''सूत्र स्वच्छ प्रशासनको'' - दीप बस्न्यात
निवृत्त सचिव
झण्डै ३६ वर्षको उनको निजामती सेवाको अनुभव मुलुकमा सुशासन कायम गर्न उपयोगी हुन सक्छ । चतुर प्रशासकका रूपमा चिनिएका दीप बस्न्यातले २२ वर्षसम्म अर्थ मन्त्रालय अन्तर्गतका आकर्षक विभागमा बिताए । मुलुक भ्रष्टाचारको भुमरीमा भासिएको बताउने उनी यसलाई संस्थागत ढङ्गले निमिटयान्न पार्नुपर्नेमा जोड दिन्छन् । विगतको तुलनामा अहिले भ्रष्टाचार मौलाएको उनको विश्लेषण छ । उतिबेला सीमित मान्छे मात्र त्यसमा लिप्त हुन्थे र त्यो गोप्य रहन्थ्यो भने अहिले हाकाहाकी माग्ने प्रवृत्ति बढेको लाग्छ उनलाई । राजनीतिक संरक्षण र नेतृत्ववर्गको दृढ इच्छाशक्तिको अभावमा सुशासन सुदृढ हुन नसकेको उनको बुझाइ छ । भन्सार, कर, मालपोतलगायत निकायमा खरिदार र त्यस्तै ओहोदाको कर्मचारीले मोटर चढ्नुलाई भ्रष्टाचारको उपज भन्न हिचकिचाउँदैनन् उनी ।
स्वच्छ प्रशासन र सुशासन स्थापनाका निम्ति अख्तियारजस्तो संवैधानिक निकायलाई सुदृढ बनाउनुपर्ने बस्न्यातको मत छ । पदाधिकारीविहीन अख्तियार पखेटा काटिएको पक्षीजस्तो भएको टिप्पणी गर्छन् उनी । 'अख्तियार अपाङ्गजस्तो भएको छ' एक्लो सचिवले केही गर्न नसक्ने निष्कर्ष निकाल्दै उनी भन्छन् । अख्तियारमा प्रमुख आयुक्तलगायत आयुक्तहरूको नियुक्ति नहुनुलाई विडम्बना मान्छन् बस्न्यात । कानून कार्यान्वयन गर्ने निकायले गर्दा 'जे पनि हुन सक्ने' दृष्टान्त प्रस्तुत गर्न पछि पर्दैनन् उनी । कालो शिशायुक्त सवारीसाधन सञ्चालन गर्न नपाइने सर्वोच्च अदालतको आदेशको पालनामा देखाइएको तदारुकता स्वच्छ प्रशासन र सुशासन प्रवर्द्धनमा पनि लागू गर्नुपर्ने उनको ठम्याइ छ ।
महालेखा नियन्त्रक, महावाणिज्यदूत, भन्सार, राजस्व, श्रमलगायत विभिन्न अत्याकर्षक पद सम्हालेका बस्न्यात प्रभावशाली व्यक्तिबाट हुन सक्ने राजस्व तस्करी नियन्त्रण गर्न सफल भएको ठान्छन् । २०३२ सालमा लेखा अधिकृतका रूपमा सेवाप्रवेश गरेका उनलाई उसबेला र अहिलेको प्रशासनप्रणालीमा आकाश जमीनको अन्तर लाग्छ । त्यसबेलाको कठोर अनुशासन र त्यो पालना गर्नुपर्ने बाध्यता अहिले ठयाक्कै विपरीत- अराजकता र उच्छृङ्खलता । 'ऊबेला जिम्मेवारी र जवाफदेहिताले थिचेको हुन्थ्यो भने अहिले केही मान्छेलाई रिझाउँदा हुने अवस्था छ' हरेक क्षेत्रमा राजनीति हाबी हुँदा प्रशासनयन्त्र तहसनहस भएको अनुभूति सुनाउँछन् बस्न्यात ।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन हुन कम्तीमा अरू ५ वर्षलाग्ने बताउँछन् उनी । राजनीतिक दलहरूले विकास-निर्माणका काममा व्यवधान नगरे काकाकुल काठमाडौंवासीको प्यास मेट्न सकिने उनको विश्लेषण छ । परियोजना प्रभावित हुने गरी बेलाबेलामा स्थानीय तहमा सृजना गरिने अवरोधले मेलम्चीको पानी दुरुह भएको उनलाई लाग्छ । व्यवस्थापनमा स्नातकोत्तर गरेका उनको व्यवस्थापन मन्त्र हो- समय-व्यवस्थापन र अनुशासन । सकारात्मक सोचका साथ काम गर्नुपर्ने मान्यता उनको छ । कार्यालय र कार्यकक्षलाई आकर्षक बनाउन र त्यसलाई कुशल ढङ्गले व्यवस्थापन गर्दा कार्यालयको प्रभावकारिता बढ्ने उनको अभिमत छ ।
हरेक प्रशासकले सेवाग्राहीलाई हुने काम गरिदिने र नहुनेलाई कारणसहित 'हुँदैन' भन्ने बानीको विकास गर्नुपर्ने बस्न्यातको सुझाव छ । भारतमा लागू गरिएको राशन प्रणाली नेपालमा पनि अपरिहार्य भएको ठान्छन् उनी । जीवनयापनका आधारभूत आवश्यकता पूरा हुने गरी सरकारले सबै तहका कर्मचारीलाई सुविधा दिनुपर्ने उनलाई लाग्छ । महँगी नियन्त्रण पनि उत्तिकै आवश्यक भएको बताउँछन् उनी ।
मुलुकको अहिलेको अर्थतन्त्रलाई सकारात्मक ठान्छन् बस्न्यात र यसको भविष्य पनि उज्ज्वल देख्छन् । राजनीतिक स्थायित्वसँगै विकासको लहर पनि आउनेमा उनी आशावादी छन् । ईश्वरमा आस्था भएका उनले घरमा नै मन्दिर बनाएका छन् । हरेक दिन उनी पूजापाठ गर्छन् । त्यसो गर्दा उनलाई ऊर्जा प्राप्त भएको अनुभूति हुन्छ । एकाग्र मनले प्रार्थना गर्दा उनले त्यो ऊर्जा पाएका छन् ।
Admin 2011-02-15