''अविराम जिम्मेवारी'' - तीर्थमान शाक्य
अध्यक्ष,
नेपाल बङ्गलादेश बैङ्क
आफ्नो नेतृत्वको बैङ्कको अहिलेको करीब १५ प्रतिशतको निष्क्रिय कर्जालाई ५ प्रतिशतमा झार्न उनी अहोरात्र खटिरहेका छन् । ऋण असुली, लिलाम विक्री, ऋण पुनः संरचना र ऋणीलाई सहुलियतलगायत सुविधा दिएर बैङ्कलाई गर्व गर्नलायक पुरानै अवस्थामा पुर्याउन उनको सक्रियता बढेको छ । नेपाल बङ्गलादेश बैङ्क (एनबी)का अध्यक्ष तीर्थमान शाक्यले पदीय जिम्मेवारी सम्हालेको एक वर्षको अविधमा एनबीले सकारात्मक गति लिएको उनको दाबी छ । सहयोगी साथीहरूको साथ पाएपछि निष्क्रिय कर्जाको दायरालाई अझ कम पार्ने लक्ष्य प्राप्त हुनेमा उनी ढुक्क छन् । एनबीको पहिलो कर्मचारी बैठकमा नै उनले 'जीवनमा आफूले सधैँ सफलता पाएकाले’ एनपीए घटाउने आफ्नो एकमात्र लक्ष्य र उद्देश्यलाई पूरा गर्ने कार्यलाई सामूहिक दायित्व सम्झेर काम गर्न अनुरोध गरेका थिए । आपसी सहकार्य र सहयोगबाट सफलताको सिँढी सजिलै चढ्न सकिने उनको सफलताको स्थायी सूत्र हो । नेपाल इन्भेष्टमेण्ट बैङ्कको अध्यक्ष, कानून सुधार आयोग र कानून तथा न्याय मन्त्रालयको सचिव हुँदै हरेक प्रशासकको सपनाको पद मुख्यसचिवसमेत हुने सौभाग्य पाएका उनले लोक सेवा आयोगलाई पनि एक कार्यकाल नेतृत्व प्रदान गरिसकेका छन् ।
आर्थिक विकासका निम्ति पूँजीमात्र होइन, पानीबत्तीजस्ता भौतिक पूर्वाधारका साथै शान्तिसुरक्षा र राजनीतिक स्थायित्व अपरिहार्य ठान्ने शाक्य नेपाललाई विश्वको सर्वोत्कृष्ट मुलुक मान्छन् । 'खाडी मुलुकको जस्तो ४५ डिग्रीभन्दा माथि र यूरोप अमेरिकाको जस्तो माइनस १० डिग्री तापक्रम कहिल्यै नहुने हाम्रो देशको बसोबासको मुख्य भूभाग वास्तवमा भूर्स्वर्ग हो' झण्डै ४ दशक लामो सरकारी सेवाका क्रममा विश्वका अधिकांश मुलुक घुमेका उनी भन्छन्- 'न त फिलिपिन्सजस्ता तटीय मुलुकमा झैं समुद्री आँधीको खतरा छ ।' भौतिक पूर्वाधार र लगानीको पूर्ण प्रत्याभूति भएमा देशले आर्थिक विकासमा फड्को मार्न बेर नलाग्ने उनको बुझाइ छ । उनको विचारमा जलस्रोतको समुचित उपयोग र विद्युत् उत्पादन नै आर्थिक समृद्धिको वाहक हो । विद्युत् परियोजनाबाट नै रोजगारीका प्रशस्त अवसर सिर्जना हुने उनलाई लाग्छ । 'जेनेरेटर र त्यसका लागि आवश्यक पर्ने इन्धन किनेर उद्योग सञ्चालन गर्न सकिने अवस्था छैन' श्रमिक, पूँजी र प्रतिभाको बढ्दो पलायनले उनी चिन्तित छन् । अनुकूल वातावरण हुनेबित्तिकै आर्थिक गतिविधि बढ्नेमा विश्वस्त उनी बन्दहडताल नहुँदा अहिले पोखरा र चितवनमा लागेको पर्यटकको ताँतीलाई दृष्टान्तका रूपमा प्रस्तुत गर्छन् ।
