शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''ऋण गरीबलाई'' - अनिलचन्द्र अधिकारी
प्रमुख कार्यकारी अधिकृत
कर्जा सूचना केन्द्र

बैङ्क वा वित्तीय संस्थासँग कर्जा लिएर नतिर्नेहरूको सूचना सङ्कलन गर्ने कार्यालयको नेतृत्व गर्छन् उनी । तर, ऋण चुक्ता नगर्नेलाई कालोसूचीमा समावेश गर्ने निर्णयउनको संस्थाले होइन, सम्बन्धित बैङ्कले नै गर्छ । सधैं नयाँ र चुनौतीपूर्ण काम गर्न रुचाउने उनले पृथक् शैक्षिक पृष्ठभूमि भए पनि प्राप्त जिम्मेवारीलाई व्यावसायिक ढङ्गले सञ्चालन गरिरहेका छन्- झीनामसिना अपवादलाई छाडेर ।

दुई दशकअघि स्थापना भएको कर्जा सूचना केन्द्रलाई अत्याधुनिक सूचना प्रवाह गर्ने प्रणालीमा विकसित गरेका छन् उनले ।  कर्जा सूचना केन्द्रका प्रमुख कार्यकारी अधिकृत अनिलचन्द्र अधिकारी गरीबलाई ऋण दिनुपर्ने विचार व्यक्त गर्छन् । भन्छन्-धनीलाई कर्जा दिएर अझ वैभवशाली बनाउनुभन्दा निर्धनको आर्थिक अवस्था उठाउन उसलाई सहजरूपमा कर्जा प्रवाह गर्नुपर्छ ।' चिया र नाङ्ले पसलेलेलाई ऋण प्रवाह गर्नु बैङ्क तथा वित्तीय संस्थाको दायित्व भएको उनको ठम्याइ छ ।

इलेक्ट्रिकल इञ्जिनीयरिङमा स्नातक गरेका अधिकारीले आफ्नो ज्यानको परवाह नगरी कम्बोडियामा झण्डै एक दशक काम गरे- मोबाइल फोन नेटवर्क स्थापनामा । त्यहाँको विषम परिस्थिति, राजनीतिक द्वन्द्व र विदेशीहरू आक्रमणको शिकार भएको अवस्थामा गाउँगाउँमा पुगेर टावर जडानलगायतका काम कम जोखिमपूर्ण थिएनन् । त्यहाँ काम गर्दाका क्षण सम्झँदा उनी उत्तिकै भयभीत एवम् रोमाञ्चित हुन्छन् ।

साहसिक तथा चुनौतीपूर्ण कामले नयाँ अवसरको ढोका खोल्नेमा उनी विश्वस्त छन् । कम्बोडियालीलाई दूरसञ्चार सेवा उपलब्ध गराउन आफूले त्यहाँ बिताएका ती दिनलाई उपलब्धिपूर्ण मान्छन् अधिकारी । कर्जा सूचना केन्द्रलाई उनले नै 'अनलाइन' मा अनुवाद गरेका हुन् । कागतरहित केन्द्र बनाउन उनी लागिपरेका छन् । लक्ष्य पनि त्यसैलाई निर्धारण गरेका छन् उनले ।

साठी हजार ऋणीको विवरण अद्यावधिक भएको छ- कर्जा सूचना केन्द्रमा । २५ लाखभन्दा बढी ऋण बक्यौता रहेकाहरूको विवरण मात्र सङ्कलन गर्ने पुरानो परिपाटीलाई परिवर्तन गर्दै उनले १० लाख कर्जा लिएकाहरूको तीनपुस्तेसहितको नामनामेसी सङ्कलन गरेका छन् । १ लाखभन्दा माथि कर्जा लिनेको सूचना पनि केन्द्रले सङ्कलन गर्न पाउनुपर्ने उनको मान्यता छ । त्यो प्रस्ताव निकट भविष्यमा व्यवहारमा अनुवाद हुनेमा ढुक्क छन् उनी । राष्ट्र बैङ्कले त्यसलाई सकारात्मक रूपले लिएको उनले बताए ।

जीवनमा कैयौं आरोहअवरोह पार गर्दै आजको अवस्थामा आइपुगेको उल्लेख गर्ने उनले केन्द्रलाई अन्तरराष्ट्रियस्तरको बनाउने लक्ष्य लिएका छन् ।  आफ्नो दक्षता र शीपलाई आफ्नै देशमा उपयोग गर्नुपर्ने मान्यतालाई आत्मसात् गर्दै उनी स्वदेश फर्केका हुन् । मातहतका कर्मचारीलाई उनीहरूको योग्यता र क्षमताका आधारमा उत्तरदायित्व दिन्छन् अनिलचन्द्र । योजना बनाएर काम गर्ने उनको बानी छ । नजानेकाहरूलाई सिकाएर उत्प्रेरित गर्ने उनको कार्यशैलीको नजिकबाट चिन्नेहरू प्रशंसा गर्छन् । आफ्नो क्षमताअनुसार काम नगर्ने र अरूको अनावश्यक टीकाटिप्पणी गर्नेहरूसँग व्यवहार गर्न उनलाई पटक्कै मन लाग्दैन ।

अधिकारीलाई काम सानो वा ठूलो हुन्छ भन्ने लाग्दैन । कठोर परिश्रम उनको सफलताको सूत्र हो । आफ्ना पितालाई आदर्श व्यक्ति मान्छन् उनी । थाइल्याण्डका अर्बपति खुन थनिनलाई पनि आदर्श पुरुषका रूपमा प्रस्तुत गर्छन् अधिकारी । निरक्षर थनिनले कुशल व्यवस्थापकको साथबाट नाम, दाम र प्रतिष्ठा कमाएकाले शिक्षितहरूले उनीबाट धेरै सिक्नुपर्नेमा उनको जोड छ । पैसाका निम्ति मरिमेट्न नहुने उनको बुझाइ छ । उनको विचारमा महत्त्वाकाङ्क्षा मृगतृष्णा हो, मान्छेका लागि ।

मुलुकमा संस्थागत संस्कृतिको विकास भएको ठान्दैनन् अधिकारी । व्यावसायिक धर्म पनि पालना नभएको उनको बुझाइ छ । संस्थागत सामाजिक उत्तरदायित्व पनि नगन्य मात्रामा भएको बताउने उनी समाजप्रतिको दायित्व निर्वाहमा कञ्जुस्याइँ गर्न नहुने विचार व्यक्त गर्छन् । व्यक्तिगत दानलाई उनी प्रचारको विषय बनाउन चाहँदैनन् । राष्ट्रको विकासका लागि हरेक नागरिकलाई सकेको योगदान गर्न आह्वान  गर्छन् उनी ।

Admin  2011-03-17