व्यवसाय, ब्रान्ड र व्यवस्थापनमा रमाएको जीवन
रविन्द्रमान श्रेष्ठ
अध्यक्ष, मेरिगोल्ड ग्रूप
प्रबन्ध निर्देशक, डिस मिडिया
अलि कडा स्वभावका उनलाई क्याजुअल ड्रेसमै पनि चिटिक्क भएर हिँड्नुपर्छ । लामो समयसम्म व्यावसायिक क्षेत्रमा कुशल व्यवस्थापकको भूमिका निर्वाह गरिसकेका उनलाई लाग्छ, 'व्यक्तित्व निर्माणमा पोशाकको भूमिका महत्त्वपूर्ण हुन्छ ।' पछिल्लो समय आफै व्यवसाय शुरू गरेका उनी हुन्- डिस मिडिया प्रालिका प्रबन्ध निर्देशक तथा मेरिगोल्ड ग्रूपका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ । विभिन्न व्यावसायिक संस्थामा उनले २४ वर्षसम्म जागीरे जीवन बिताए । ३ वर्ष नेपाल कण्टिनेण्टल ग्रूपमा प्रबन्ध निर्देशक भएर काम गरेका उनले गोर्खा ब्रुअरी प्रालिबाट एक दशक लामो बजार निर्देशकको अनुभव पनि सँगालेका छन् ।
स्कूल पढ्ने उमेरदेखि नै लिभाइज, जिन्सका कपडाहरू उनको रोजाइमा पथ्र्यो । विगत २५ वर्षदेखि पोशाक तथा अन्य उत्पादनको प्रयोगमा उनी 'ब्राण्ड सचेत' व्यक्ति हुन् । नेपालगञ्जको आदर्शनगरमा जन्मेका उनले २०४२ सालमा सूर्य नेपाल प्रालिमा मार्केटिङ सुपरभाइजरको पदबाट जागीर यात्रा थालेका हुन् । त्यसपछि क्रमश: कम्पनीको कामले उनको भारतलगायतका देश जाने क्रम बढ्यो । उनी भन्छन्, 'जागीरका कारण एक्स्पोजर बढ्दै गएपछि ब्राण्ड कन्सस हुँदै गएँ ।' त्यसैबेलातिर उनले पहिलोपल्ट 'लुइ फिलिप'को सर्ट र पाइण्ट लगाएका थिए । उनका अनुसार उतिबेलै त्यो ब्राण्डको सर्टको १ हजार र पाइण्टको १ हजार ५ सय भारतीय रुपैयाँ मूल्य पर्थ्यो । सानै छँदादेखि राम्रो लुगा लगाउने शौक भएका उनले उसो त २०३७ सालमा नै सुट लगाउने सौभाग्य पाएका थिए । जेठा दाजुको बिहेमा बुबाले किनिदिएको 'नन ब्राण्डेड' सुट लगाउँदा निकै आनन्द आएको बताउँछन् उनी ।
कामलाई नशा ठान्ने श्रेष्ठको पेशागत यात्रा, अनुभव र जिम्मेवारीको क्षेत्र एकपछि अर्को विस्तार हुँदै गयो । यसैक्रममा 'अरूमाथि सकारात्मक प्रभाव पार्न आकर्षक व्यक्तित्व पनि हुनुपर्ने रहेछ' भन्ने उनलाई लाग्यो । हिमालयन स्न्याक्स एण्ड नुडल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत भइसकेका उनलाई भेट्दा लाग्छ- 'उनको त्यो सोचाइ सही हो ।' उनी पछिल्लो समय पार्क एभिन्यु, लुइस, भ्यान हुसेन, जोन प्लेयर (नेपाली), स्प्रिङउड (नेपाली) ब्राण्डका सर्ट र पाइण्ट लगाउने बताउँछन् । सुटका लागि उनी लुइस फिलिप र रेमण्डका कपडा प्रयोग गर्छन् । दिल्लीस्थित भारतीय डिजाइनर आशिष सोनीले डिजाइन गरेका सुट उनलाई असाध्यै मन पर्छ । हाल उनीसँग २५/२६ जोर सुट छन् । 'आउट डेटेड' सुटहरू उनले कपडाको आवश्यकता भएका मानिसलाई बाँडिदिने गरेका छन् । वर्षमा २/३ जोरसम्म खरीद गर्ने उनीसँग करीब रू. ६४ हजार (४० हजार भारतीय रुपैयाँ)सम्मका सुट छन् । उनी भन्छन्, 'जमानामा त वर्षमा ५ जोरसम्म पनि लगाइयो ।' विशेष गरी खैरो, गाढा नीलो र कालो रङका सुट लगाउन मन पराउने उनलाई सर्ट चाहिँ सेतो मन पर्छ ।
ब्राण्डेड सामग्रीको प्रयोगले गुणस्तरमा ढुक्क हुन सकिने भएकाले पनि आफू यसप्रति सचेत भएको उनको भनाइ छ । लुगा मात्र होइन, उनी जुत्ता, सौन्दर्य प्रशाधनका सामग्री पनि ब्राण्डेड नै प्रयोग गर्छन् । हस पप्पिज, बाटा, उडल्याण्ड र स्पोर्टसमा रिबोक तथा नाइकका जुत्ता उनको रुचिमा पर्छन् । पोलो, ह्युगो बोस, डियोडोर्ण्ट, एक्सलगायत पर्फ्युम प्रयोग गर्न रुचाउने उनी 'उले'को मोश्चराइजिङ क्रीम, जिलेट, एक्स, पाल्मोलिभका सेभिङ तथा आफ्टर सेभिङ क्रीम प्रयोग गर्छन् ।
व्यवसायमा 'टीम वर्क, कामप्रतिको लगन र सहकर्मीबीच विश्वास' खोज्ने उनी घडी पनि ब्राण्डेड नै लगाउँछन् । एक दशकअघि नै उनले रू. ३५ हजारमा किनेर ओमेगा ब्राण्डको घडी लगाएका थिए । उनले टिसोट, साइको, टिटान, टाइमेक्स, रोमान्सनलगायतका करीब ३० ओटा घडी फेरिसकेका छन् । परिवारमा दुईमध्ये कान्छी छोरी आकृति पनि आफूजस्तै 'ब्राण्ड कन्सस' भएको उनी बताउँछन् । कियाको स्पोर्टीकार चढ्ने उनी भन्छन्, 'मँहगो नै हुनुपर्छ भन्ने छैन तर, जे लगाइन्छ त्यो सुहाउँदो भने हुनुपर्छ ।' टेलिभिजन प्रसारण लाइन वितरण गर्ने उनको कम्पनी डिस होममार्फत् देशभरि ७२ ओटा च्यानल हेर्न सकिन्छ । त्यस्तै, मेरिगोल्ड ग्रूपअन्तर्गत जलविद्युत्, मनोरञ्जन, खाद्यन्नलगायतको क्षेत्रमा काम गर्ने ६ ओटा कम्पनी रहेका छन् ।
शकुन्तला जोशी
Admin 2011-08-20