शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

मातृआज्ञा पूर्णपालना
प्राडा गणेशमान गुरुङ
अध्यक्ष, विश्वविद्यालय अनुदान आयोग तथा
अध्यक्ष, शहीद मेमोरियल अस्पताल


तिनताक पोखराआसपासका गुरुङबस्तीका प्राय: सबै किशोरको सपना हुनेगर्थ्यो- लाहुरे बन्ने । सके बेलायती नभए भारतीय सेनामै भए पनि भर्ती भएर 'लाहुरे' कहलाउनुमा उनीहरू गर्व गर्थे । त्यसैले त गुरुङहरूको बाहुल्य रहेका त्यस्ता बस्तीहरूमा भर्ती लिनकै लागि बेलाबेलामा गल्ला (भर्ती एजेण्टहरू) नियुक्त गरिन्थे । छनोट क्याम्प लाग्थ्यो । तिनै क्याम्पबाट छानिएर गुरुङ ठिटाहरू लाहुरे बन्ने आफ्नो सपना पूरा गर्थे । यस्तो सामाजिक परिवेशले स्याङ्जा सिरुबारीका गणेशमान गुरुङलाई पनि अछुतो राख्न सकेन । उनले पनि किशोर वयसन्धिमा बेलायती सैनिक हुने सपना पाल्न थाले ।

गाउँमा एक दिन 'गल्ला' आयो । त्यसको नेतृत्व गरेका थिए- ब्रिटिश कर्णोल, ल्याङफ्याङले । गणेशमानले सुटुक्क आफूलाई ल्याङफ्याङसमक्ष प्रस्तुत गरे । सामान्य शारीरिक नाप जाँच लिइसकेपछि ल्याङफ्याङले उनलाई भर्तीका लागि योग्य ठहर्याउँदै प्रवेशपत्र थमाए । आफ्नो सपना पूरा हुन लागेकोमा खुशी हुँदै गणेशमानले प्रवेशपत्र लगेर आफ्नी आमा बालकुमारीलाई देखाए । आमाले प्रवेशपत्र हेरेपछि भनिन्, 'तैँले विदेशमा गएर अर्काको काम होइन, धेरै पढेर आफ्नै देशमा केही गर्नुपर्छ, बुझिस् ?' त्यसपछि उनले प्रवेशपत्र ध्वार च्यातिदिइन् । गणेशमानको सपनाका त्यो अंश पनि प्रवेशपत्रसँगै च्यातियो ।

त्यसपछि फेरि उनले कहिल्यै यस्तो सपना देखेनन् । उनी खुरुखुरु पढ्न थाले । सिरुबारीकै संस्कृत पाठशालाबाट आफ्नो माध्यमिक शिक्षा पूरा गरे । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र सङ्कायबाट अध्ययन अगाडि बढाउन थाले । पढाइका क्रममै उनले फेरि अर्को सपना देखे- भविष्यमा नामको अगाडि डाक्टर लेख्ने । एक दिन सँगैको साथीलाई आफ्नो यो इच्छा सुनाए पनि । उनको कुरा सुनेर साथी मरीमरी हाँसे । किनकि, त्यतिबेला उनले स्नातक पनि सकेका थिएनन् । त्यसपछि उनले आफ्नो इच्छालाई अठोटमा बदले  । साथीलाई भने, 'हेर्दै जाऊ, बाँच्यौं भने एक दिन म डाक्टर भएको अवश्य देख्नेछौं ।' त्यसपछि उनले यो सपनालाई तन्मयका साथ पछयाए ।

त्यसपछि उनको शिक्षाको गति कहिल्यै रोकिएन । समाजशास्त्रमा स्नातकोत्तर गरे । बनारस विश्वविद्यालयबाट 'नेपालका चेपाङहरूको यथास्थिति र परिवर्तन' विषयमा विद्यावारिधि पूरा गरे । औपचारिक अध्ययनपछि उनले अध्ययन/अध्यापन र अनुसन्धानमा आफूलाई समर्पित गर्दै गए । उनले २०३३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको शिक्षा क्याम्पस नेपालगञ्जमा अध्यापन प्रारम्भ गरे ।