'शान्ति सुव्यवस्था भए विदेशी लगानी भित्रन्छ, उद्योग स्थापनासँगै रोजगारीका अवसर बढ्छन् जसले अन्ततः मुलुकको कुल गार्हस्थ्य उत्पादनमा वृद्धि गर्छ' ओरोलो लाग्ने क्रम नरोकिएको अहिलेको आर्थिक सूचकाङ्कतर्फ सङ्केत गर्दै शाक्य अशान्तिले तहसनहस पारेको अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्छन् । सन्दुकको रकम बैङ्कसम्म आउन थालेपछि बैङ्क तथा वित्तीय संस्था बढेकाले वाणिज्य र विकास बैङ्कको बाढी आएको उनको बुझाइ छ । वित्तीय संस्था र झण्डै २० हजार सहकारीको सञ्जाल देशभर विस्तार हुनुलाई उनी सकारात्मक ठान्छन् । १० जना डाक्टरले बेग्लाबेग्लै क्लिनिक सञ्चालन गर्नुभन्दा एकै स्थानबाट सेवा दिँदा रकम बचतका साथै प्रभावकारिता वृद्धि हुन्छ भन्ने उनी देशभरका चाउचाउ उद्योगलाई पनि एकै कम्पनीअर्न्तर्गत 'शाकहारी र मांसहारी' चाउचाउ उत्पादनको सल्लाह दिन्छन् । इञ्जिनीयरले कन्सल्टयन्सी, कानूनव्यवसायीले फर्मजस्ता पेशैपिच्छे एकल कार्य गर्ने प्रवृत्ति उनलाई पटक्कै मन पर्दैन ।
छैसट्ठीऔं वसन्तमा हिँडिरहेका शाक्य पाटन मङ्गलबजारका रैथाने हुन् । सुनचाँदी व्यवसायी परिवारका उनी मात्र निजामती सेवामा लागेका हुन् । 'सात पुस्तासम्म हाम्रो परिवारका कसैले सरकारी जागीर खाएनन्' २०२८ सालमा शाखा अधिकृतबाट निजामती सेवाप्रवेशको क्षण वर्णन गर्छन् उनी । कसैको प्रेरणाविना उक्त सेवामा लागेको बताउने उनी कानून सचिवबाट निवृत्त हुने दिन मुख्य सचिवमा नियुक्ति पाउनुलाई जीवनको महत्त्वपूर्ण उपलब्धि मान्छन् । सरकारी सेवामा रहँदा विनादबाब कार्यसम्पादन गर्न पाउनु उनको जीवनको अविस्मरणीय क्षण हो । पारदर्शिता र मैत्रीपूर्ण व्यवहार उनको व्यवस्थापन मन्त्र हो । सबैलाई सकारात्मक सोचाइका साथ काम गर्न र प्रगतिको सराहना गर्न उनी अभिप्रेरित गर्छन् । आवश्यकतानुसार दण्ड र पारितोषिक नीति पनि कहिलेकाहीँ उपयोग गर्नुपर्ने उनको मत छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक 'बढीमा यति र घटीमा यति भनेर तोकिदिनु' उनलाई तर्कपूर्ण लाग्छ । अगाडि एउटा र पछाडि अर्को कुरा गर्ने मान्छे उनको आँखाका कसिङ्गर हुन् ।
आफूलाई थाहा नभएको कुरा हाकाहाकी जान्दिन भन्ने र एकजना नेपालीले गरेको राम्रो कामको प्रशंसा गर्न अर्को नेपालीले कञ्जुस्याइँ गर्न नहुनेमा जोड दिने शाक्य सञ्चारकर्मीहरूलाई संयमित एवम् संवेदनशील भएर काम गर्न सुझाव दिन्छन् । दुइ छोरा र दुइ छोरीका पिता उनलाई फुटबल क्लबलाई रकम दिने संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्व (सीएआर)निर्वाह गरेजस्तो लाग्दैन । यद्यपि उनी फुटबलप्रेमीलाई निराश बनाउन चाहँदैनन् । गरीब मुलुक भएकाले पिछडिएका समुदायको उत्थानमा गरिने खर्च 'सीएसआर' को अनुपम उदाहरण हुने उनको विश्लेषण छ ।