शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''समाजलाई  दिने सोच'' - नरेन्द्र वज्राचार्य
पूरा आकारमा हेर्नुहोस्अध्यक्ष, प्राइम कमर्शियल बैङ्क लिमिटेड,
प्रबन्ध निर्देशक कम्फोर्ट केयर
'कृषियोग्य जमीन मासेर आलिशान महल बनाउने प्रवृत्ति रोक्न सरकार लाग्नैपर्छ,' 'हाउजिङ' व्यवसायमा लाखौंलाख लगानी गरेका उनी उर्वर जग्गामा 'कङ्क्रिट'का जङ्गल बन्न नहुनेमा जोड दिन्छन् । जीवनको ३ दशक नेपाल होटल सङ्घ -हान)को कार्यकारी तहमा रहिसकेका उनी उद्यमी-व्यवसायीमाझ सुपरिचित छन् ।  तीनपटकसम्म हानको अध्यक्ष भइसकेका नरेन्द्र वज्राचार्य मुलुकका एक सशक्त एवम् सफल उद्यमी मानिन्छन् । पर्यटन, बैङ्क, हाउजिङ, शिक्षा र व्यापारमा एकसाथ  लगानी गरेका उनले ती सबै व्यवसायबाट राम्रो प्रतिफल पनि हात पारेका छन् । जीवनको आधा शताब्दीभन्दा बढी वर्ष पार गरिसके पनि लक्का जवानको जोश र जाँगरका साथ दैनिक १४ घण्टा काम गर्छन् उनी ।

सरकारको ढुलमुले नीतिका कारण अर्थतन्त्र अहिलेको विषम अवस्थामा पुगेको विश्लेषण गर्ने वज्राचार्य उद्योग-व्यवसायलाई लक्षित गरेर नीतिनियम नबनेकामा खिन्न छन् । 'विद्यमान वस्तुस्थितिको मूल्याङ्कन नै नगरी हचुवाका भरमा ल्याइएका नीतिले उद्योगधन्दालाई धराशयी बनाएको छ,' उनी भन्छन् । राजस्व सङ्कलन सरकारको दायित्व हो तर प्रतिकूल ऐननियमले गर्दा राज्यको कोषमा दाखिला हुने ठूलो रकम गुम्ने खतरा पनि उत्तिकै बढेको उनलाई लाग्छ । उद्योग तथा लगानी मैत्री वातावरण आर्थिक गतिविधिको विस्तारका लागि अपरिहार्य भएको उनको निचोड छ । सधैँ सकारात्मक सोचका साथ अघि बढ्ने उनी अझै पनि केही गर्न सकिनेमा विश्वस्त छन् । तर, शान्ति प्रक्रिया, संविधान लेखन अप्ठेरोमा परेको र राजनीतिक स्थायित्व कायम नभएका कारण मुलुकबाट पूँजी पलायन बढ्नेक्रम नरोकिँदा उनको मन कुँडिएको छ । विदेशमा बसेका बन्धुहरू अर्थात् गैरआवसीय नेपालीले राजनीतिक अस्थिरताका कारण मातृभूमिमा लगानी गर्न हिचकिचाएको उनको ठम्याइ छ ।

नगद प्रवाहको समस्या भएका बेला भारतले समेत सम्पत्ति आर्जनको स्रोत नखोजेको दृष्टान्त प्रस्तुत गर्ने वज्राचार्य देशको अर्थतन्त्रलाई सुदृढ पार्न गरिएको लगानीको स्रोत खोज्नुलाई तर्कसङ्गत मान्दैनन् । धेरैभन्दा धेरै लगानी भित्र्याउन, कर छूट वा मनाशिव मिनाहा दिन र निष्क्रिय रहेको पूँजीलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्ने नीति अवलम्बन हुने सके प्रायः बन्द भएका आर्थिक गतिविधि ब्यूँतने उनको सुझाव छ । बन्द, हडताल नहुँदा पर्यटन आगमन बढेको बताउने उनको विद्यमान पूर्वाधारमा सामान्य सुधार र व्यवहारमा परिवर्तन ल्याउन सके आर्थिक उन्नयनमा पर्यटन क्षेत्रको योगदान पनि उल्लेख्य हुने बुझाइ छ । नेपाल पर्यटन वर्षको नारा लगाउनु जति सान्दर्भिक छ त्यति नै असान्दर्भिक राष्ट्रिय ध्वजावाहक कम्पनी विमानरहित हुनुलाई दुर्भाग्यपूर्ण मान्ने उनी त्रिभुवन विमानस्थलको अस्तव्यस्त अवस्थामा तत्काल सुधार हुनुपर्नेमा जेड दिन्छन् । अध्यागमनका साथै नागरिक उड्डयन कार्यालयका कर्मचारीमा उत्तरदायित्वबोधसहितको कार्यसम्पादन प्रणालीमा व्यापक परिमार्जन आवश्यक भएको उनको बुझाइ छ । 'झोलाबाट सामान गायब हुने र टयाक्सी तथा होटलका प्रतिनिधिले पर्यटकलाई पाखुरामा खैंचेर उनीहरूको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकारको हनन भएसम्म नेपाल पर्यटन वर्ष कसरी सफल होला ?,' पर्यटन क्षेत्रका विसङ्गतिको लामो फेहरिस्त सुनाउन उनी पछि पर्दैनन् ।

