''क्षमतामा विश्वास'' - यज्ञप्रसाद गौतम
सचिव, निर्वाचन आयोग
सन्ताउन्न वर्षअघि काभ्रेपलाञ्चोकको मदनकोडारी गाउँमा जन्मेका उनले २०३७ जेठदेखि अस्थायी 'एयर ट्राफिक कण्ट्रोलर'का रूपमा सरकारी सेवा शुरू गरेका हुन् । परिश्रमलाई पूजा मान्ने उनले २ वर्षपनि बित्न नपाउँदै लिखितपरीक्षा पास गरेर त्यही कार्यालयको प्राविधिक अधिकृतमा आफूलाई स्थापित गराए । भोलिदेखि राष्ट्रिय सतर्कता केन्द्रको जिम्मेवारी सम्हाल्न गइरहेका निर्वाचन आयोगका सचिव यज्ञप्रसाद गौतम पिता प्रमानन्द र दाज्यू मीनप्रसादको शिक्षाप्रतिको हुटहुटीले अहिलेको अवस्थामा पुगेको बताउँछन् । मादनकोडारी गाउँमा गौतमका पिता सामाजिक एवम् शैक्षिक विकासका अगुवा मानिन्थे । उनकै सक्रियतामा गाउँमा विद्यालय खुलेका थिए । त्यहीँको धुलौटोमा उनले कखरा सिकेका हुन् । यद्यपि, उनले राजधानीको पद्मोदय माविबाट विद्यालय शिक्षा पूरा गरेका हुन् । स्वदेशमा नै पढेका उनले वाणिज्यशास्त्रमा स्नातक र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । परीक्षा पास गरेर उनी उप र सहसचिव भएका हुन् । पढाइमा अब्बल उनलाई अरूको निगाहभन्दा आफ्नो क्षमतामा विश्वास छ । प्रविधि र पर्यटन क्षेत्रमा आफ्नो सर्वाधिक ऊर्जाशील समय बिताएका उनी दक्षता, अनुभव र शीपअनुसारको पोष्टिङ हुँदा सेवाको प्रभावकारिता बढ्ने विचार व्यक्त गर्छन् । भन्छन्, 'प्राविधिक प्रकृतिका मन्त्रालयमा विषयगत ज्ञान भएका मान्छेलाई स्थान दिनुपर्छ ।'
२०१३ सालपछि रामेछापको तामाकोशीवारि र काभ्रेको तामाकोशीपारिबाट सचिव हुने पहिलो व्यक्ति आफू भएको उनको दाबी छ । आर्थिक अवस्था सुदृढ नभएका कारण कलेज पढ्दै सानोतिनो काम गर्दै अघि बढेको उनी बताउँछन् । कैयौं सरकारी संस्थानमा लिखितपरीक्षा पास गरे पनि अन्तरवार्तामा अनुत्तीर्ण हुँदा उनको मन नराम्ररी अमिलियो । जस्तोसुकै असहज परिस्थिति पनि डटेर सामना गर्नुपर्छ र असफलतालाई सफलता सूत्र मान्नुपर्छ भन्ने उनले लोकसेवा आयोगको परीक्षा पहिलो फड्कोमा नै पार गरेका हुन् । झण्डै २ दशक हवाई विभागमा बिताएका उनी समयको सदुपयोग नगर्नेले प्रगति गर्न नसक्ने बताउँछन् ।
'असल प्रबन्धक समयमा कार्यालय पुग्छन्' निर्धारित समयमा कार्यालय पुगेर आफ्नो काम आलटाल नगरी सम्पादन गर्नु नै प्रगतिको खुट्किलो हो गौतमको विचारमा । कार्यसूची र प्राथमिकता तोकेर काम गर्ने उनको बानी छ । मातहतका कर्मचारीसँग मित्रवत् व्यवहार गर्छन् उनी । र, कामको मूल्याङ्कन एवम् अनुगमन गर्छन् । आवश्यताअनुसार दण्ड र पुरस्कारको नीति पनि अख्तियार गर्ने उनी केन्द्रमात्र होइन, मोफसलका कर्मचारीलाई पनि उत्तिकै महत्त्व दिन्छन् । उनीहरूका समस्या सुन्ने र समाधानसमेत सुझाउने उनको कार्यशैली अचम्मको छ । समूहगत काममा विश्वास गर्छन् गौतम । परिणाममुखी बन्न सबैलाई हौस्याउने उनी आस्थाका आधारमा कसैलाई सरुवा गर्दैनन् । अनुत्पादक 'मिटिङ'मा समय बर्बाद गर्न उनलाई मन लाग्दैन ।
निश्चित सेवाअविधिपछि प्राप्त हुने बढुवाले पदस्थापना र समायोजनमा समस्या सृजना गरेको गौतमको विश्लेषण छ । कार्यसम्पादन मूल्याङ्कन प्रणालीलाई समयसापेक्ष बनाउनुपर्नेमा उनको जोड छ । सार्वजनिक प्रशासनलाई आकर्षक बनाउनु जरुरी भएको उनको ठम्याइ छ । लोकसेवा आयोगले पाठयक्रम परिमार्जन गर्नुपर्ने उनको सुझाव छ । आरक्षणले प्रतिस्पर्धी घटाउने अभिमत व्यक्त गर्ने उनी आरक्षणविरोधी भने होइनन् । राजनीतिक नेतृत्व दृढसङ्कल्पका साथ लागेमा भ्रष्टाचार नियन्त्रण गर्न सकिनेमा उनी विश्वस्त छन् ।
नेतृत्व तहमा बस्ने जोसुकै विशेषज्ञ नभए पनि उसमा सबै क्षेत्रको सामान्य जानकारी हुन जरुरी भएको गौतमलाई लाग्छ । 'पर्यटन वा निर्वाचन आयोगको सचिवलाई मौद्रिक नीतिबारे सामान्य ज्ञान हुनैपर्छ' विषयगत विशिष्टता नभए पनि सबै क्षेत्रको जानकारी हुनैपर्ने र नेतृत्व वर्ग अध्ययनशील हुनुपर्ने तर्क गर्दै उनी भन्छन् । नेपाली नागरिकलाई मात्र मतदाता बनाउन तस्वीरसहितको मतदाता नामावली सङ्कलनको कार्य अघि बढाइएको बताउँछन् उनी ।
धर्मकर्ममा विश्वास गर्छन् गौतम । फुसद हुँदा मन्दिर पनि जान्छन् । पूजाअर्चना गर्दा आत्मशुद्धि हुन्छ उनको । देशमा संस्थागत संस्कृतिको विकास नभएको उनको बुझाइ छ । सामाज उत्थानका निम्ति दान पनि गर्छन् उनी । दानको प्रचारप्रसार गर्नु उनलाई उचित लाग्दैन ।
Admin 2011-05-17