शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अभिभावकीय संरक्षण
डा.नवीन शर्मा
निर्देशक
नेम इन्षिटच्युट फर मेडिकल एजुकेशन


मानिसहरू कोही शौखले व्यवसायमा आउँछन् त कोही परिस्थितिले । डा नवीन शर्मालाई परिस्थितिले व्यवसाय गर्न बाध्य बनायो । आफूले अठोट गरेको विषयमा उच्चशिक्षा हासिल गर्न उनलाई व्यवसाय गर्नैपर्ने भयो । त्यतिबेला उनले रोजेको व्यवसाय वास्तवमा व्यवसाय नै मानिँदैनथ्यो । तर, उनले त्यसैमा आफ्नो सम्पूर्ण ध्यान लगाइरहे र सफलता पनि पाए । आईएससी अध्ययन पूरा गरेर चिकित्सा विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीका लागि तयारी कक्षा सञ्चालन गर्न स्थापना भएको हो- नेम इन्षिटच्युट फर मेडिकल एजुकेशन । त्यसैका निर्देशक हुन् उनी, जुन संस्था एउटा ब्राण्डका रूपमा स्थापित भइसकेको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट २०५३ सालमा एमबीबीएस पूरा गरेपछि उनलाई जागीरको रहर पटक्कै जागेन । अमेरिका कसरी जाने र एमडी (डाक्टर अफ मेडिसिन) गर्ने भन्ने सोच मात्रै उनको मस्तिष्कमा घुमिरह्यो । त्यही सपना साकार पार्न शर्माले चाँडै पैसा कमाउने र पढ्न अमेरिका जाने सोच बनाए । त्यसका लागि उनले आफ्नै दिदीसँग १४ हजार रुपैयाँ सापटी लिएर नेमको स्थापना गरे । र, पैसा जम्मा पारेर विदेश जाने सोच बनाए । यसरी शुरू भएको उनको व्यावसायिक यात्रा निरन्तर जारी रह्यो । एमडी गर्न अमेरिका जाने योजना सपनामा नै सीमित भयो । 'अब त चाहेर पनि जान नसक्ने भएछु, यो खुद्रे व्यवसायले मलाई फसाइदियो,' उनी भन्छन् । अब भने नेपालका सबै जिल्लाहरूको भ्रमण नगरी अमेरिका नजाने वाचा गरेका छन् शर्माले । उनी देशका ४५ जिल्लामा पुगिसकेका छन् । 'बाँकी जिल्ला घुमेर मात्रै अमेरिका जान्छु र एमडी गर्छु', उनी भन्छन् ।   

२०२७ सालमा बुटवलमा जन्मिएका शर्माको घर पूर्वी पहाडी जिल्ला पाँचथरमा पर्छ । जागीरको सिलसिलामा बुबाआमा बुटवल पुगेको बेला उनी जन्मिए । पाँच कक्षासम्म उनले मोरङमा पढे । उनका बुबा व्यावहारिक शिक्षाका पक्षपाती थिए । त्यसैले, त्यस्तै शिक्षाका लागि उनीलगायत चार दाजु र दिदीसमेतलाई २ वर्षसम्म पाँचथर पठाए । 'गाउँमा घाँस काट्ने, गाई दुहुने र मल सोहोर्ने तालीम लिइयो,' शर्मा भन्छन् । अनुभव सँगाल्दै उनले आफ्नो अध्ययन पनि अगाडि बढाए । महेन्द्रमोरङ क्याम्पसमा आईएससी पढेर उनी महाराजगञ्ज शिक्षण अस्पतालमा दोस्रो प्रयासमा एमबीबीएस अध्ययनका लागि नाम निकाल्न सफल भए । आफ्नो साँझबिहानको जोहो टार्ने शर्माले क्याम्पसमै एमबीबीएसको कोचिङ कक्षा पनि सञ्चालन गरे । सापटी मागेर सञ्चालन गरेको उनको संस्था अहिले चिकित्साशास्त्र पढ्ने विद्यार्थीको भरोसायोग्य अभिभावक भएको छ । 'नेपालमा एमबीबीएस पढ्ने ९० प्रतिशत विद्यार्थी हाम्रो संस्थामा पढेका हुन्,' उनी गर्व गर्छन् । विद्यार्थी र अभिभावकको विश्वास जित्न सफल भएका छन् उनी । भविष्यका डाक्टर बन्ने सपना बोकेका धेरैको सपना साकार पार्ने सारथी भएको छ उनको संस्था । हरेक दिन विद्यार्थीको ठूलै भीड लाग्छ तयारी कक्षा लिनका लागि नेममा । संस्था एमबीबीएसको तयारी कक्षामा मात्र सीमित छैन । स्टाफ नस र लोकसेवा आयोगका विभिन्नस्तरको तयारी कक्षा पनि शुरू गरेका छन् शर्माले । हालसम्म उनले ४० हजार विद्यार्थी पढाइसकेका छन् । ४ महीनाको तयारी कक्षामा आउने सबै विद्यार्थीको जन्मकुण्डली तयार पारेर उनी भर्ना लिन्छन् । पहाडबाट झरेका विद्यार्थीलाई असाध्यै माया गर्छन् । डेढ सय गरीब तथा जेहेनदार विद्यार्थीलाई उनले नि:शुल्क पढाइरहेका छन् ।

प्रेरणाको स्रोत आफ्नै मेहनतलाई मान्छन् शर्मा । एकाग्र भएर अध्ययन गर्ने हो भने जुनसुकै क्षेत्रमा सफलता प्राप्त गर्ने सकिने उनको ठम्याइ छ । उनी सञ्चारमाध्यममा त्यति आउन रुचाउँदैनन् । 'कामले विश्वास जगाउने हो, प्रचार गरेर के हुन्छ ?' उनीसँग कुरा गर्न आउने जोकोही सञ्चारकर्मीलाई यही भनेर टारिदिन्छन् । फुसदमा कविता लेख्छन् र त्यतिकै थन्क्याउँछन् । हालसम्म समाजसेवामा संलग्न नभएको बताउँछन् शर्मा । तर, देशभरिका विभिन्न संस्थामा काम गर्ने २० जना सुरक्षा गार्डका सन्ततिलाई आफ्नो संस्थामा नि:शुल्क तयारी कक्षा अध्ययन गर्ने व्यवस्था मिलाइदिएका छन् । संघर्ष गरेर आएका विद्यार्थी उनलाई मन पर्छ । 'दु:ख पाएका विद्यार्थीमा केही गरौं भन्ने भावना हुन्छ,' शर्मा भन्छन् । अहिले उनले करीब रू. १५ करोडमाथिको पूर्वाधार निर्माण गरिसकेका छन् । ४० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । उनमा कुनै घमण्ड छैन । आफ्नो सफलतामा उनी घमण्ड पनि गर्दैनन् । एमबीबीएसमा नाम निकालेदेखि नै शर्माले बियर पिउन थालेका हुन् । तर, उनलाई बियर पिउने आफ्नो बानी मनपरेको छैन । त्यही भएर पाथीभराको मन्दिर गएर उनले मदिरा छाड्ने योजना बनाएका छन् । शर्मा विस्तारै यो व्यवसायबाट दिक्दारी भएको अनुभव सुनाउँदै भन्छन्, 'कहिलेकाहीँ यो झन्झटभन्दा त चिकित्सक पेशातिरै फर्कौं कि जस्तो पनि लाग्छ ।'

Admin 2011-07-19