विस्तारको प्रशस्त सम्भावना भए पनि अस्वस्थ प्रतिस्पर्धाले दूधको बजारलाई नराम्ररी गाँजेको सुमितको अनुभव छ । दूधजस्तो संवेदनशील पदार्थ हचुवाका भरमा उपयोग नगर्न उपभोक्तासँग उनको आग्रह छ । 'आफूले पिउने दूध प्रशोधन भए नभएको र कुन कम्पनीले उत्पादन गरेको हो, निक्र्योल गर्न आम उपभोक्तामा मेरो अनुरोध छ' जनस्वास्थ्यप्रति गम्भीर हुँदै उनी भन्छन् । दूधको उत्पादन बढाउन तथा मुलुकलाई यसमा आत्मनिर्भर बनाउन पशुपालक किसानलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड छ । सहुलियतपूर्ण ब्याजमा किसानले कर्जा पाउनुपर्ने उनलाई लाग्छ । उनको कम्पनीले विभिन्न सहकारीमार्फत दुग्ध उत्पादक किसानमा रू. ९० लाख प्रवाह गरेको छ । क्वारेण्टाइनका कारण पशु आयातमा कठिनाइ भएकाले व्यवसायमैत्री नीति लागू गर्न सरकारसँग उनको अपील छ । नीति निर्माताहरूले निजीक्षेत्रलाई नकारात्मक रूपमा हेर्न नहुने उनको भनाइ छ । सरकार र निजीक्षेत्रबीचको सहकार्यबाट नै देशलाई समुन्नत बनाउन सकिने उनको तर्क छ ।
आफ्ना अग्रजहरूबाट व्यापारको कला सिकेका सुमित दिवङ्गत ठूलाबाबु सीतारामको नाममा दुग्ध कम्पनी स्थापना गरेको बताउँछन् । स्वर्गबासी सीताराम गौसेवामा सधैं समर्पित रहन्थे । सीताराम मिल्कस्ले चितवन, रूपन्देही, नवलपरासी, मोरङ र काभ्रेपलाञ्चोकबाट दूध सङ्कलन गर्दै आएको छ । उक्त कम्पनीले किसानलाई निर्ब्याजी ऋण दिएर दूग्ध उत्पादन प्रवर्द्धनजमा टेवा पुर्याउँदै आएको छ । आफ्नो उत्पादनलाई गुणस्तरका हिसाबले एक नम्बर बनाउने लक्ष्यका साथ अहोरात्र खटिरहेका छन् उनी । उनको लक्ष्य पनि त्यही हो । दही, घिउ र पनीर उत्पादनको योजनामा रहेका उनले त्यसलाई कार्यान्वयनको तहमा पुर्याइरहेका छन् । कोलकाता र मुम्बईमा समेत सम्पर्क कार्यालय स्थापना गरेर नेपालको आर्थिक उन्नतिका निम्ति काम गरिरहेको अर्गनाइजेशनमा इन्दुशङ्कर चिनी मिल, अमरावती मद्यशाला, सुशील वनस्पति, सुन्दर स्टील, चामल, दाललगायत झण्डै दुइ दर्जन उद्योग छन् ।
पशुपालनबाट कृषिक्रान्तिका साथै देशको अर्थतन्त्र उकास्न सकिनेमा विश्वस्त छन् सुमित । केही हजार रुपैयाँका लागि खाडी मुलुकतिर जानुभन्दा आफ्नै गाउँघरमा गाईभैंसी पाल्न युवावर्गलाई उनको सुझाव छ । दुइ सन्तानका पिता उनी परिवारलाई पर्याप्त समय दिन पाउँदैनन् कार्य व्यस्तताका कारण । ईश्वरप्रति आस्था छ, उनको । हरेक साता मन्दिर जाने उनलाई त्यहाँ पुग्दा शान्ति एवम् सुखानुभूति हुन्छ । मुलुकमा व्यावसायिकता र संस्थागत संस्कृतिको विकासले गति लिन थालेको उनको बुझाइ छ । गरीब तथा पिछडिएको वर्गको उत्थानका लागि धेरै काम गर्न बाँकी रहेको बताउने उनी आफूलाई सफल उद्यमी भन्न रुचाउँदैनन् । मूल्याङ्कनको जिम्मा अरूलाई दिन्छन् उनी । दानधर्मको प्रचार नचाहने उनले कीर्तिपुरको बाघभैरव माध्यमिक विद्यालयलाई सघाउँदै आएका छन् । त्यसो त केडिया अर्गनाइजेशनले महावीरप्रसाद ब्रिजलाल केडिया सेवा ट्रष्टलगायत एक दर्जन सङ्घसंस्थामार्फ शिक्षा, स्वास्थ्यक्षेत्रमा सेवा गरिरहेको छ ।