साकार सपना
सुधीरकुमार झा
प्रबन्ध निर्देशक, प्रेसिडेन्सियल बिजनेश स्कूल
तथा प्रिन्सिपल, चेल्सी इण्टरनेशनल एकेडेमी
ऊर्जाशील उमेरका आकाङ्क्षा पूरा भइदिएको भए शायद अहिले उनी चर्चामा हुँदैनथे । जागीरे जीवनमा रुमल्लिरहेका हुन्थे । तर, कहिलेकाहीँ जिन्दगीमा खाइने ठक्करले पनि राम्रै गर्दोरहेछ । अहिले नाम, दाम, मान र प्रतिष्ठासँगै उत्कृष्ट शैक्षिक संस्थाको नेतृत्व गरिरहेका छन् उनी । गुणस्तरीय र वैज्ञानिक शिक्षाका लागि विदेशिने विद्यार्थीलाई स्वदेशमै पढ्न प्रेरित गरिरहेका छन् सुधीरकुमार झा । 'सोच्दै नसोचेको कुराले पनि कहिलेकाहीँ असीम सन्तुष्टि दिँदो रहेछ,' उनी भन्छन् ।
अन्तरराष्ट्रिय स्तरको चिकित्सक बन्ने सपना बोकेका झा त्यसको प्रवेशपरीक्षामा नाम निकाल्न नसकेपछि निराश बने । देशविदेशका धेरै कलेजमा उनले प्रयास पनि गरे तर सफल भएनन् । बाबुआमाको इच्छा पनि छोरालाई चिकित्सक बनाउने नै थियो । बुबाले त्यतिबेलाको उत्कृष्ट बूढानीलकण्ठ स्कूलमा उनलाई पढाए । आईएस्सी पनि महँगो शुल्क तिरेर सिध्दार्थ वनस्थलीमा पढाए । तर, कसैको केही लागेन । त्यसपछि झा अङ्ग्रेजी साहित्य र मनोविज्ञान विषय लिएर स्नातक अध्ययन गर्न थाले । 'विज्ञान विषयप्रति वितृष्णा नै पैदा भयो,' पुरानो कुरा सम्झँदै झा भन्छन्, 'मेरो धेरैले कुरा पनि काटे ।' त्यसपछि उनले चिकित्सक बन्ने सपना बिसिएर परराष्ट्र सेवामा जाने सङ्कल्प गरे । तर, त्यसमा पनि उनको केही लागेन । दुवैतिर असफलता बेहोर्दै उनले त्रिवि केन्द्रीय क्याम्पसबाट अङ्ग्रेजीमा स्नातकोत्तर गरे । त्यसपछि झाले पद्मकन्यालगायत केही क्याम्पसमा अध्यापन थाले । अध्ययन र अध्यापनका २४ वर्ष निराशामा बितेको उनी सुनाउँछन् । एकदिन उनले सुविधासम्पन्न कलेज खोल्ने सोच बनाए । चार जनाको साथ लिएर २०६३ सालमा चेल्सी एकेडेमी स्थापना गरे । सानो कक्षाकोठा, खानाको व्यवस्था, यातायातको सुविधा र गुणस्तरीय शिक्षा दिने विशेषता बोकेको छ चेल्सीले । 'गुणस्तरीय शिक्षाका लागि बाहिरिने विद्यार्थीलाई रोक्न 'क्याम्ब्रिज ए लेभल' पनि शुरू गरेँ,' उनी भन्छन्
यसपटक भने उनी असफल भएनन् । ६ वर्षै चेल्सीप्रतिको आकर्षण ह्वात्तै बढेको छ । सो कलेजको ए लेभलका एक विद्यार्थीले विश्वमै उत्कृष्ट नतिजा ल्याएका छन् । नेपाल उत्कृष्ट गर्ने विद्यार्थीको सङ्ख्या पाँच पुगेको उनले बताए । चेल्सीमा १ हजार १ सय स्कूलतहमा र ४ सय ए लेभलमा अध्ययनरत छन् । ३५ लाख रुपैयाँ लगानीबाट आरम्भ भएको यस संस्थाले ५ करोडभन्दा बढीको पूर्वाधार निर्माण गरिसकेको छ । ३ सयभन्दा बढीलाई रोजगारी दिएको छ । 