शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''सहकार्य आत्मनिर्भरताका लागि'' - मनीषकुमार अग्रवाल
निर्देशक, एचपी अग्रवाल ग्रूप
मनीषकुमार अग्रवाल'लोडशेडिङ'को पीडाले पिरोलिएका मुलुकवासीका निम्ति बिजुली उत्पादनको उपाय सुझाउन पछि पर्दैनन् उनी । देशमा सञ्चालित सबै चिनी मिलका 'टर्वाइन'को स्तरोन्नतिका लागि सरकारले कम ब्याजदरमा ऋण दिएमा दैनिक ४० देखि ५० मेगावाट बिजुली सहजै उत्पादन हुने उनको दाबी छ । वर्षमा ४ महीना मात्र चल्ने चिनी मिलका टर्वाइनको उपयोग गर्ने नीति सरकारले ल्याउनुपर्नेमा एचपी अग्रवाल ग्रूपका निर्देशक मनीषकुमार अग्रवाल जोड दिन्छन् । एचपी समूहअन्तर्गत लुम्बिनी चिनी उद्योगलगायत औद्योगिक प्रतिष्ठानको नेतृत्व गरिरहेका उनी चिनी मिलका टर्वाइनबाट निस्कने बिजुली राज्यलाई दिन सबै उद्यमी तयार रहेको बताउँछन् । 'हाम्रा कारखानाबाट उत्पादित बिजुलीविना कुनै शुल्क हामी नेपाल विद्युत् प्राधिकरणलाई दिन तयार छौं, हामीलाई पनि चाहिएको बेला उसले विद्युत् दिनुपर्छ,' प्राधिकरणसँग विद्युत् आदाप्रदानका लागि सम्झौता गर्न सकिने उल्लेख गर्दै उनी भन्छन् । 'रन अफ द रिभर' परियोजनाका निम्ति पनि उद्यमी-व्यवसायीहरू सामूहिक रूपमा लगानी गर्न तयार रहेका बताउने मनीष सरकार र उद्योगपतिबीच 'विन-विन सिचुएशन'मा काम गर्न सकिने प्रशस्त स्थान र सम्भावना देख्छन् । वितरण लाइन विस्तार र 'ह्विलिङ चार्ज' प्राधिकरणलाई तिर्न कुनै उद्यमीले आनाकानी नगर्ने उनलाई लाग्छ-  हरेक दिन लामो समयसम्म हुने विद्युत् कटौतीका कारण बढेको उत्पादन खर्च घटाउन ।

चिनी मिलबाट पर्याप्त मात्रामा उत्पादन हुने खुदो भारत निर्यात गर्न सकिने वास्तविकतालाई बेवास्ता गर्न नहुने मनीष बताउँछन् । उद्योग संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनको माग छ । स्पिरिट आयातमा प्रतिबन्ध लगाएमा देशभरका स्पिरिट उद्योगलाई टेवा पुग्ने उनको बुझाइ छ । उखु उत्पादन बढाउन मलखाद र बीउमा थप लगानी अपरिहार्य भएको उनलाई लाग्छ । उनको कम्पनीले वर्षेनि लाखौं रूपैयाँ उन्नत उखुको बीउ उत्पादनमा लगानी गर्दै आएको छ ।

श्रीकृष्ण आयल रिफाइनरी एण्ड भेजिटेबल घी इण्डष्ट्री, श्रीराम खाद्य उद्योग, लुम्बिनी चिनी उद्योग, मेघा सोप एण्ड केमिकल इण्डष्ट्रिज, पोलिमर इण्डष्ट्रिज, आधुनिक दाल उद्योग, मनीष तेल उद्योग, पूर्वाञ्चल ग्रामीण विकास बैङ्कलगायत झण्डै एक दर्जन उद्योग प्रतिष्ठानका निर्देशक मनीषको मातहतमा करीब ८ सय कर्मचारी काम गर्छन् । कर्मचारीलाई भेदभाव नगर्ने र मर्का परेकालाई दिल खोलेर सघाउने उनको बानी छ । हरेक कामदारलाई उनले क्षमताअनुसारको जिम्मेवारी दिएका छन् । उनको सबै कम्पनीका कर्मचारी स्वामित्वबोधको भावनाका साथ काम गर्छन्  । मनीषबाट उनीहरूले सिकेको पनि त्यही हो । समूहगत कार्य संस्कारमा विश्वास गर्ने उनलाई समयअनुसार लचकता अपनाउनुपर्छ भन्ने लाग्छ । कामदारलाई थर्काएर होइन, मित्रवत् व्यवहारबाट काम लिनुपर्ने उनको मत छ । बोली र व्यवहारमा तालमेल नमिलाउने र व्यावसायिक ज्ञान नभएकाहरूसँग काम गर्न उनलाई अरुचि हुन्छ ।

सुजल फुड्स प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ मनीषलाई शालीन व्यक्ति भन्छन् । जुनसुकै काम गर्न उनमा प्रशस्त ऊर्जा र उत्साह भएको श्रेष्ठ बताउँछन् । मनीषको सहयोगी एवम् मित्रवत् व्यवहारको प्रशंसा गर्ने उनी मनीषमा केही खराबी देख्दैनन् ।

व्यवस्थापनका स्नातक मनीषले व्यापार सम्हालेको १७ वर्षनाघिसकेको छ । पारिवारिक व्यवसायलाई प्रगतिको पथमा निरन्तर अघि बढाएका उनले हालसम्म प्राप्त सबै सफलताको श्रेय सामूहिक कर्मलाई दिन्छन् । कर्मचारी, व्यवस्थापन र कामदारको सक्रिय सहयोगबाट एचपी अग्रवाल ग्रूपअन्तर्गतका औद्योगिक प्रतिष्ठानले सफलता हात पारेका उनको कथन छ । खाद्यान्नसम्बन्धी कारोबार गर्ने कम्पनी भएकाले आफ्ना उत्पादनलाई घरघरमा पुर्याउने उनको लक्ष्य छ । मातापिताको आशीर्वाद र प्रेरणाबाट वर्तमान अवस्थामा पुगेको उनी उल्लेख गर्छन् ।

मूल्य अभिवृद्धि कर (भ्याट) को बिल सक्कली वा नक्कली छुट्टयाउने जिम्मा राज्यको भएको मनीषको मत छ । 'राज्यले गर्नुपर्ने काम व्यापारीमाथि थोपर्नु हुँदैन' गैरजिम्मेवारपूर्ण काम गर्नेहरूलाई कानूनको कठघरामा उभ्याउनुपर्नेमा जोड दिँदै उनी भन्छन् । नेपाललाई चिनीमा आत्मनिर्भर बनाउन सकिने प्रशस्त सम्भावना रहेको उनलाई लाग्छ । सञ्चालनमा रहेका सातओटा चिनी मिलले वार्षिक ७० हजार मेट्रिक टन उत्पादन गर्दै आएका छन् । नेपालको आन्तरिक माग १ लाख २० हजार मेट्रिक टन हो । सरकारीस्तरमा उखु किसानलाई बीउ र मलखादको सुविधा उपलब्ध गराउन सके पर्याप्त उखु उत्पादन गरी चिनीमा खर्च भइरहेको विदेशी मुद्राको खर्च घटाउन सकिनेमा मनीष विश्वस्त छन् । भन्छन्- 'राज्यपक्ष र सम्बन्धित उद्योगबीच सहकार्य भएमा चिनीमा आत्मनिर्भर बन्न बेर लाग्दैन ।'