काठमाडौं उपत्यकाका ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक महत्त्वका भित्री क्षेत्रहरूलाई सवारीसाधनविहीन बनाउनुपर्नेमा जोड दिने वज्राचार्य प्रशासनिक कार्यालयहरू पनि व्यवस्थित  गर्नुपर्ने बताउँछन् । त्यसो गर्दा पानी, ढलजस्ता अत्यावश्यक आवश्यकताको व्यवस्थापन हुने उनको बुझाइ छ । प्रमुख कार्यकारी अधिकृतको तलब तोक्ने नेपाल राष्ट्र बैङ्कको परिपत्र उनलाई युक्तिसङ्गत लाग्दैन । 'कुनै पनि बैङ्क उपल्लो तहको कर्मचारीले मात्र सञ्चालन गर्ने संस्था होइन, त्यहाँ सबैको उत्तिकै दायित्व हुन्छ, कामको मूल्याङ्कन बोर्डले गर्नुपर्छ, बाहिरबाट 'आदेश' हुने होइन, सम्बन्धित व्यक्तिको कार्यक्षमताका आधारमा स्वायत्त रूपमा सञ्चालनको अनुमति पाएको संस्थाको सञ्चालक समितिले गर्ने कार्य भएको तर्क गर्दै उनी भन्छन् ।

देशका १८ स्थानमा शाखा विस्तार भएको वज्राचार्य नेतृत्वको बैङ्कमा २ सयले रोजगारी पाएका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले अष्ट्रियाबाट होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा पनि हासिल गरेका छन् । सम्भाव्यता अध्ययन नगरी शाखा विस्तार नगर्ने उनको बैङ्को नीति छ । प्राइमले साना तथा मझौला उद्यमीलाई धितोरहित ऋण दिने र कृषिजन्य उद्योगमा लगानीलाई उच्च प्राथमिकता दिएको छ । समूहगत काममा विश्वास गर्ने उनी उत्तरदायित्व पनि बाँडफाट गर्छन् । सकेसम्म त्रुटि हुन नदिन सबैलाई सजग राख्ने उनी दूरगामी र सकारात्मक सोचका साथ अघि बढ्न कर्मचारीलाई अभिप्रेरित गर्छन् । कर्मचारीलाई तालिमका साथै कार्यगत एवम् निर्णय स्वतन्त्रता दिने उनको बानी छ । विकेन्द्रित कार्यप्रणाली उनको व्यवस्थापन सूत्र हो ।कामको मूल्याङ्कन नगर्नेसँग सहकार्य गर्न उनलाई मन लाग्दैन ।

पर्यटन क्षेत्रमा फर्कने सोच नबनाएका वज्राचार्यलाई कलिलो उमेरमा हानको कार्यसमितिमा निर्वाचित हुनु जीवनको प्रमुख उपव्धि हो भन्ने लाग्छ । विश्वविद्यालयको विद्यार्थी हुँदा पिताको असामयिक अवसानपछि उनले भर्खरै थालिएको वज्र होटलको जिम्मेवारीमा लिएका थिए । दुइ छोराका पिता उनी समाजलाई दोहन गरेपछि त्यसलाई पनि केही दिनैपर्ने मान्यता राख्छन् ।