'म अहिले आफ्नो मेहनतबाट सन्तुष्ट छु,' झा भन्छन्, 'डाक्टर भएको भए अहिले कुनै हस्पिटलमा रुमल्लिरहेको हुन्थेँ होला ।' नयाँ सोचका साथ केन्द्रीकृत भएर काम गर्ने हो भने हरेक कार्यमा सफल भइने झाको ठम्याइ छ । संस्था सफल हुन समाजबाट विश्वास आर्जन गर्नुपर्ने उनको अनुभव छ । शिक्षाको दायरालाई फराकिलो बनाउनुपर्छ भन्दै उनको अगुवाइमा प्रेसिडेन्सियल बिजनेश स्कूल स्थापना भएको हो । हालै सञ्चालनमा आएको सो स्कूलको मूल उद्देश्य व्यवस्थापन शीप प्रदान गर्नु हो । अमेरिकास्थित लसएञ्जल्स विश्वविद्यालयसँग आबद्ध र त्रिविबाट मान्यताप्राप्त यस स्कूलमा बीबीए र एमबीए अध्ययन गराइन्छ । व्यवस्थापन शिक्षाका लागि विदेशिने पूँजी रोक्ने उनको योजना छ । स्थापना भएको १० दिनमै ४ सय विद्यार्थी प्रेसिडेन्सियलबारे बुझ्न आएको झाले जानकारी दिए । अहिले उनले चेल्सीभन्दा प्रेसिडेन्सियललाई बढी समय दिइरहेका छन् । किनभने चेल्सीकै स्तरमा उनले प्रेसिडेन्सियललाई उभ्याउन चाहिरहेका छन् ।
नेपालमा ए लेभल अध्यापन गराउने ३४ संस्थाको छाता सङ्गठन सियानका अध्यक्षसमेत रहेका झा राज्यले उत्साह मात्रै दिए पुग्छ भन्छन् । 'राज्यबाट धेरै अपेक्षा गर्न मिल्दैन,' उनी भन्छन्, 'हामीलाई समयसमयमा उत्साह दिए मात्रै पुग्छ ।' प्रेरणाको स्रोत बुबा भोगानन्द झालाई दिन्छन् उनी । राजविराजको पडरियामा ४५ वर्षअघि जन्मिएका झा 'टीमवर्क' मा विश्वास गर्छन् । संस्थालाई बलियो बनाउन सहभागिता र विकेन्द्रीकरणमा जोड दिनुपर्ने उनको मान्यता छ । सबैका कुरा सुनेर मात्रै निर्णयलिने उनको बानी छ । गरीब तथा जेहेनदार विद्यार्थीलाई नि:शुल्क पढाइदिन्छन् । अरूको मर्म बुझ्ने दयालु स्वभाव छ उनको । थोरै तर राम्रो गर्नुपर्छ भन्छन् झा । आफ्ना सफलतालाई सपनाको साबिती भन्न रुचाउने झा समाजसेवा गर्ने चाहना हुँदाहुँदै पनि समयाभावका कारण केही गर्न सकिरहेका छैनन् । उनी टीभी हेर्न र कम्प्युटरमा बस्न रुचाँउदैनन् । फुसदमा व्यावसायिक म्यागेजिन पढ्छन् । उनलाई पुराना तर परम्परागत गीत सुन्न मनपर्छ र्।ईश्वरप्रति आस्था रहे पनि पूजा गर्दैनन् । शिक्षाक्षेत्रमा बढीभन्दा बढी लगानीले मात्रै मुलुकको समृद्धि हुने उनको ठम्याइ छ । संयोजनकारी भूमिकालाई नै आफ्नो सफलताको मन्त्र ठान्ने झा 'एउटा शिक्षक व्यवस्थापक हुन सक्दैन र व्यवस्थापक कहिल्यै शिक्षक बन्न सक्दैन तर म दुवै भए' भन्छन् ।
Admin 2011-07-18