शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

जडीबुटी खेतीका अभियन्ता
केबी गुरुङ
सञ्चालक
हिमालय हर्बल फार्म, तनहुँ


इच्छाशक्तिका अगाडि असम्भव केही छैन । जोश र जाँगर भए काम नलाग्ने पाखापखेरामा पनि पैसा फलाउन सकिन्छ । यस्तै खाली पाखापखेरामा व्यावसायिक जडीबुटी खेती गरेर नाम र दाम दुवै कमाउन सफल देखिन्छन् तनहुँका केबी गुरुङ । रोजगारीका लागि विदेशिनै पर्छ भन्ने मानसिकता बोकेका युवाका लागि गतिलो जवाफ बनेका छन् उनी । तीन दशकअघि कृषि अधिकृतको जागीर छोडेर व्यावसायिक जडीबुटी तथा फलफूल खेती शुरू गर्दा उनको खिल्ली उडाउने धेरै थिए । तर, निरन्तरको मेहनत र परिश्रमले उनी अहिले करोडौंको मालिक बनेका छन् । हिमालयन हर्बल फार्म स्थापना गरेर जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् गुरुङ ।

उमेरले सात दशक नाघिसक्दा पनि उनमा जोशजाँगरको कुनै कमी छैन । आफ्नो पौरख हेर्न आउने जो कोहीलाई उनी जडीबुटी व्यवसायबाट मात्र देशको काँचुली फेर्न सकिने भन्दै यसमा लाग्न प्रेरित गर्छन् । 'यत्रो सम्भावनालाई चिन्न नसक्ने नेपाली किन गरीब नहोऊन् त,' उनी भन्छन् । २०३२ सालमा व्यास नगरपालिका वडा नं ७ पाटनमा रू. १० हजारमा ५० रोपनी जग्गा किनेर उनले व्यवसाय आरम्भ गरेका थिए । 'त्यसबेला धेरैले मलाई अनुत्पादक जग्गामा पैसा लगानी गर्‍यो भनेर उडाए,' उनी विगत सम्झँदै भन्छन् । वर्तमानलाई भन्दा भविष्यलाई बढी ख्याल गर्ने गुरुङ जोखिम मोलेरै यस क्षेत्रमा प्रवेश गरेको बताउँछन् । अहिले उनको व्यवसाय रू. १० करोड पूँजी बटुल्न सफल भएको छ ।

भारतको कानपुरस्थित आगरा विश्वविद्यालय अन्तर्गतको कानपुर पत्थर कलेजमा पढ्दा त्यहाँको बागवानी विकासबाट उनी प्रभावित थिए । 'कानपुरमै पढ्दा जडीबुटी र बागवानी कृषिमा केही गर्छु भन्दै फर्किएँ,' उनी भन्छन् । कृषिमा बीएस्सी गरेका गुरुङ स्वदेश फर्केलगत्तै सरकारी जागीरमा प्रवेश गरे । कडा मेहनत र परिश्रमलाई आफ्नो मूलमन्त्र बनाउँदै आएका उनको व्यवसाय तनहुँमा मात्र सीमित छैन । पश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न जिल्लामा फैलिएको छ । केही समय अगाडि मात्रै तनहुँको पाटनमा थप ६० रोपनी जग्गा किनेर रक्तचन्दन लगाएका छन् । यस्तै, विभिन्न नयाँ प्रजातिका फलफूलका बिरुवासमेत लगाएका छन् ।

जडीबुटीखेतीबाट अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउन सक्ने मान्यता राख्छन् उनी । 'करोडौं मूल्य पर्ने जडीबुटी सस्तैमा विदेश निर्यात गरिएको छ,' खिन्नता प्रकट हुँदै उनी भन्छन्, 'हामीले करोडौं मूल्य पर्ने जडीबुटी कौडीको दाममा बेचिरहेका छौं ।' सस्तोमा जडीबुटी बेचेर महँगोमा औषधि आयात गर्ने नेपालको नियतिलाई विडम्बना भन्छन् उनी । 'योभन्दा ठूलो विडम्बना के हुन सक्ला र ?' उनी प्रश्न गर्छन् । वनमा पाइने  पाँचऔंले, सतुवालगायत जडीबुटी व्यावसायिक खेती गरेर यहीँ औषधि उत्पादन गर्न सकिन्छ । त्यो औषधि विदेश निर्यात गरी अर्बौं कमाउन सकिने उनको विश्वास छ ।

अवसर नपाएर विदेशिने युवालाई जडीबुटी खेतीमा लाग्न सुझाव दिन्छन् । 'जडीबुटीको खेती गर्ने युवाले खाडीमा कमाएको भन्दा धेरै यहीँ कमाउन सक्छन्,'  उनी भन्छन्, 'यसका लागि सरकारले वातावरण बनाइदिनु पर्‍यो ।' पश्चिमाञ्चल विकास क्षेत्रमै कृषिका अगुवा भनेर चिनिने गुरुङ आजकल भने ओझेलमा परेका छन् । 'म काममा विश्वास गर्ने मान्छे हुँ । कसैले सम्मान गर्ला भनेर काम गरेको पनि होइन,' उनी भन्छन्, 'सक्दासम्म व्यवसायमा लागिरहनेछु ।' आफैले उत्पादन गरेका जडीबुटीलाई औषधिका रूपमा प्रयोग गर्छन् । त्यसैले ७३ वर्षमा पनि तन्दुरुस्त देखिन्छन् । 'मलाई केही रोग छैन,' उनी भन्छन्, '१ सय २७ वर्षम्म बाँच्छु र यस क्षेत्रमा अझै केही गर्छु,'  तनहुँ, चितवन, रसुवासहित मध्यपहाडी जिल्लामा लोपोन्मुख जडीबुटीको खोज र अनुसन्धानमा तल्लीन गुरुङ सरकारी तवरबाट कुनै सहयोग नपाए पनि गुनासो गर्न चाहँदैनन् ।

Admin 2011-08-21