नेपालगञ्जमै हुँदा उनी शिक्षकहरूलाई तालीम दिन सात दिनको बाटो पैदल हिँडेरै जुम्ला पुगेका थिए । 'त्यहाँको शैक्षिक अवस्था देखेर मलाई उदेक लाग्यो,' उनले त्यतिबेलाको स्मरण गर्दै भने, 'शिक्षक खोज्दै घरघर धाउनुपथ्र्यो, हामीलाई देखेर जुम्लीहरूले ढोका बन्द गर्थे ।' यही अवस्थालाई चित्रण गर्दै उनले समाजशास्त्रीय दृष्टिकोणबाट 'जुम्ली संस्कृति' भन्ने किताब पनि लेखे, जुन त्यतिबेला निकै चर्चित भएको उनले सुनाए ।

डा.गुरुङ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागको प्राध्यापक र विभागीय प्रमुख रहे । ०५८ सालमा खिम्ती जलविद्युत् आयोजनाका लागि नर्वेजियनहरूले उनलाई कन्सल्टयाण्टका रूपमा बोलाए । त्यसमा उनलाई १ लाख ७५ हजार रुपैयाँ तलब र विभिन्न सुविधा तोकिएको थियो । तर, त्यही बेला नेपाल सरकारले उनलाई लोकसेवा आयोगको सदस्य नियुक्त गर्ने निर्णयगर्यो । उनले त्यत्रो तलब र सुविधा भएको कन्सल्टयाण्न्टको जागीर त्यागेर लोकसेवा आयोगको सदस्य बन्ने निर्णयलिए । किन त ? प्रश्न खस्न नपाउँदै उनले भने, 'राज्यले दिएको सम्मानको अवमूल्यन गरेर म पैसाको मोहमा फस्न सकिनँ ।' त्यतिबेला आफूले गरेको निर्णये अहिले पनि आफूलाई निकै सन्तुष्टि मिल्ने गरेको उनले सुनाए । मुलुकी प्रशासनलाई निष्पक्ष र समावेशी बनाउन उल्लेख्य योगदान गर्ने लोकसेवा आयोगप्रति उनको निकै श्रद्धा र आस्था छ । कर्मप्रति आस्थावान् गुरुङको पूजापाठ र धर्मकर्ममा भने रुचि छैन ।०६६ यता विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष र शहीद मेमोरियल अस्पतालको अध्यक्ष भएर आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् गुरुङले । समाजशास्त्रीय खोज अनुसन्धान उनको अर्को पाटो हो । त्यसैले अन्य विभिन्न सामाजिक काममा पनि उनको सक्रियता उत्तिकै छ ।

मुलुकमा धनी र गरीबबीचको खाडल बढ्दै गएकोमा उनलाई चिन्ता छ । 'यो खाडल नपुरेसम्म सही अर्थमा मुलुकको विकास सम्भव छैन, उनले भने । उनी गरीब निमुखाहरूप्रति कतिसम्म सदाशयता राख्छन् भने, उनले शहीद मेमोरियलबाट आफूले पाएको पारिश्रमिक त्यहींका तल्लो तहका कर्मचारीलाई बाँडिदिने गरेका छन् ।उनको एउटा स्वप्न योजना छ- जातीय सङ्ग्रहालय निर्माण गर्ने । डा. गुरुङले कीर्तिपुरको चम्पादेवीमा नेपाल जातीय सङ्ग्रहालय निर्माण गर्ने बृहत् योजना पनि बनाएका छन् । त्यसलाई गुरुङ संस्कृतिको नमुना पर्यटकीय स्थल बनाउने उनको चाहना छ । त्यसो त उनले भृकुटीमण्डपमा २० जातिको सानो जातीय सङ्ग्रहालय स्थापना गरिसकेका छन् ।सन् २००० मा उनले अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट पूर्ण छात्रवृत्तिमा पोष्ट डक्टरल पनि गरे । जापान फाउण्डेशन सेण्टरमा केही समय भिजिटिङ प्रोफेसरका रूपमा समेत काम गरिसकेका गुरुङ आफ्नो यो सफलताको सम्पूर्ण श्रेय आमा बालकुमारीले मुलुकको सेवा गर्न दिएको प्रेरणालाई नै दिन्छन् ।

Admin 2011-07-20