''पौरखलाई प्रोत्साहन'' - तुलसीप्रसाद वस्ती
प्रमुख कार्यकारी अधिकृत
मितेरी डेभलपमेण्ट बैङ्क
आफ्नै घरआँगनमा अवस्थित बैङ्कको नेतृत्व गर्ने उनको उत्कट अभिलाषा अन्तत: पूरा भएरै छाडयो । तर, त्यसका लागि उनले राष्ट्रिय सञ्जाल भएको संयुक्त लगानीको नेपाल-बङ्गलादेश बैङ्कको वरिष्ठ अधिकृतको पद त्याग गर्नुपर्यो । केही गरेर देखाउने प्रण गरेर धरानमा स्थापित स्थानीय स्तरको मितेरी बैङ्कमा प्रवेश गरेका तुलसीप्रसाद वस्ती
छोटो अवधिमा बैङ्कको कारोबार बढाउन सफल भएका छन् ।
२०६५ मङ्सिरमा उक्त बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा प्रवेश गर्दा बैङ्क सञ्चित नोक्सानीमा थियो र शाखा विस्तार गर्न पनि सकेको थिएन । प्रधान कार्यालयसँगैको बैङ्किङ कार्यालयबाट मात्र कारोबार गरिरहेको बैङ्कलाई धरानभन्दा बाहिर विस्तार गर्न पहिलो प्राथमिकता उनले दिए । उनी बैङ्क प्रवेश गरेको दोस्रो महीना नै सुनसरीको तरहरामा पहिलो शाखा खोले । शाखा खोलेसँगै बैङ्कलाई गति दिएको वस्तीको नेतृत्वले ८ महीनाभित्र सुनसरीकै झुम्कामा शाखासमेत खोली २७ लाख रुपियाँ खुद नाफा आर्जन गर्न सफल भयो ।
अघिल्लो वर्षको सञ्चित घाटा पूर्ति गर्दै नाफा कोष वृद्धि गर्न थालेको मितेरी डेभलपमेण्ट बैङ्कको गत चैतसम्मको सञ्चित नाफा १ करोड ५१ लाख पुगेको छ । गतवर्षभरिमा ५४ लाख खुद नाफा आर्जन गरेको बैङ्कले चालू आर्थिक वर्षको ९ महीनामा करीब ८३ लाख खुद नाफा आर्जन गरिसकेको छ भने असार मसान्तसम्म यो नाफा १ करोड २५ लाख पुर्याउने लक्ष्य वस्तीको छ । सुनसरी, मोरङ र झापा गरी तीनओटा जिल्ला कार्यक्षेत्र रहेको मितेरीको हालसम्म सुनसरी र मोरङमा चारओटा शाखा सञ्चालनमा छन् भने जेठको पहिलो हप्तादेखि सुनसरीको खनार औद्योगिक करिडोरमा शाखा सञ्चालनको तयारी गरिरहेको छ । ग्रामीण र शहरोन्मुख क्षेत्रमा शाखा खोल्दै आएको मितेरीले प्रत्येक वर्षकम्तीमा दुईओटा खोल्ने लक्ष्य राखेको वस्ती बताउँछन् ।
घाटामा रहेको बैङ्कलाई छोटो अवधिमा नाफामा सञ्चालन गर्न सफल वस्ती त्यसको श्रेय भने आफू लिँदैनन् । 'मेरो प्रयास मात्र हो, मेहनत साथ काम गर्ने कर्मचारी र बैङ्कलाई विश्वास गर्ने ग्राहक हुन्,' सामूहिक कार्यशैलीको पैरवी गर्दै उनी भन्छन् । सहभागितात्मक व्यवस्थापनको सिद्धान्त अँगालेका छन् उनले । कर्मचारीलाई क्षमताअनुसारको काम दिन्छन् उनी । र, उनीहरूका कुरा पनि सुन्छन् । कर्ममा विश्वास गर्ने उनी समर्पित भएर काम गर्न उनीहरूलाई प्रेरित गर्छन् । दण्ड र पुरस्कारको व्यवस्था पनि गरेका छन् उनले । अभिमानीसँग काम गर्न उनलाई मनलाग्दैन ।
धनकुटाको चुङ्वाङ गाविस-७ मा २०२९ साल साउनमा जन्मिएका वस्तीले १४ वर्षको उमेरमा त्यहीँबाट एसएलसी गरेका हुन् । एसएलसी र आईकम दोस्रो श्रेणीमा उत्तीर्ण उनले बीकम भने प्रथम श्रेणीमा गरे । बीकमको नतीजा आएकै साल नेपाल आयल निगमको वरिष्ठ सहायक एक पदका लागि भएको विज्ञापनमा ७ सय जना प्रतिस्पर्धीलाई उछिन्दै छानिएका तुलसी त्यहाँ २ वर्षपछि नै अधिकृत भए । आयल निगमको जागीरे छँदा केन्द्रीय क्याम्पस कीर्तिपुरबाट व्यापार व्यवस्थापनमा स्नातकोत्तर गरे । उनले ७ वर्षनिगममा काम गरेपछि नेपाल बङ्गलादेश बैङ्कमा पाएको अवसरलाई सदुपयोग गरेका हुन् पढाइअनुसारको काममा ।
बङ्गलादेश बैङ्कमा रहँदा जिल्ला शाखा र केन्द्रीय कार्यालयमा काम गरेको अनुभवले उनलाई मितेरी बैङ्कको नेतृत्वदायी भूमिकाका लागि निकै सजिलो बनायो । उनी शहरका ठूला व्यापारीका साथै गाउँका दूध बेच्ने किसानसम्मलाई ऋण दिएर केही गर्न उत्प्रेरित गर्न थाले । होटलका वेटरलाई उनी आफ्नै व्यवसाय गर्न हौसला दिन्छन् 'तपाईं इमानदारीका साथ मेहनत गर्नुहोस्, हामी तपाईंलाई गरिखाने पूँजी दिन्छौं,' पौरख गर्न उनी उद्यमशील वर्गलाई सुझाव दिइरहन्छन् ।
तीन वर्षभित्र बैङ्कको पूँजी वृद्धि गरी क्षेत्रीयस्तरको विकास बैङ्क बनाउने लक्ष्य छ वस्तीको । बिहान ५ बजे उठ्ने र दिनभरिको कामको योजना बनाउने उनको बानी छ । बिदाको समय पूरै परिवारलाई दिन्छन् उनी । 'धर्म भनेको खराब काम नगर्नू र मानिसलाई दु:ख नदिनू हो' भन्ने उनी पूजापाठमा विश्वास गर्दैनन् । मुलुकमा संस्थागत संस्कृतिको क्रमश: विकास भएको उनलाई लाग्छ । सामाजिक सेवाको क्षेत्रमा सक्दो सहयोग गर्नुपर्ने मान्यताका पक्षधर हुन् उनी । दीनहीनलाई उनले गच्छेअनुसार सहयोग गर्दै आएका छन् ।
Admin 2011-05-16