शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''ध्येय आर्थिक राजनीतिको'' - शङ्कर श्रेष्ठ
अध्यक्ष, बुटवल उद्योग वाणिज्य सङ्घ

मध्यमवर्गीय व्यापारीका छोरा उनले पारिवारिक व्यापारलाई विविधीकरण मात्र गरेनन् बढाए पनि । कपडा, किराना, भाँडा, मदिरा र कोकाकोलाको 'एजेन्सी' लिएर गरिएको व्यवसायमा मात्र सीमित रहन उनलाई मन लागेन । ग्याससँगै 'ट्रेडिङ'को कारोबारलाई अघि बढाएका बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर श्रेष्ठलाई हेटौंडामा बनेको 'टुथपेष्ट' किन्न सीमापारि पुग्ने नेपाली मानसिकताबाट दिक्क लाग्छ । सीमाक्षेत्रका बासिन्दा मात्र होइन, पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत स्थानबाट किनमेल गर्न भारतीय बजारमा लर्को लाग्ने गरेको देख्दा दु:ख लाग्छ उनलाई । सङ्घको अध्यक्ष भएकाले त्यस्तो व्यापार निरुत्साहित गर्न अभियान नै सञ्चालन गरेका छन् उनले । सरकारसँग उनको एउटै माग छ- भारतीय बजारमा किनमेल गर्नेसँग नियमानुसार भन्सार शुल्क लिइयोस् । 'चुनौतीको चुचुरो छ देशमा' सर्वत्र लथालिङ्ग भएकाले उद्योग-व्यापारको क्षेत्र पनि त्यसबाट अछुतो नरहेकोमा उनी दुखेसो गर्छन् श्रेष्ठ ।
 
२०१९ सालमा बुटवलमा जन्मेका शङ्करको बाल्यकाल भने काठमाडौंमा बित्यो । शङ्करदेव क्याम्पसबाट वाणिज्यशास्त्रमा स्नातक उनले व्यावसायिक एवम् पारिवारिक कारणले पढाइलाई थप निरन्तरता दिन सकेनन् । इमानदारी उनको व्यवस्थापन मन्त्र मात्र होइन, सफलता सूत्र पनि हो  । उनी आफूले गरेको कामप्रति सन्तुष्ट छन् तर आफ्नो मूल्याङ्कन अरूले गर्नुपर्ने अभिव्यक्ति दिन्छन् । अहिलेको असहज परिस्थितिमा पनि उद्योगधन्दालाई निरन्तरता दिन सक्ने सबै उद्यमीलाई सफल भन्नुपर्ने उनलाई लाग्छ । बुटवललाई मध्यमवर्गीय व्यापारीहरूको उद्गमस्थल मान्छन् उनी । र, त्यसलाई देशको आर्थिक राजधानीमा रूपान्तरण गर्ने महत्त्वाकाङ्क्षी योजनामा काम गरिरहेका छन् । १० वर्षभयो उनले औद्योगिक क्षेत्र विस्तारको पैरवी गरेको तर सम्बन्धित निकायले बेवास्ता गर्दा 'बहुजन हिताय' को त्यो सपना साकार हुन सकेको छैन । तिनाउ नदीबाट उकास भएको १५ हजार बिगाहामा औद्योगिक 'करिडोर' निर्माण तथा बुटवल-सुनौली मार्गलाई चार 'लेन'को बनाउने कार्यलाई अघि बढाउन सम्बन्धित निकायलाई घचघच्याइरहेका छन् उनी ।

'पिताले पृष्ठभूमि तयार पारिदिएकाले खासै संघर्ष गर्नुपरेन' बाबुले बनाएको व्यापारको जगलाई बढाउनेबाहेक कठोर काम गर्नु नपरेको सुनाउँछन् शङ्कर । सम्भावनाको खानी भन्छन् उनी बुटवललाई । १८ जिल्लाका उत्पादन सजिलै ल्याएर भारतका ठूला बजारमा पुर्याउन सकिने वास्तविकतालाई सरकारले बेवास्ता गर्न नहुने उनलाई लाग्छ । सरकारी तहमा 'प्लाण्ट क्वारेण्टाइन' समस्या समाधान गरिदिए पर्याप्त कृषि उपज र फलफूल भारतमा बेच्न सकिने उनी बताउँछन् । स्वर्गद्वारी, जोमसोम र लुम्बिनीको प्रचारप्रसारबाट धार्मिक पर्यटन फस्टाउने उनको ठम्याइ छ । कृषि र शिक्षाको केन्द्रका रूपमा विकसित हुने प्रशस्त सम्भावना बोकेको बुटवललाई बेवास्ता गर्दा आर्थिक उन्नयन नहुने उनको बुझाइ छ ।

समयसारिणी बनाएर काम गर्ने बानी छ, शङ्करको । मातहतका कर्मचारीलाई परिवारको सदस्य मान्छन् उनी । र, उनीहरूलाई स्वामित्वबोधसहितको जिम्मेवारी पनि दिएका छन् । व्यक्तिगत स्वार्थलाई गौण मानेर संस्थाको बृहत्तर हितमा लाग्न उनी कर्मचारीलाई प्रेरित गरिरहन्छन् । राष्ट्रिय भावना नभएका र अवसरवादीसँग व्यवहार गर्न उनलाई मन लाग्दैन । यद्यपि जालझेल गर्नेहरूको पनि परख गर्छन् उनी ।

धर्ममा विश्वास गर्छन् शङ्कर । दैनिक जप नगरी उनी भोजन गर्दैनन् । धर्मसंस्कृतिको संरक्षण गर्नु नागरिक दायित्व हो भन्ने उनलाई लाग्छ । धर्मले गलत बाटोमा हिँड्न नदिने उनको बुझाइ छ । ठूलो दानी मान्दैनन् उनी आफूलाई । आफ्नो आर्थिक हैसियतअनुसार रचनात्मक काममा उनले सघाउने गरेका छन् । मुलुकमा संस्थागत संस्कारको विकास भइनसकेको उनको विश्लेषण छ । स्वार्थले प्रेरित भएर सीएसआर हुने गरेको उनी टिप्पणी गर्छन् । सीएसआर राजनीतिक प्रभावबाट मुक्त नभएको उनी उल्लेख गर्छन् । प्रत्येक नागरिकले अधिकार खोज्नुभन्दा देशप्रतिको आफ्नो दायित्व बिसन नहुनेमा उनको जोड छ ।

Admin 2011-05-18