शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''प्राथमिकता मर्जर'' -हरिप्रसाद गुरुङ
प्रमुख कार्यकारी अधिकृत
साङ्ग्रिला डेभलपमेण्ट बैङ्क

उनी सञ्चारमाध्यममा अत्यन्त कम आउने थोरै नेपाली बैङ्करमध्येमा पर्छन् । प्रचारभन्दा काम बढी महत्त्वपूर्ण ठान्छन् उनी । पर्यटकीय नगर पोखराको आर्थिक एवम् भौतिक विकासमा केन्द्रित उनले नेतृत्व गरेको क्षेत्रीयस्तरको बैङ्कले मध्यमाञ्चल क्षेत्रलाई अधिक महत्त्व दिएर काम गरिरहेको छ । साङ्ग्रिला डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत हर्रि्रसाद गुरुङलाई मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे टीकाटिप्पणी वा गुनासो गर्नु औचित्यहीन लाग्छ । व्यवसाय गर्नेले आशावादी हुनुपर्छ भन्ने उनी राजनीतिक कारणले आर्थिक गतिविधि प्रभावित हुन नहुने विचार व्यक्त गर्छन् । सधैँ सकारात्मक सोचका साथ काम गर्ने उनी देशको आर्थिक अवस्था चाँडै सुध्रिनेमा आशावादी छन् । खस्कँदो अर्थतन्त्र उकास्न राजनीतिक नेतृत्व संवेदनशील पूर्ण विश्वस्त छन् उनी । कुनै पनि पक्ष झीनामसिना कुरामा अल्झेर आर्थिक विकासको  बाधक बन्न नहुने उनको बुझाइ छ । स्वस्थ प्रतिस्पर्धा गर्दै अगाडि बढेमा सफलता प्राप्त हुने उनलाई लाग्छ । 'राइट पर्सन एट राइट प्लेस' उनको व्यवस्थापन मन्त्र हो ।

साङ्ग्रिलामा सहभागितामूलक व्यवस्थापन प्रणाली अगाँलेका छन् गुरुङले । झण्डै १ सय ५० जना कर्मचारी उनको मातहतमा काम गर्छन् । जोसँग पनि घुलमिल हुने र शीघ्र साथीभाइ बनाउन खप्पिस उनी कर्मचारीसँग मित्रवत् व्यवहार गर्छन् । कर्मचारीलाई स्वामित्वबोधसहितको निर्णय अधिकार दिने उनको बानी छ । सबै काम सकारात्मक सोचका साथ गर्न उनीहरूलाई सधैँ प्रेरणा दिइरहन्छन् उनी । समूहगत काममा विश्वास गर्ने गुरुङ कर्मचारीबाट प्राप्त सहयोगबाट नै बैङ्क अहिलेको अवस्थामा पुगेको सविनय स्वीकार्छन् । बेइमान र नकारात्मक सोच भएको मान्छेसँग काम गर्न उनलाई पटक्कै मन लाग्दैन । त्यस्तो चरित्र भएकाहरूबाट उनी १० हात पर बस्छन् ।  

गुरुङ संयोगले साङ्ग्रिला डेभलपमेण्ट बैङ्कको प्रमुख कार्यकारी अधिकृत भएका हुन् । उच्च शिक्षा अध्ययनका निम्ति नेदरल्याण्डस्को छात्रवृत्ति पाएका उनले उता जाने सात दिनअघि मात्र त्यो पदको नियुक्तिपत्र बुझेका हुन् । व्यवस्थापनको एउटा ड्रि्री हातमा भइसकेकाले यूरोपको बसाइ र उच्च शिक्षाभन्दा स्वदेशको सेवा र वित्तीय क्षेत्रको चुनौतीपूर्ण कार्य उनलाई उपयुक्त लाग्यो । गुरुङको अथक परिश्रमको परिणाम बैङ्कमा स्पष्ट देखिन थालेको छ । उनको कुशल नेतृत्वमा साङ्ग्रिला बैङ्कले रू. १ अर्ब ५५ करोड निक्षेप सङ्कलन गरेको छ भने १ अर्ब ३४ करोड कर्जा प्रवाह गरेको छ । उनको बैङ्कले व्यापार र औद्योगिक क्षेत्रमा सर्वाधिक रकम प्रवाह गरेको छ । २०६४ साल भदौदेखि औपचारिक कारोबार थालेको साङ्ग्रिलाले स्थापनाको छोटो अविधिमा पश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न शहरमा एक दर्जन शाखा विस्तार गरिसकेको छ । गुरुङले दुइओटा शाखाको सम्पूर्ण जिम्मेवारी महिलालाई सुम्पेका छन् । ती शाखाको प्रगति उल्लेख्य रूपमा भइरहेको छ । सातवर्षको योजना बनाएर वित्तीय क्षेत्रमा भिडिरहेका उनले पूँजी वृद्धि र मर्जरलाई प्राथमिकता दिएका छन् । साङ्ग्रिला डेभलपमेण्ट बैङ्कलाई राष्ट्रियस्तरको विकास बैङ्कमा स्तरोन्नति गर्दै वाणिज्य बैङ्कमा परिणत गर्ने उनको लक्ष्य छ । लक्ष्यमा पुग्न उनी दिनरात मेहनत गरिरहन्छन् र साथीभाइको सल्लाह लिइरहन्छन् । प्रमुख कार्यकारी अधिकृत गुरुङका अनुसार पूँजी वृद्धि योजनाअनुरूप हाल संस्थापक शेयरधनीहरूबाट २२ करोड ४० लाख  चुक्तापूँजी सङ्कलन गरिएको छ भने सर्वसाधारणका लागि ९ करोड ६० लाखबराबरको शेयर यसै वर्ष निष्कासन गर्ने योजना छ ।

पर्यटन व्यवसायी पिता लीलबहादुर र विश्वका केही महापुरुषका जीवनकथाबाट प्रेरणा पाएको बताउने गुरुङ आफूलाई सफल प्रमुख कार्यकारी अधिकृत भन्न रुचाउँछन् । भविष्यमा आफूलाई कुशल व्यवस्थापक एवम् उद्यमीका रूपमा समाजमा स्थापित हुने उनको धोको छ । कार्य क्षमता, दूरदर्शिता र सम्बन्धित विषयमा प्रचुर ज्ञान भएको व्यक्ति प्रमुख कार्यकारी अधिकृत हुनुपर्ने उनको मान्यता छ । उनी नयाँ पुस्तालाई धैर्य र सकारात्मक सोचका साथ अघि बढ्न सल्लाह दिन्छन् । समयअनुरूप चल्नुपर्नेमा उनको जोड छ ।

विसं २०२४ को पहिलो दिन यस धराधाममा आएका गुरुङले पृथ्वीनारायण बहुमुखी क्याम्पसबाट  व्यापार व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । पोखरामा कारोबार केन्द्रित रहेको अन्नपूर्ण फाइनान्सबाट उनले 'करिअर' थालेका हुन् । लायन्स क्लब अफ पोखरासँग सम्बद्ध उनलाई समुन्नत समाज निर्माणमा सबै नागरिकले योगदान गर्नुपर्छ भन्ने लाग्छ । धर्ममा भन्दा अरूको सेवा र सहयोगमा अधिक विश्वास गर्ने उनलाई असहायहरूको सहायता गर्दा असीम आनन्द प्राप्त हुन्छ । जनवारको बलि दिने कुप्रथाको अन्त्यका लागि सबै जागरुक हुन उनको अनुरोध छ ।