शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

''पेशा व्यवसाय वृद्धिको'' - श्रमनेन्द्रभक्त श्रेष्ठ
कार्यकारी निर्देशक,बिजनेस एडभान्टेज

'अर्काको चियोचर्चा गर्नुको सट्टा पाखुरी बजारेर आत्मनिर्भर हुनसके बेरोजगारीको अन्त्यमात्र होइन आर्थिक उन्नयनको दिशमा अघि बढ्न बेर लाग्दैन' कामबाहेक केही नसोच्ने उनी सबैलाई व्यस्त रहने सुझाव दिँदै भन्छन् । बाइस वर्षको अल्लारे उमेरमा विज्ञापनको व्यवसायमा हात हालेका उनले शुरुका दिनमा गरेको संघर्ष नयाँ पुस्ताका निम्ति प्रेरक हुनसक्छ । बार्‍ह वर्षअघि रू.१५ हजारबाट थालिएको उनको एजेन्सीले अहिले वार्षिकरूपमा  रू. ७ करोड बराबरको व्यवसाय गर्दै आएको छ । यो उपलब्धिलाई चानचुन मान्न तयार छैनन् बिजनेस एडभाण्टेजका कार्यकारी निर्देशक श्रमनेन्द्रभक्त श्रेष्ठ । जस्तोसुकै चुनौती सहज स्वीकार गर्ने र लगनशील भएर काम गर्ने बानीले उनी सफल भएका हुन् । अधिकांश कमाइलाई उनले व्यवसायमा नै लगाएका छन् - थरिथरिका उपकरण खरिद गरेर । लगानीको प्रतिफल प्राप्त हुनेमा उनी पूर्ण विश्वस्त छन् र पुनः लगानी गरिरहनुपर्नेमा जोड दिन्छन् । 'वर्क इज वर्सिप' अर्थात् कामलाई नै आराधना मान्ने उनी दैनिक १२ घण्टा भन्दाबढी काममा नै व्यस्त हुन्छन् ।

बुद्ध एयरमा एक वर्षकाम गरेका श्रेष्ठले त्यहाँबाट पाएको पछिल्लो महिनाको तलबले बिजनेस एडभाण्टेज स्थापना गरेका हुन् । प्रारम्भिक दिनमा कार्यालयमा नै 'स्लिपिङ ब्याग' राखेर एकोहोरो काममा लागेको उल्लेख गर्ने उनी 'गरे के हुँदैन ?' भन्छन् । व्यापारिक समुदायको सदस्य नभएकाले अनुभवविहीन उनलाई शुरुका दुईबर्षअति कठिन लागे तर हिम्मतका साथ अघि बढेकाले पछाडि फर्केर हेर्नु नपरेको उनको अनुभूति छ । पत्रकार कृष्णभक्त श्रेष्ठ र राष्ट्रिय योजना आयोगका भूतपूर्वसदस्य पुष्पा श्रेष्ठका एकमात्र पुत्र उनले व्यवसाय सञ्चालनका लागि कसैसँग हात पसार्नु परेन । आफ्नै बाहुबलको भरमा आजको अवस्थामा पुगकोमा उनी गर्व गर्छन् ।
    
दिल्ली विश्वविद्यालयबाट स्नातक अनि काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासनमा  स्नातकोत्तर गरेका श्रेष्ठलाई बुद्ध एयरको जागिरे हुनुभन्दा आफ्नै स्वतन्त्र व्यवसाय गर्न श्रेयस्कर लाग्यो । आत्मनिर्णयको अधिकार एवम् स्वतन्त्रताको उपयोग गर्दै श्रीगणेश गरेको 'सिर्जनात्मक व्यवसाय' ले गति त्यो दिन लियो जुन दिन 'मायोज र नेकोन एयर' व्यापारिक प्रस्ताव लिएर उनको कार्यालयको ढोका ढकढक्याउन पुगे । नाम चलेका ती दुइ कम्पनीको साथ पाएको दिनलाई उनी आफनो जीवनको बिर्सन नसकिने क्षण भन्न हिच्किचाउँदैनन् । आफ्नो रुचिको विषयमा आत्मविश्वासका साथ काम गर्दा  ढिलोचाँडो सफलता प्राप्त हुने उनको बुझाइ छ ।

सधै मेहनत गर्ने र आत्मनिर्भर हुनुपर्नेमा जोड दिने श्रेष्ठ आफू मातहतका कामदारलाई निर्णयले स्वतन्त्रता र जिम्मेवारी बराबरी दिन्छन् । व्यावसायिक दक्षता र केही गर्छु भन्ने भावना भएकालाई ढाडस दिनु उनको विशेषता हो । कर्मचारीलाई दबाएर होइन स्वतन्त्रता दिँदा लक्षित परिणाम प्राप्त हुने उनी बताउँछन् । आपसी विश्वासको वातावरण अपरिहार्य देख्ने उनी शीप, जाँगर र कामप्रति समर्पित व्यक्तिलाई पर्याप्त अवसर दिनुपर्ने विचार राख्छन् ।

संस्थागत संस्कृतिको विकासले गति लिएको बताउने श्रेष्ठ बैङ्क तथा वित्तीय संस्थाको विस्तारसँगै त्यसको दायरा बढेको उल्लेख गर्छन् । संस्थागत सामाजिक उत्तरदायित्वका  निम्ति व्यावसायिक एवम् औद्योगिक प्रतिष्ठानहरूसँग परामर्श गरिरहेका उनले व्यक्तिगत रुपमा दुई जना विपन्न परिवारका बालबालिकालाई प्रवेशिकासम्म पढाउने जिम्मेवारी लिएका छन् । 'फोटोग्राफी'का शोखिन उनले लाख रुपैयाँ भन्दा बढी खर्चेर क्यामरा र लेन्स खरिद गरेका छन् । फुर्सदको समयमा गल्फ खेल्ने उनी वैवाहिक समारोहमा सहभागी हुँदामात्र टाइ लगाउँछन् । साताको एकदिन उनीमात्र होइन उनको कार्यालयका सबै 'जिन्स' मा ठाटिने गर्छन् । तथ्यमा आधारित पुस्तक र महान् व्यक्तिका जीवनका सफलताका कथा पढ्न रुचाउने उनी विज्ञापनको बजारमा आएका परिवर्तन  एवम् प्रवृत्तिलाई बुझ्न अन्तरराष्ट्रिय पत्रपत्रिका पढ्नुका साथै नियमितरूपमा विज्ञापनसम्बन्धी  वेबसाइट हेर्ने गर्छन् ।