शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''उज्यालोमा  लगानी'' - प्रचारमानसिंह प्रधान
अध्यक्ष, ज्योति विकास बैङ्क

उनले ऊर्जा उत्पादनको क्षेत्रमा काम गरेको दशकौं नाघिसक्यो । नेपाल विद्युत् प्राधिकरणमा ३३ वर्ष बिताएका उनी पेशाले प्राविधिक हुन् । अर्को साता ६५औं जन्मदिन मनाउने तरखर गरिरहेका उनी मुलुकको पूर्वाधार विकासका लागि अविराम लागिरहेका छन् । ज्योति विकास बैङ्कका अध्यक्ष प्रचारमानसिंह प्रधान देशविकासका पूर्वाधार खडा गर्न समान विचार भएका प्राविधिकलाई लिएर पूँजीको खोजी गरिरहेका छन् । उनकै अग्रसरतामा उनका साथीहरू बैङ्कमा लगानी गर्न राजी भएका हुन् । सम्भवतः उनले नेतृत्व गरेको  बैङ्क प्रारम्भिक सर्वाधिक शेयरधनी भएको एकमात्र संस्था हो । १ हजार ६ सय जना प्रारम्भिक प्रवर्द्धक र ६६ हजार २ सय सर्वसाधारणको शेयर छ ज्योति विकास बैङ्कमा ।

साढे २ वर्ष भयो प्रधानले बैङ्कको अध्यक्षता गरेको । जलविद्युत् विकास तथा उत्पादनका लागि पूँजी जुटाउने कार्यलाई उनको बैङ्कले उच्च प्राथमिकता दिएको छ । यसका लागि पूँजी जुटाउने कार्य चुनौतीपूर्ण भएको उनको अनुभव छ । पूँजीगत तह बढाउन पनि उनी अन्य वित्तीय संस्थासँग विलयको खोजीमा छन् । आगामी २ वर्षभित्र बैङ्कलाई वाणिज्य बैङ्कमा रूपान्तरण गर्ने उनको लक्ष्य छ । उनले नेतृत्व गरेको बैङ्कले जिरीखोला साना जलविद्युत् आयोजनामा २२ करोड रुपैयाँ लगानी गरेको छ । २ वर्षमा बिजुली बाल्ने गरी तदारुकताका साथ काम अघि बढाइएको छ २ दशमलव ४ मेगावाट क्षमताको उक्त परियोजनालाई । साथमा लगानी गरेको छ प्रिमियर फाइनान्सले पनि ।

काठमाडौंको मरुहिटीका रैथाने प्रधानले मस्को इञ्जिनीयरिङ इन्षिटच्युटबाट हाइड्रोलिक स्ट्रक्चर र हाइड्रोपावर इञ्जिनीयरिङमा स्नातकोत्तर गरेका छन् । पुवाखोला, मोदीखोला, माथिल्लो भोटेकोशी, माथिल्लो मादी, मध्यमर्स्याङदी, चिलिमे, कुलेखानी तेस्रो र चमेलिया जलविद्युत् आयोजनामा उनको योगदान अतुलनीय छ । प्रचुरमात्रामा स्रोत भएको मुलुकमा सधैँ अँध्यारोमा बस्नुपर्ने बाध्यतालाई उनी विडम्बनापूर्ण मान्छन् । राजनीतिक अस्थिरताका कारण ऊर्जा विकासको क्षेत्रमा विदेशी लगानी भित्र्याउन नसकिएको उनको ठम्याइ छ । निजीक्षेत्रको एक्लो प्रयासमा बृहत् आयोजनाहरू सम्पन्न नहुने उनलाई लाग्छ । बिजुली उत्पादनका नाममा खोला ओगट्ने प्रवृत्तिको विरोध गर्छन् उनी । त्यसमा सरकार पनि उत्तिकै दोषी भएको उनको बुझाइ छ । नवीकरणीय ऊर्जा र विकासका संरचना निर्माणलाई सरकारले बेवास्ता गरेको उनको ठहर छ । सरकारबाट तिरस्कृत तिनै परियोजनालाई साकार पार्न तल्लीन छन् उनी र उनको बैङ्क ।

चालू आर्थिक वर्षभित्र चारओटा शाखा विस्तारको योजनासहित काम गरिरहेका छन् प्रधान । १ सय ४७ कर्मचारी काम गर्छन् ज्योति विकास बैङ्कमा । समयमा पदोन्नति एवम् तालीम दिएर उनीहरूलाई कामप्रति अभिप्रेरित गरिरहन्छन् उनी । संस्थागत ढाँचामा उनको कार्यालयमा काम हुन्छ । समूहगत रूपमा काम गर्ने उनको बानी छ । अभिमानीहरूसँग काम गर्न उनलाई पटक्कै मन लाग्दैन । बैङ्कका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल कुनै पनि व्यवस्थापकीय काममा अध्यक्ष प्रधानको हस्तक्षेप नहुने बताउँछन् । उनको यो कार्यशैली खनाललाई सकारात्मक लाग्छ । प्रतिकूल अवस्थामा पनि सल्लाह दिने र सघाउने प्रधानको बानीबाट प्रभावित भएको बताउँछन् खनाल । बैङ्कबाट प्रतिभा पलायन हुन नदिन हरसम्भव उपाय अवलम्बन गर्दै आएका छन् प्रधानले । व्यक्तिगत स्वार्थ गौण हुन्छ भन्ने उनी संस्थागत विकास एवम् प्रणालीमा विश्वास गर्छन् । बैङ्कले चालू आर्थिक वर्षको ६ महीनामा २ अर्ब २३ करोड निक्षेप सङ्कलन र २ अर्ब ३६ करोड ऋण प्रवाह गरेको छ । बैङ्कले उक्त अवधिमा ३ करोड २० लाख नाफा आर्जन गरेको छ । आगामी वर्षशेयरधनीहरूलाई १० प्रतिशत लाभांश दिने सोचमा रहेको उनी बताउँछन् ।

प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिकबारे नेपाल राष्ट्र बैङ्कले जारी गरेको परिपत्रप्रति सहमत छैनन् प्रधान । योग्य मान्छेले पाउनुपर्ने उनको तर्क छ । मुलुकमा संस्थागत संस्कारको विकास नभएको उनको विश्लेषण छ । ईश्वरीय शक्तिमा विश्वास गर्ने उनी भ्याएको बेला पूजापाठ गर्छन् । शारीरिक रूपमा अशक्तलाई सकेको सहयोग गर्दा उनलाई अपरिमेय आनन्द प्राप्ति हुन्छ ।

Admin 2011-02-16