''पैरवी मुख स्वास्थ्यको'' - डा. बुद्धिमान श्रेष्ठ
प्रमुख कार्यकारी निर्देशक
कान्तिपुर डेण्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसच सेण्टर सानैदेखि चिकित्सा क्षेत्रमा लागेर समाज सेवा गर्ने अभिलाषा थियो उनको । त्यो चाहना उनले पूरा गरेरै छाडे पिता गुप्तबहादुरको प्रेरणाले । भारतीय सेनाका जागीरे गुप्तबहादुरलाई मेधावी छोराको मनोरथ साकार पार्न कठिन भएन । २०४४ सालमा भारतको दरभङ्गाबाट दन्तचिकित्सामा स्नातक गरेपछि उनको सपना वास्तविकतामा परिणत भयो । र, थाले मुख स्वास्थ्यको पैरवीसँगै वीर अस्पतालको दन्त स्वास्थ्य विभागमा काम । 'ओरल हेल्थ'बारे बेवास्ता गर्दा कलिलो उमेरमा नै दाँत गुमाएका धेरै थोतेहरूलाई नजिकबाट नियाल्दा नराम्ररी उनको मन कुँडियो । ३ वर्ष३ महीना वीर अस्पतालमा सेवा गरेपछि तालीमको सिलसिलामा जापान पुगेका उनले आफ्नो शीप र चिकित्सकीय फाँटलाई फराकिलो पारेका हुन् । नेपाली दाजुभाइलाई दाँत र मुखको महत्त्वका साथै त्यसलाई स्वस्थ नराख्दा भोग्नुपर्ने भयङ्कर परिणामप्रति सजग गराउन कान्तिपुर डेण्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसच सेण्टरका प्रमुख कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठ हरपल लागिपरेका छन् । उनले त्यसो गर्न थालेको पनि अढाइ दशक भइसकेको छ । ढङ्ग पुर्याएर दाँत माझ्न सुझाइ रहन्छन् उनी ।
बाल्यावस्थामा बाघको शिकार हुनबाट कैयौंपटक जोगिएको क्षण डा. श्रेष्ठको मानसपटलमा अझै पनि मडारिरहन्छ । स्याङ्जाको कुवाकोट गाविस-२ बाघेडाँडाका बासिन्दा उनलाई शहरभन्दा गाउँ प्रिय लाग्छ- त्यहाँको सुन्दर, शान्त र स्निग्ध परिवेश । पैंतीसदेखि ४४ वर्ष उमेरसमूहका मानिस मुख, गिजा र दाँतसम्बन्धी रोगबाट ग्रस्त भएका उनको अनुभव छ । उनीहरूलाई स्वस्थ राख्दै उपचारका निम्ति विदेशिने रकम जोगाउन उत्तिकै आवश्यक भएको उनको बुझाइ छ । प्रतिरोधात्मक र उपचारात्मक प्रविधि अपनाए त्यसो गर्न सकिने उनलाई लाग्छ । सरकारले पनि त्यसतर्फ सोच्न जरुरी भएको उल्लेख गर्दै उनी अविलम्ब त्यस्तो नीति आउनुपर्नेमा जोड दिन्छन् ।
डा. श्रेष्ठले नेतृत्व गरेको मुलुकको पाँचौं डेण्टल कलेज हो- कान्तिपुर डेण्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसच सेण्टर । अन्तरराष्ट्रिय बजारमा सजिलै प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनको ध्येयले उनको अगुवाइमा ८२ करोडको लगानीमा उक्त संस्था स्थापना भएको हो । बैङ्कसँग ऋण लिएर उनले जोखिम उठाएका हुन्- दन्त चिकित्सक उत्पादन तथा दन्त शिक्षा प्रवर्द्धनका लागि । १ सय ६० विद्यार्थी अध्ययनरत छन् उक्त कलेजमा । साढे ५ वर्षमा त्यहाँबाट ब्याचलर इन डेण्टल सजरी (बीडीएस) गर्न सकिन्छ । प्रारम्भका २ वर्ष एमबीबीएसको पाठयक्रम पनि पढाइन्छ त्यहाँ ।
समूहगत एवम् सामूहिक कार्यप्रणालीमा विश्वास गर्छन् डा. श्रेष्ठलाई । र, आफू नै दृष्टान्त बन्नुपर्ने मान्यता राख्छन् । इमानदारी, मेहनत, कामप्रति समर्पित छन् उनी । मातहतका १ सय कर्मचारीलाई पनि त्यसै गर्न प्रेरणा दिइरहन्छन् उनी । उनीहरूलाई स्वयम् अभिप्रेरित हुन र भूलबाट सिक्ने सुझाउने उनको बानी छ । २ वर्ष पुगेपछि कर्मचारीलाई स्वतः स्थायी गर्ने र बेलाबेलामा आवश्यकताअनसार स्वदेशी एवम् विदेशी तालीममा सहभागी बनाएर वृत्तिविकासको अवसर पनि दिन्छन् । असफलताबाट विचलित नहुन उनी सबैलाई सल्लाह दिन्छन् । जनक गुप्तबहादुरलाई नै आदर्श पुरुष मान्छन् उनी । अत्यन्त स्वार्थी र राष्ट्रका बारेमा नसोच्ने र रातारात लगानीको प्रतिफल खोज्नेहरूसँग व्यवहार गर्न उनलाई मन लाग्दैन ।
कलेजका प्रशासन प्रमुख शुक्र श्रेष्ठलाई डा. श्रेष्ठको स्पष्ट बोल्ने बानी राम्रो लाग्छ । हुने काम तुरुन्त गरिदिने र नहुने भए कारणसमेत खुलाउने उनको कार्यशैली पनि प्रभावकारी लाग्छ प्रशासन प्रमुख श्रेष्ठलाई । डा. श्रेष्ठको अहस्तक्षेपकारी कार्यप्रणाली र क्षमताअनुसार जिम्मेवारी दिने गुणको उनी प्रशंसा गर्छन् । र, उनको सबैलाई समान दृष्टिले हेर्ने र भेदभाव नगर्ने व्यवहार सबैले अनुकरण गर्नुपर्ने बताउँछन् प्रशासन प्रमुख श्रेष्ठ ।
मुलुकमा संस्थागत संस्कृतिको विकास धेरै कम भएको डा. श्रेष्ठको विश्लेषण छ । बैङ्किङ क्षेत्रमा त्यसको अभ्यास हुन थालेको उनको बुझाइ छ । दन्तचिकित्साको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनको लक्ष्य छ । आफूलाई सफल मान्दैनन् उनी तर सन्तुष्टि व्यक्त गर्छन् आफूले गरेका कामप्रति । पूव मेचीदेखि पश्चिम महाकालीसम्मका निरक्षर, साक्षर र विद्वत्वर्गलाई उनले मुखलाई स्वस्थ्य राख्न प्रवचन सल्लाह दिएका छन् । स्कूले विद्यार्थीलाई मात्र होइन, आमासमूहमा पनि पुगेर उनले दाँत माझ्ने र मुख सफा राख्न चेतनाको सञ्चार गर्दै आएका छन् । उनको सीएसआर यतिमा मात्र टुङ्गिदैन- गरीब तथा जेहेनदार विद्यार्थीलाई कम शुल्कमा दन्तशास्त्री हुने सौभाग्य पनि दिएका छन् ।
Admin 2011-04-17