शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''व्यवसाय सुरक्षणको'' - भरत बस्नेत
प्रमुख कार्यकारी अधिकृत
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

मुलुकमा बीमाको बढ्दो आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले झण्डै साढे दुई दशकअघि स्थापना भएको नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई नयाँ नाम र रूप दिएर अघि बढाएका छन् उनले । नाम परिवर्तन र प्रगतिको सबै श्रेय सञ्चालक समिति र शेयरधनीलाई दिन्छन् उनी आफूलाई मात्र माध्यमका रूपमा प्रस्तुत गरेर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीसँग त्यसको स्थापनाकालदेखि नै संलग्न हुँदै आएका उनले ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य निर्धारण गरेका छन् । स्तरयुक्त मूल्य र सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई नै उनले उद्देश्य बनाएका छन् । कम्पनीको प्रतिष्ठासँगै आफ्नो गरिमा गाँसिएको बताउँछन् त्यसका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत । संस्थाका अगाडि व्यक्ति गौण हुने उनको मान्यता छ । संस्थागत विकास र सामूहिक कार्यप्रणाली लक्ष्य भेदनमा सार्थक साबित हुने उनको बुझाइ छ ।

व्यावसायिकता, पारदर्शिता, विश्वसनीयता र इमानदारी बस्नेतका व्यवस्थापन मन्त्र हुन् । तर, ती गुणलाई उनी आफ्नाभन्दा पनि कम्पनी सञ्चालनका आधारभूत निर्देशक सिद्धान्त मान्छन्, जसको अक्षरश: पालना उनको जिम्मेवारी हो । समूहगत काममा विश्वास गर्ने उनी कम्पनीले निर्धारण गरेका उद्देश्य, लक्ष्य र आदर्शको परिपालनमा कसैले उदासीन हुन नहुने धारणा व्यक्त गर्छन् । सबैका निम्ति आर्थिक स्वतन्त्रता सुनिश्चित गर्ने कम्पनीको लक्ष्य हासिल गर्नका निमित्त हरपल लागिरहन्छन् उनी । एउटा परिवारलाई आवश्यक पर्ने सबै किसिमका सुरक्षा प्रदान गर्न सक्ने आर्थिक समाधान उपलब्ध गराउन कृतसङ्कल्प छ उनले नेतृत्व गरेको कम्पनी । भन्छन्- उत्कृष्ट प्रविधिमा आधारित सबै ग्राहकलाई सुहाउने पारदर्शी फाइदा भएका  विश्वस्तरीय बीमा योजना प्रचलनमा ल्याउनु हाम्रो कम्पनीको व्यावसायिक दर्शन हो ।

छब्बीस करोड चुक्तापूँजी रहेको नेशनल लाइफमा स्वदेशी संस्थापक र विदेशी 'कोलाबोटर' को लगानी क्रमश: ४५ र १० प्रतिशत छ । त्यसैगरी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको १० र सवसाधारणको ३५ प्रतिशत शेयर छ । झण्डै अढाइ हजार शेयरधनी रहेको नेशनल लाइफमा २ सय २२ जनाले रोजगारी पाएका छन् । यसका एजेण्ट १२ हजार ३ सय ९१ र 'पोलेसी' लिनेको सङ्ख्या १ लाख ५० हजार ८ सय ३२ पुगेको बताउँछन् बस्नेत । उनको अगुवाइमा आजदेखि 'भविष्य वृत्तिबीमा योजना' शुरू हुँदै छ । अवकाशपछिको जीवन पूर्ण स्वाभिमानका साथ जिउन चाहनेहरूका लागि योजना हरहिसाबले फलदायी हुने ठोकुवा गर्छन् उनी । हुन त त्यसका लागि उनले विविध आकर्षक योजना पनि अघि सारेका छन् । वास्तविक जीवन शुरू हुन्छ अवकाशपछि भन्छन् उनी । पूर्ण सुरक्षा र निश्चिन्तताका लागि नेशनल लाइफलाई आफ्नो भविष्यको साथी बनाउन लगानीका लागि आह्वान गर्न उनी चुक्दैनन् ।

बस्नेत पेशाले चार्टर्ड एकाउण्टेण्ट हुन् । २०१४ सालमा माझकिराँत भोजपुरमा जन्मेका उनी आफ्ना  पिताको प्रेरणाले सीए भएको बताउँछन् । कार्ययोजना तयार गरेर काम गर्ने उनको बानी छ । काममा सधैं गम्भीर एवम् समर्पित उनी मातहतका कर्मचारीलाई पनि कामलाई नै अधिक प्राथमिकता दिन प्रेरित गर्छन् । उनको कम्पनीले कर्मचारीको मूल्याङ्कनको परिपाटी बसाएको छ । उत्कृष्ट कार्य गर्नेहरूलाई  मौद्रिक तथा गैरमौद्रिक पुरस्कार दिएर उनी उत्प्रेरणाक गर्छन् । आफूलाई अद्यावधिक नगर्ने र क्षमताअनुसारको काम नगर्नेसँग व्यवहार गर्न उनलाई पटक्कै मन लाग्दैन । अर्थतन्त्र अस्थिर भएको बेला जीवनबीमाको बजार बढेको बुझाइ छ उनको । देशका नौओटा जीवनबीमा कम्पनीले राम्रै व्यापार गरेको बताउने उनी बजारमा अस्वस्थ प्रतिस्पर्धा रहेको मान्दैनन् ।

देशका ७० भन्दा बढी जिल्लामा सञ्जाल भएको नेशनल लाइफले बालबालिकाका लागि जीवन बीमालेख, विवाह सावधिक जीवन बीमालेख, बालअमृत सावधिक बीमालेख, मनीब्याक बीमाअभिलेख, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख, सरलअमृत बीमा योजना, आजीवन बीमा योजना, अवकाश बीमा योजना, सामूहिक बीमा योजनालगायत विविध सेवा प्रदान गरिरहेको सगर्व उद्घोष गर्छन् बस्नेत । बीमा बजारमा नेशनल लाइफलाई 'सेफ्टी मार्केट लिडर' का रूपमा स्थापना गराउन लागिपरेका उनी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको क्षणलाई उपलब्धि पूर्ण मान्छन् । गर्व गर्नलायक खासै कार्य गर्न नसकेको संस्थालाई सामूहिक प्रयासमा आजको अवस्थामा पुर्‍याएकोमा सन्तुष्ट छन् उनी । आफूले आफैलाई मूल्याङ्कन नगर्ने उनको बानी छ ।

Admin 2011-03-18